प्रधानमन्त्रीको भारत भ्रमण चैत अन्तिममा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत अन्तिममा भारत भ्रमणमा जाने भएका छन्।
सोमबार विश्वासको मत पाएपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण यो महिनाको अन्तिमतिर हुने बताए।
उनले भोलिदेखि नै सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुने बताएका छन्। प्रधानमन्त्रीले भने, “भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ। अब जो–जो दलसँग गठबन्धन भएको छ, सहमति भएको छ, ती सबैसँग बसेर दुई, चार दिनभित्रै टुङ्ग्याउने गरी काम सुरु हुन्छ।”
प्रधानमन्त्री प्रचण्डले अबको गठबन्धन सरकार आरामसँग चल्ने र विकास निर्माणको काम अघि बढ्ने बताए। “त्यस्तो केही हुँदैन। अब आरामसँग सरकार चल्छ। अब विकास निर्माणको काम अघि बढ्छ”, उनले भने।
सोमबारको प्रतिनिधि सभाको बैठकमा उपस्थित २६२ मध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२, विपक्षमा ८९ मत परेको छ।
Facebook Comment