मेची बगरमा खरबुजा खेती, किसानलाई मनग्य आय

डिसी नेपाल
२३ वैशाख २०८१ २२:५९

झापा। मेचीनगर-१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन्।

कृषिमा लागिरहेका नेपाल र खनाल मिलेर मेची बगरमा खरबुजा खेती गरेका हुन्। नेपाली बाबु स्मार्ट कृषि फार्म दर्ता गरेर उनीहरुले सुरु गरेको बगर खेतीमा तीन सय ५० मेट्रिक टनभन्दा बढी खरबुजा फलेको छ।

“धमाधम बजारमा पु्याइरहेका छौँ,” खनालले भने, “पहिलो पटक खेती गरेका हौं, राम्रो उत्पादन भयो ।”

चैतको अन्तिम सातादेखि पाक्न थालेको खरबुजा वैशाख र जेठभरिमा बिक्री भइसक्छन्। व्यापारीले फार्ममै आएर खरबुजा किनेर लैजाने गरेका छन्। निजी सवारी लिएर किन्न आउने ग्राहकको बगरमा भीड लाग्ने गरेको छ। यहाँबाट सस्तोमा किनेर लैजाने व्यापारीले बजारमा मूल्य बढाएर बेच्ने गर्छन्।

खरबुजा बेचेर रु ८० लाखदेखि ९० लाखसम्म आम्दानी गर्ने लक्ष्य फार्म सञ्चालक खनालको छ। दैनिक चारदेखि आठ टनसम्म खरबुजा बिक्री भइरहेको उनले जानकारी दिए। उनले भारतबाट सस्तो र कमसल खरबुजा भित्रिएका कारण बजारमा चुनौती थपिएको बताए। खरबुजामा नेपाल आत्मनिर्भर भएको दाबी गर्दै उनले भारतबाट गुणस्तर नजाँची भित्रिने खरबुजालाई भन्सार र क्वारेन्टाइन कार्यालयले कडाइका साथ रोक्नुपर्ने माग गरे।

कनकाई(५ का फुलु मण्डलले कनकाई नदीको बगरमा तीन बिघा जग्गा भाडामा लिएर खरबुजा खेती गरेका छन्। उनले बगरखेतीमा खरबुजा लगाएको १५ वर्ष भइसकेको छ।

“गाडीमा डुलाएर बेच्ने व्यापारीले खरबुजा लैजाने गरेका छन्,” मण्डलले भने, “तीन बिघामा खरबुजा लगाउन रु १२ लाख लगानी गरेको छु ।” खरबुजा बेच्न आफैले उर्लाबारीसम्म गाडी पठाउने गरेको उनले बताए।

फुलुले खरबुजाबाट आम्दानी गरेको देखेर धीरेन मण्डल, दशरथ मण्डल, पाण्डव मण्डल र जनार्दन मण्डललेसमेत कनकाईमा खरबुजाको बगरखेती लगाएका छन्। बलौटे माटोमा राम्रो फल्ने भएकाले बगरखेती खरबुजाका लागि निकै उपयोगी देखिएको छ।

मेचीनगर(९ का डिल्ली उप्रेतीले एक दशकअघि व्यावसायिक खरबुजा खेतीको प्रवद्र्धन गरेका थिए। विर्तामोडको बट्टाबारीमा उनको खरबुजा खेती छ। उनले खेतमा खरबुजा फलाउन सकिन्छ भनेर प्रमाणित गरेपछि धेरैले खरबुजा खेतीमा लगानी बढाएका हुन्।

त्यसअघि भद्रपुरको मेची बगरमा नेपाली र भारतीय किसानले यसको खेती गर्थे। नेपाली बजारमा भारतबाटै आएको खरबुजाको व्यापार हुन्थ्यो। अहिले भारतबाट आयात नगरे पनि स्थानीय खरबुजाले बजारको माग धान्नसक्ने अवस्था भइसकेको व्यावसायिक किसान हरि नेपाल बताउँछन्।

“स्वाद र गुणस्तरका हिसाबले हेर्ने हो भने नेपाली उत्पादन अर्गानिक हुन्छ,” उनले भने, “भारतबाट आउने खरबुजा सस्तो र कमसल हुन्छ ।” किसान नेपालका अनुसार भारतमा सरकारले कृषिका लागि बीउ, मल र सिँचाइमा प्रशस्त अनुदान दिने भएकाले लागत कम परेका कारण सस्तो भएको हो।

बजारमा खरबुजाको प्रति केजी मूल्य रु ४५ देखि ६० सम्म छ । भाटभटेनी र सुपर मार्केटको बिक्री स्टलमा पनि स्थानीय खरबुजा पाइन थालेको छ। मेची बगरमा फलेको खरबुजा काठमाडौँका सुपरमार्केट र पाँचतारे होटलमा पुग्ने गरेको नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक खनालले बताए। झापाका मेची, निन्दा, बिरिङ, रतुवा र मावा खोलाको बगरखेतमा किसानले खरबुजा फलाउने गरेका छन्।
(((




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *