रोल्पाको पहिरोमा मृत्यु हुनेको संख्या १० पुग्यो, तीन अझै बेपत्ता
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका-५, उवा कोटलबारामा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १० पुगेको छ भने ३ जना अझै बेपत्ता छन्। बुधबार साँझ पौने ८ बजेतिर गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ।
बिहीबार घटनास्थल पुगेका रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार ५ जनाको शव घटनास्थलमै र अन्य ५ जनाको शव बगाएर करिब ७० किलोमिटर टाढा प्युठानको खोलामा फेला परेको हो। घटनामा मृत्यु भएका १० मध्ये ८ जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ। घटनास्थलमै खटिएका चिकित्सकबाट पोस्टमार्टम गराई ५ वटा शव आफन्तको जिम्मा लगाइएको छ।
पहिरोमा परी गम्भीर घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। सडक अवरुद्ध भएकाले उनीहरूलाई बोकेरै उपचारका लागि लगिएको थियो।
सुरुमा पहाडी खोल्सामा आएको पहिरो थुनिएर लेदो र बाढीसहित आएको अनुमान गरिएको यस विपद्मा ९ घर, १ घुम्ती पसल, २ वटा गोठ र १ चर्च पूर्ण रूपमा पुरिएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएर दिनभर उद्धार कार्य गरेको थियो। पहिरोले बस्ती नै सखाप पारेको र खोजीकार्य जटिल भएकाले बेपत्ता ३ जनाको शुक्रबार पनि खोजी जारी राखिनेछ। एकै गाउँमा भएको यस मानवीय क्षतिले सिंगो रोल्पा शोकमा डुबेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment