पोखरा-१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

डिसी नेपाल
२१ चैत २०७९ २०:४५
14.8k
Shares

कास्की। उच्च अदालत पोखराले गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिका–१८ मा पुनः मतगणनाको आदेश दिएको छ।

सो वडामा तीन मतान्तरले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद तिमिल्सिना विजयी भएका थिए।

नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्याशी पुष्कल थापाले गणनामा धाँधली भएकाले पुनः मतगणनाको मागसहित उच्च अदालतमा निवेदन दिएका थिए।

सो निवेदनमाथि आज सुनुवाइ गर्दै उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले गणना बदर गरी आगामी वैशाख २० गते पुनः मतगणना गर्न आदेश गरेको अदालतका उपरजिष्ट्रार एवं सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।

गणनाको जनशक्ति व्यवस्थापनका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा र स्थान तोक्नका लागि उच्च अदालतका रजिष्ट्रारलाई आदेश दिएको छ।

यसअघि निर्वाचन आयोगले सो वडाको अन्तिम मत परिणाममा वडाध्यक्षमा विजयी तिमिल्सिनाले एक हजार छ सय ४३ र थापाले एक हजार छ सय ४० मत पाएकामा तिमिल्सिनालाई विजयी घोषणा गरेको थियो।

थापाले परिणाम घोषणालगत्तै पुनः गणनाको माग गरे पनि निर्वाचन आयोगले गणना अस्वीकार गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *