परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय तहका बालबालिकालाई परीक्षाको परिणामको तानव नदिइ नाच्न, गाउन, हाँस्न र बाँच्न सिकाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं महानगरपालिका वडा नं ३० स्थित ज्ञानेश्वरमा रहेको साई शिक्षा निकेतन हाई स्कूलको अभिभावक दिवस र बृहत् सांस्कृतिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले परीक्षामा पहिलो हुने तनाव बालबालिकालाई दिनु नहुने बताएका हुन् । कतिपय युरोपियन देशमा साना बालबालिकाको परीक्षा नै नलिने शिक्षा प्रणाली रहेको उल्लेख गर्दै काठमाडौँ क्षेत्र नं ४ बाट निर्वाचित सङ्घीय सांसदसमेत रहेका नेता थापाले शिक्षक र अभिभावक मिलेर त्यस्तै शैक्षिक वातावरण निर्माण गर्नुपर्ने बताए ।
“पटकपटक प्रधानमन्त्री भएकालाई अर्कोपटक प्रधानमन्त्री बनिन्छ कि बनिन्न भन्ने डर, चुनाव जितेकालाई अर्कोपटक चुनाव जितिन्छ कि जितिन्नँ भन्ने जस्तो डर बालबालिकालाई परीक्षाका बेला गराइनुहुन्नँ, हाँस्दै, खेल्दै, रमाउँदै सिक्ने शैक्षिक वातावरण निर्माण गर्न सबै लाग्नुपर्छ”, उनले भने ।
पूर्वमन्त्री एवं कांग्रेस नेता भीमसेनदास प्रधानले आफू विद्यालय तहमा अध्ययन गर्दा संस्कृत भाषामा नैतिकता सम्बन्धी पढाई हुने गरेकामा त्यसलाई पुनर्स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए । पछिल्लो समय अङ्ग्रेजी भाषाको मात्र बोलवाला रहेकाले संस्कृत भाषामा भएका ज्ञानगुनका कुरा भुल्न नहुने उनको भनाई थियो । छोरा जत्तिकै छोरीलाई पनि अभिभावकले शैक्षिक वातावरण बनाइदिनुपर्ने नेता प्रधानको भनाइ थियो ।
विसं २०५६ मा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म अध्यापन गराइन्छ । हाल विद्यालयमा दुई सय २५ छात्रछात्रा अध्ययनरत रहेको संस्थापक डा सत्यनारायण चौधरीले जानकारी दिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment