इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा

डिसी नेपाल
२१ चैत २०७९ ९:०६
716
Shares

काठमाडौँ। इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा पुगेको छ। गोदावरी पुल नजिकै झन्डै ५० मिटरमा निर्माण सम्पन्न भएपछि सबै ठेक्का सकिने छन्।

तीन ठेक्कामा निर्माण भएकामा सबैतिर सकिए पनि गत वर्षबाट सो खण्डमात्रै बाँकी रहेको थियो। पहिले सो पुलको नजिकै रहेको एउटा घर भत्काउन समय लागेकाले यो खण्ड बाँकी रहेको काठमार्डौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए।

सरकारी पर्ति जग्गामा रहेको घर क्षतिपूर्ति दिइए पनि हट्न सकेको थिएन। डिभिजन सडक कार्यालयल ललितपुरले गोदावरी खोलामा पुल निर्माण गर्दा सो खण्ड पनि सँगै गर्न खोजे पनि निर्माणस्थल नहुँदा गर्न सकेको थिएन। उनले भने, “घर हटाउँदासम्म पुलको ठेक्का सम्पन्न भइसकेको थियो।”

ठेक्कामा पहिले सम्झौताभन्दा फरक काम गर्न भिवो (भेरियसन अर्डर) आवश्यक पर्छ। आयोजनाले विभागमा भिवो पठाए पनि कहिले के नमिलेर त कहिले के नमिलेर फर्किरहेको उनले बताए। उनले भने, “त्यो स्वीकृत भएर आएपछि नै बाँकी काम हुन्छ र ठेक्का सम्पन्न हुनेछ।”

त्यो एउटा खण्डमा सडक निर्माण बाँकी भए पनि लामाटारसम्म नै सडक कालोपत्र भइसकेको आयोजनाले जनाएको छ। पहिले सो सडकमा बिजुलीको पोल लामो समयसम्म हटाउन सकिएको थिएन। अहिले प्रयास गरेपछि अहिले सरेको उनले बताए।

मुख्य सडक कालोपत्र भइसके पनि विभिन्न स्थानमा दायाँबायाँका संरचना निर्माण गर्न बाँकी रहेको सूचना अधिकारी जोशीले बताए। सो सडक २० मिटर चौडाइमा विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ। सडकमा पैदलयात्रुमार्ग र ढलसमेत निर्माण गर्ने सम्झौतामा उल्लेख थियो।

तोकिएको मापदण्डअनुसार चौडाइमा सडक विस्तार गर्ने निर्माणस्थल खाली गर्न नसकिएकाले लामो समयसम्म पनि निर्माण अघि बढ्न सकेको थिएन। पछि आयोजनाले सरकारको निर्णयानुसार उपलब्ध चौडाइमा नै निर्माण अघि बढाएको थियो।

सडकको लम्बाइ झन्डै सात किमी छ। तीन खण्डमा विभाजित सो सडक निर्माणको जिम्मेवारी डाँफे समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी, लामा समानान्तर जेभीलाई दिइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *