बागमती प्रदेश सरकारमा रहने/ नरहने विषयमा एमालेमा अन्योल

डिसी नेपाल
८ चैत २०७९ १०:३४

काठमाडौं। आफ्नो प्रस्तावमा मुख्यमन्त्री नियुक्त भएका माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने नदिने विषयमा निर्णय गर्न एमाले बागमती प्रदेश संसदीय दलको बैठक बस्दैछ।

मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिने तयारी गरेपछि सो विषयमा निर्णय गर्न एमाले संसदीय दलको बैठक बस्न लागेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए।

यसअघि सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई लिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन्।

तर एमालेले जम्मकट्टेल आफूहरुको प्रस्तावमा मुख्यमन्त्री नियुक्त भएको र आजका मितिसम्म एमाले पनि सरकारमै सहभागी भएको हुनाले विश्वासको मत दिने नदिने विषयमा अन्योल केन्द्रको निर्णय कुरिरहेको छ।

‘हाम्रै प्रस्तावमा उहाँ (जम्मकट्टेल) मुख्यमन्त्री बन्नु भएको हो। अहिले हाम्रो पार्टी पनि सरकारमा सहभागी छ,’ बागमती प्रदेश एमाले संसदीय दलका नेता थपलियाले डिसी नेपालसँग भने, ‘सो विषयमा निर्णय गर्न संसदीय दलको बैठक बस्दैछ। त्यसले केही निर्णय गर्ला। त्यसअघि हामी केन्द्रको निर्देशनको प्रतिक्षामा छौं।’

एमालेले सरकार छोडिनसकेको अवस्थामा कांग्रेस र एकीकृत समाजवादीले विश्वासको मत लिन असजिलो मानेपछि मुख्यमन्त्रीमाथि संसद बैठक स्थगित गर्न दबाव बढेको छ।

तर सभामुख भुवन पाठकले भने निर्धारित समयमा संसद बैठक बस्ने बताए। उनले मुख्यमन्त्रीले नै संसद बैठक स्थगित गर्न चाहे बाहेक अन्य अवस्थामा बैठक नरोकिने बताए।

‘अहिलेसम्म बैठक स्थगित हुने संभावना छैन,’ सभामुख पाठकले डिसी नेपालसँग भने, ‘दिउँसो तीन बजे बैठक बस्छ। मुख्यमन्त्रीज्यूले नै स्थगित गर्न चाहे बाहेक अन्य अवस्थामा बैठक स्थगित हुँदैन।’

केन्द्रको सत्ता समिकरण परिवर्तन भइसकेपछि प्रदेशमा पनि एमाले सरकार बाहिर बस्छ भन्ने मनशायले मुख्यमन्त्री जम्मकट्टेलले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई सहभागी गराएर सरकार पुनर्गठनको तयारीमा छन्। तर कांग्रेसले प्याकेजमै सहमति हुनुपर्ने अडान राखेको छ। कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *