माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने मिटरब्याज पीडितको चेतावनी
काठमाडौं। मिटरब्याज पीडितहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
उनीहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका हुन्।
सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउ पुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा रहेका पीडितहरुलाई तत्काल रिहाइ गर्नुपर्नेलगायतका माग राखेका छन्।
काठमाडौं आएका पीडित रविन्द्र कुशवाहाले सरकारले पीडितको पक्षमा गरेका कुनैपनि सम्झौता कार्यान्वयनमा चासो नदेखाएको बताए। सरकारले २०७८ साल असोज १ गते पीडितहरुसँग गरेको कुनैपनि सहमति कार्यान्वयनमा चासो नदेखाएको उनको गुनासो छ।
मिटरब्याज पीडित पुनम महतोले पीडितहरुलाई नै थुनामा पठाउन जारी भएको पक्राउ पुर्जी खारेज गर्न सरकारसँग माग गरे। थुनामा रहेका पीडितको रिहाइका लागि पहल गर्नपनि उनले आग्रह गरे।
सरकारले केही दिनअघि मात्रै मिटरब्याज पीडितका एउटा समूहसँग वार्ता गरेपनि सोमबार विभिन्न १४ जिल्लाका मिटरब्याज पीडित काठमाडौं प्रवेश गरेका छन्। उनीहरुले मंगलबार नै बालुवाटारमा धर्ना दिएका छन्।







डिसी नेपाल







Facebook Comment