फक्ताङलुङ गाउँपालिकाद्वारा उच्च शिक्षाका १३५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान, चार वर्षदेखि निरन्तरता

डिसी नेपाल
३१ असार २०८३ १२:२१

ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गरिरहेका सबै विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।

पालिकाले विगत चार वर्षदेखि निरन्तर रूपमा उच्च शिक्षा हासिल गर्ने कक्षा ११, १२ तथा स्नातक तह (ब्याचलर्स) अध्ययनरत विद्यार्थीहरूलाई आर्थिक प्रोत्साहनस्वरूप छात्रवृत्ति उपलब्ध गराउँदै आएको हो।

यस वर्ष पालिकाभित्रका कुल १३५ जना विद्यार्थीले यो छात्रवृत्ति सुविधा प्राप्त गरेका छन्। गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ मा छात्रवृत्ति कार्यक्रमका लागि पालिकाले १९ लाख ६१ हजार ४ सय रुपैयाँ बजेट विनियोजन गरेको थियो।

सोही विनियोजित रकमबाट योग्य र अध्ययनरत विद्यार्थीहरूलाई रकम वितरण गरिएको हो।

गाउँपालिकाको यो शैक्षिक अभियानले आर्थिक अभावका कारण अध्ययन बीचमै रोक्नुपर्ने अवस्थामा पुगेका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई ठूलो राहत मिलेको छ।

अध्यक्ष लिम्बूले विभिन्न घरायसी तथा आर्थिक कारणले पढाइ स्थगित गर्न बाध्य भएका विद्यार्थीहरूलाई समेत पुनः विद्यालय र कलेज फर्काएर आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाउन यो छात्रवृत्ति निकै उपयोगी सावित भएको बताए।

विकट हिमाली क्षेत्र रहेको फक्ताङलुङमा स्थानीय सरकारको यस प्रयासले उच्च शिक्षामा विद्यार्थीको पहुँच र टिकाउदर बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयबासीहरूको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *