डोल्पामा मोटरसाइकलबाट स्रोत नखुलेको ५६ लाख बरामद, दुई पक्राउ

डिसी नेपाल
३१ असार २०८३ २१:१५

सुर्खेत । डोल्पामा मोटरसाइकलमा सवार व्यक्तिबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडकखण्डमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो। दुनैबाट छलतर्फ जाँदै गरेको ‘भे १३ प ९२६५’ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा पछाडि सवार भक्तीचन्द्र रोकायको साथबाट सो परिमाणको रकम फेला परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रहरीले मोटरसाइकल चालक विष्णुलाल रोकाय र रकम बोकेका भक्तीचन्द्र रोकाय दुवैलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त चेकजाँच गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक विनयकुमार सिंहका अनुसार बरामद रकमको स्रोत पुष्टि हुन सकेको छैन। “रकम कहाँबाट ल्याइएको हो, कसको हो र के प्रयोजनका लागि ओसारपसार गरिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ,” उनले भने। प्रहरीले अनुसन्धानबाट खुल्ने तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *