सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी ८ जनाले पाए ११ कित्ता

डिसी नेपाल
८ चैत २०७९ १२:४३

काठमाडौँ। सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौँको नक्सालस्थित कार्यालयमा आज बुधबार बिहान १० बजे आईपीओ बाँडफाँड भएको हो।

कम्पनीको उक्त आईपीओमा १३ लाख ५६ हजार ३४१ आवेदकले १ करोड ५० लाख ८८ हजार ८८० कित्ता सेयरको लागि आवेदन दिएको छ। आवेदन परेको आईपीओमध्ये १३ लाख ४८ हजार ३४२ आवेदकबाट परेको १ करोड ४९ लाख ७२ हजार २० कित्ता सेयरमात्रै सदर भएको छ। बाँकी रहेको ७ हजार ९९९ आवेदकबाट परेको १ लाख १६ हजार ८६० कित्ता सेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रणालीबाट सदर भएको आईपीओमध्ये भाग्यमानी ४ लाख २४ हजार ८९३ आवेदकले १० कित्ताका दरले प्राप्त गरेको छ भने यसमध्ये ८ जनाले थप एक–एक कित्ता सेयर प्राप्त गरेका छन्। बाँकी आवेदकको हात खाली छ।

कम्पनीले गत फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो। कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख ९८ हजार ७५० कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिसकेको छ।

बाँकी रहेको सेयरमध्ये अब ५ प्रतिशतले हुन आउने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो भने ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *