आँखी झ्यालबाट नेपाल हेर्दा

शंकरप्रसाद रिजाल
१ चैत २०७९ १२:१६

मेरो सानो दुई आँखाको आँखी झ्यालबाट नेपाललाई नियाल्दा धेरै अगाडि जान सकिन। किनकि उमेर अनुसार पनि विविध विषयमा आँखी झ्यालबाट हेर्न र बुझ्न सक्नु हरेक मानिसको कर्तव्यको बोधको कुरा हुनेछ।

यसलाई आँखी झ्यालको चस्माबाट हेर्दा राणा शासनको शून्य संसार, पारिवारिक शासन सत्ता, तिनैको हुकुम र ऐस आराममा नेपाल झण्डै १०४ वर्षसम्म गुज्रियो।

२००७ सालमा राणा शासनको अन्त्य पश्चात २०१७ सालसम्म गुज्रेको नेपालको प्रजातन्त्र २०१७ सालदेखि २०२८ सालसम्मको राजा महेन्द्रको पञ्चायती व्यवस्थको समय। २०२८ सालदेखि २०५८ साल सम्मको राजा वीरेन्द्रको शासन नेपाल। २०५८ सालदेखि २०६१ सालसम्मको अबस्था।

२०६२/०६३ देखि २०७९ साल सम्म गुज्रिरहेको नेपालको विभिन्न विधाको दृश्य र परिदृश्यको अनुभव। नेपालको राणाशासन जंगबहादुर राणा, रनोद्विप सिंह राणा, वीरसमशेर, देवसमशेर, चन्द्रसमशेर, भिमसमशेर, जुद्ध समशेर, पद्म समशेर र मोहन समशेर गरि जम्मा नौ जना प्रधानमन्त्री सम्मले राज गरेका थिए।

बिक्रमसम्मत् १९०३ देखि सुरु भएको राना शासन २००७ साल सम्म रह्यो। आँखी झ्यालको पर्दा उघारी हेर्दा त्यस बखत नेपालका राजाहरु एकदमै कमजोर मनस्थितिका थिए। राजनीतिलाई दबाएर आफू आफूमै सत्ता हडप्ने कार्यहरु गर्दथे।

नेपालको राजनीति, अर्थनीति, सामाजिक नीति र धर्म संस्कृति केही पनि बिकसित थिएन। विकास थिएन। जनता आफ्नो हिसाबले जिबिकोपार्जन गरी बस्थे। देशमा उद्योग कारखानाको सट्टामा घर घरमा सानातिना सुकुल बुन्ने, माटाका भाँडा बनाउने, खेतीबाट उब्जनी भएको अनाज सुकाउने, खेतीपाती गर्ने काममानै ब्यस्त थिए।

स्कूल पाठशाला कम थिए। थोरै व्यक्तिहरु लेखपढ़मा हुन्थे। थोरै व्यक्ति राणाले दिएको जागिरमा लागेका हुन्थे। देश बन्द कोठाभित्र राणाहरुको बैठक कोठामा र कोठा कोठामा जमेर बसेको थियो। सारा ऐश आराम र भोग विलास उनीहरुकै हातमा थियो। जनता निरीह थिए।

आफ्नो लागि राणाहरु जे पनि गर्थे। आलिशान महल बनाउँदथे। बागबगैंचा बनाउँथे, मिठो खाने, राम्रो लगाउने, जिउभरी अत्तर छर्ने र अत्यन्त भोगविलास गर्ने उनीहरुको जीवन शैली थियो। सारा कुरा बेलायत, फ्रान्स र इटालीबाट मगाई सजावट गरी बस्थे।

तर जनता भने यस्ता कुराहरुबाट बिमुख थिए। सारा जनताको जीवनस्तरमा कुनै बिकास थिएन। यसरी १९०३ देखि २००४ साल सम्म नेपालको अवस्था हरेक कुरामा शुन्य जस्तै थियो। यस्तो राणाको एकछत्र शासनबाट अल्लादित भइ देशका टाठाबाठा युवकहरु नै १९८५ देखि नै राणा बिरोधी कार्यक्रम गर्न थालेका थिए।

प्रजातन्त्रको लागि मरिमेट्ने गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त र दशरथ चन्द जस्ता वीर सपुतमध्ये कसैलाई झुन्ड्याइयो भने कसैलाई गोली ठोकेर मारियो। किनकि राणा शासन जर्जर स्वभाबको थियो।

आफू खुसी राज्य गरी देश चलाउँदथे। फाटफुट जनतालाई गरे जस्तोमात्र गरी कहिले दरवार स्कूल त कहिले वीर अस्पताल निर्माण गरी जनतालाई शिक्षा र चेतनामुलक कार्यबाट सधैं बिमुख गराउने हुँदा सम्पूर्ण १०४ बर्ष नेपालको लागि फास्स फुस्समै बित्न गयो।

कुनै ठूलो काम हुन सकेन। खाली राणाहरु बस्ने दरबार र उनीहरुले पढ्ने बिद्यालय र कलेजमात्र खोलेका थिए। यसैको फलस्वरूप त नेपालले राम्रो विकासको फल आजसम्म भोग्न पाएन। तत्पश्चात २००७ सालमा देशका राष्ट्रप्रेमी जनताहरु र राजा त्रिभुवनसहित मिलेर भारतको सहयोगमा नेपालमा प्रजातन्त्र भित्रियो।

कतै ‘यो हो नेपाल’ भन्ने केही छैन। यो कुरा विश्व देखेकोलाई मात्र थाहा हुन्छ। आज जनता रोएका छन्। बुद्धिमान कुँजिएका छन्। कर्मशील मानिस कर्महीन बनेका छन्। नेता छलकपटको राजनीति गर्नमा मस्त छन्।  शिक्षक, प्राध्यापक, ब्यापारी, कर्मचारी उद्योगपति र धनीमानी सबै बर्गहरु यही अविवेकी राजनीतिको दौराको फेरो समाती हिडिँरहेका छन्।

जनताका छोराहरु देशको माथिल्लो पदमा प्रधानमन्त्री, मन्त्री, सचिव आदि बन्न पुगे। देशका जनताका छोरा मात्रिका कोइराला, सुर्यबहादुर थापा, टंकप्रसाद आचार्य, डा.के आइ.सिंह, विपी कोइराला, डा.तुलसी गिरी, कीर्तिनिधि बिष्ट, नागेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधब नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र केपी शर्मा ओली हुन पुगे।

प्रजातन्त्र पछिको यो ठुलो उपलब्धी नै मान्नु पर्दछ। यसमा कतिपय व्यक्तिहरु दोहोर्‍याई, तेहेर्‍याइ र पाचौं पटक पनि प्रधानमन्त्री बन्न पुगे। तर भित्रभित्रै अस्थिर राजनीतिको कारण कोही प्रधानमन्त्रीले पनि देशको बिकासमा कायापलट गर्न भने सकेनन्।

झन् २०४७ साल पछिको त कुरै नगरौं। प्रजातन्त्र पश्चात नेपालमा २३/२४ प्रधानमन्त्री त भए। तर नेपालले कृष्णप्रसाद भट्टराई पछि कहिल्यै पनि राम्रो प्रधानमन्त्री पाएन।

जुन बेलादेखि गिरिजाप्रसाद कोइराला देशको प्रधानमन्त्री बने त्यही बेलादेखि देशमा राजनैतिक उथलपुथल, हत्त्या हिंसा, छलकपटको राजनीति, राजदरबार हत्त्याकाण्ड, माओबादी जनयुद्ध सबै भए। आखिर माओवादीहरु सत्ताको माथिल्लो राजनीतिमा जान सफल भएरै छोडे।

जनयुद्धबाट सारा संरचना ध्वस्त भएको थियो। २०१७ सालदेखि २०४७ सालसम्म राजा महेन्द्र र राजा वीरेन्द्रको पालामा बनेका सबै संरचना ध्वस्त भए। नेपालको हरेक पक्ष कमजोर हुँदै गयो।

कमजोर र स्वार्थी नेताहरुको हातमा देशको बागडोर र सत्ता राजनीति पुग्न गई देशमा लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको गलपासो आई देशको अर्थतन्त्रले धान्नै नसकिने संरचना बन्न गयो।

आज देशमा कल कारखाना छैनन्, उद्योगहरु छैनन्, राम्रा स्कुल, कलेज र विश्व बिद्यालयहरु छैनन्। भएका पनि जिर्ण अवस्थामा छन्। रोजगारको अभावले हरेक वर्ष युवा युवती बिदेश पलायन हुनु, अध्ययनको लागि फेरि युवा युवती नै विदेश जानुपर्ने बाध्यताले आज देशमा दक्ष जनशक्ति शून्य भएको छ।

अर्काको देशबाट मागेर ल्याइ खाने र देशमा चुनाब गर्ने फेरि उही मानिस जितेर आउने तर काम नहुने अनि जनताले सधैं राजनैतिक समीकरण र राजनैतिक भ्रष्टीकरणमात्र हेरेर बस्नुपर्ने बाध्यता छ।

पछाडि फर्केर हेर्दा विकास त राजा महेन्द्रकै पालामा भएको रहेछ।  राजा महेन्द्र र राजा वीरेन्द्रको समयमा देश धेरै अगाडि बढेको थियो। देशका हरेक आर्थिक परिसूचक राम्रो सूचिमा थियो।

परराष्ट्रनीति अब्बल दर्जाको थियो। तर अदूरदृष्टि भएका चतुरे नेताहरुको हातमा राजनीति पर्न गएपछि देशको भित्री राजनीतिमा खलबल भइरहेको थियो। राजा महेन्द्र र राजा वीरेन्द्रको मानमर्दन विश्व समक्ष अद्वितीय थियो।यसको तुलनामा आजको राष्ट्रपति र प्रधानमन्त्रीको बोली, ब्यबहार, अनुशासन र ब्यक्तित्वमा ह्रास आएको छ।

आँखी झ्यालबाट आँखा तानीतानी हेर्दा २०४७ सालको जनताको लागि बनेको संविधान नै ठिक थियो। अहिलेको अर्थ न बर्थको राष्ट्रपति शासन भन्दा संवैधानिक राजतन्त्र नै ठिक थियो। प्रजातन्त्र चाहिन्छ्र तर नेपालको लागि गणतन्त्र र धर्म निरपेक्षता बिल्कुल अफापसिद्ध छ।

एक व्यक्ति पटक पटक राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने तर काम केही नगर्ने यस्तो व्यवस्था नेपालले खोजेको हैन। देशमा भयानक दरबार हत्त्याकाण्ड हुनु, माओवादीको जनयुद्ध सुरु हुनु, यो नै नेपालको लागि एक ठूलो अभिसाप थियो। जसले जे भनुन् नेपाल ठूलो खाडलमा चौतर्फी फसिसकेको छ।

प्रत्येक आँखी झ्यालको पटक पटकको हेराइमा नेपालमा नयाँ नयाँ राजनीतिक समीकरण भइ सधैं छलकपटको राजनीतिले न नेपालले विकास पायो न त जनताले कुनै सुविधा र राहत नै पाउन सके। देश झन्झन् टुहुरो बन्दै गयो। त्यस माथि विदेशीहरुको गला निमोठ्ने कामबाट देश मानौं कमजोर बन्दै गयो।

एक राजा हटाइयो। तर नेपालमा त्यस्ता राजा हजारौं जन्मिन गइ देश बेलगाम बन्न पुग्यो। लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको नाममा झ्याली पिट्दै सारा जनताहरुलाई धमाधम गरिब बनाइँदै छ। देश कर्म थलो बन्न सकेन।

केवल राजनैतिक र आर्थिक लुटको थलोमात्र बन्न पुग्यो र आज सत्ताराज गर्ने सम्पूर्ण पार्टीका नेता कर्मशील बन्न छोडेर राणा शासन जस्तै सत्ताप्राप्त गर्नमा मात्र तल्लीन रहे। आज यही आँखी झ्यालबाट नेपाललाई हेर्दा देश अत्यन्त बिग्रेको देखिन्छ।

कतै ‘यो हो नेपाल’ भन्ने केही छैन। यो कुरा विश्व देखेकोलाई मात्र थाहा हुन्छ। आज जनता रोएका छन्। बुद्धिमान कुँजिएका छन्। कर्मशील मानिस कर्महीन बनेका छन्। नेता छलकपटको राजनीति गर्नमा मस्त छन्।  शिक्षक, प्राध्यापक, ब्यापारी, कर्मचारी उद्योगपति र धनीमानी सबै बर्गहरु यही अविवेकी राजनीतिको दौराको फेरो समाती हिडिँरहेका छन्।

कहिले काँही त मनको बाँध फुटी आँखी झ्याल फोडी सबै लोभी पापी दुष्ट स्वार्थी र सत्ताधारी नेताहरुलाई विवेकको, निश्वार्थताको र अनुशासनको कोर्रा लगाउँदै कर्मशील बनाउँदै नेपाललाई भर्खरको उन्नतशील समाज बनाउँदै संसारको सामुन्ने उभ्याउन मन लाग्छ। र, सबै नेपाली जनताको पनि माग यही नै हो जस्तो लाग्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *