बाढीपीडितका लागि रास्वपाले ५० लाख सहयोग गर्ने, राजनीतिक गतिविधि स्थगित

डिसी नेपाल
१० भदौ २०८३ १९:३७

काठमाडौं, १० भदौः चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख व्यक्त गर्दै विपद् प्रभावितको राहत तथा उद्धारका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

रास्वपा सचिवालयको बैठकले विपद्को यस कठिन घडीमा सरकारको राहत कोषमा जम्मा हुने गरी ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। बाढी र पहिरोका कारण विभिन्न क्षेत्रमा असहज परिस्थिति सिर्जना भएको भन्दै पार्टीले आफ्ना सम्पूर्ण पूर्वनिर्धारित राजनीतिक तथा सांगठनिक गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको छ।

रास्वपाले पूर्वर्‍याट संयोजक आशिष थापाको नेतृत्वमा देशभरका पार्टी कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन हुन निर्देशन दिएको छ। प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउन स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी काम गर्नसमेत पार्टीले आग्रह गरेको छ।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा बाढी तथा पहिरोका कारण बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरिएको छ। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा बाढीपहिरोबाट प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि ठोस योजना तत्काल ल्याउन पनि रास्वपाले आग्रह गरेको छ।

पार्टीले विपद्को समयमा नागरिकलाई संयमित रहन आग्रह गर्दै आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न र सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने अफवाहको पछि नलाग्न अनुरोध गरेको छ।

रास्वपाले विपद्को यस कठिन परिस्थितिमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा आवश्यक सहयोग गर्न आह्वान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *