नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सवीवी १.१६’ भेटियो

डिसी नेपाल
२० चैत २०७९ २१:०५
752
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सवीवी १.१६ देखिएकोले नेपालमा सङ्क्रमण बढिरहेको जनाएका छन्।

उनले सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउन आग्रह गरेका छन्। उनले रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सबै सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

उनका अनुसार यही चैत महिनामा २४ वटा नमूना परीक्षण गरिएकोमा २४ वटैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।

मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो। सोअनुसार ओमिक्रोन वीए १.१ दुई वटा, ओमिक्रोन वीए दुई, ओमिक्रोन वीए २.७६ एउटा, ओमिक्रोन वीए ५ दुई वटा भेरियन्ट फेला परेका छन्।

ओमिक्रोन वीए ५.२ दुई, ओमिक्रोन एक्सवीवी १.१६ दश वटा, ओमिक्रोन एक्सवीवी १.५ तीन वटा, ओमिक्रोन एक्सवीवी २.६ एउटा र ओमिक्रोन एक्सवीएफ एउटा फेला परेका छन्।

“कोभिड–१९ महामारी अझ पनि पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन। खोप, जनस्वास्थ्यका मापदण्डलगायत बहुक्षेत्रीय संयन्त्रको संयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउने अवस्था रहेको छ”, मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आज कोरोना भाइरसको सङ्क्रमण ७६ जनामा देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *