राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेन : अर्थमन्त्री डा महत

डिसी नेपाल
२४ चैत २०७९ २२:३८

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताएका छन् । आर्थिक पत्रकार सङ्घ (नाफिज)सँग आज भएको भेटमा उनले आयात प्रतिवन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताए ।

“प्रत्येक वर्ष सरकारले जिडिपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राखे पनि लक्ष्य प्राप्त हुँदै आएकामा चालू आवमा लक्ष्य पूरा नहुने अवस्था रहेको छ,” उनले भने । आन्तरिकरुपमा लगानी वातावरणको समस्या, बैङ्क तथा वित्तिय क्षेत्रको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ थियो ।

अर्थमन्त्री डा महतले मौद्रिक नीतिका उपकरण प्रयोग गरी बैङ्क तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैङ्कसँग निरन्तर छलफल भइरहेको स्पष्ट पारे । अर्थतन्त्रको अवस्थाको विषयमा जनतालाई सकारात्मक सन्देश दिन आवश्यक रहेको उनको भनाइ छ ।

अर्थमन्त्री डा महतले सरकारले साधारण खर्चमा अत्याधिक मितव्ययिता अपनाउँदै पूँजीगत खर्च बढाउने पक्षमा सरकार रहेको बताए । आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने उनको भनाइ छ । उनले पूर्वाधार निर्माणकार्य समयमा सम्पन्न नहुने, आयोजनाको रकम बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *