कर्णालीका हिमाली जिल्लामा भारी हिमपात: जनजीवन प्रभावित, पदयात्रा र सवारी साधन सञ्चालनमा रोक

डिसी नेपाल
१४ कार्तिक २०८३ १७:२२

कर्णाली। कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च भूभागहरूमा हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा भएपछि यहाँको जनजीवन प्रभावित बनेको छ। माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोटका उच्च हिमाली भागहरूमा हिमपात जारी रहेको छ।

स्थानीयका अनुसार डोल्पाको शे फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिका, हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी, कनकासुन्दरी गाउँपालिका तथा कालिकोटको तिलागुफा नगरपालिकाका उच्च भागहरूमा हिमपात भइरहेको छ।

डोल्पामा पदयात्रीलाई रोक, उद्धार टोली सतर्क

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार तल्लो डोल्पामा वर्षा र माथिल्लो डोल्पाका तीनवटै हिमाली गाउँपालिकामा बाक्लो हिमपात भइरहेको छ। सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि नै पदयात्रीहरूलाई प्रवेशमा रोक लगाइएको छ भने क्षेत्रमा गएका पर्यटक तथा पदयात्रीहरूको अवस्थाबारे निरन्तर सूचना संकलन भइरहेको छ।

सम्भावित क्षति रोक्न जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य र स्थानीय तहहरूसँग समन्वय गरी उद्धार तथा राहतका लागि कमाण्ड पोस्टलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।

मुगुमा पहिरोको जोखिम, सवारी आवागमन ठप्प

मुगुका प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले शुक्रबार साँझदेखि निरन्तर मध्यम वर्षा भइरहेकाले पहिरोको खतरा बढेको बताएका छन्। जोखिम व्यवस्थापनका लागि आज दिनभर सवारी आवागमन रोक्न प्रहरी परिचालन गरिएको छ।

मुगुमा टेलिफोन तथा प्रहरी सञ्चार सेवा अवरुद्ध भए पनि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर उद्धार तथा राहतका लागि सबै सरोकारवाला निकायहरूलाई हाई अलर्टमा राखिएको छ।

हुम्लाका उच्च नाका बन्द

हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले हिमपातका कारण नाम्खा गाउँपालिकाको हिल्सा, लिमी र लाप्चा जोड्ने सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिएका छन्।

जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हुम्ला प्रशासनले पनि कमाण्ड पोस्टको बैठकमार्फत सुरक्षा निकाय, रेडक्रस, स्वास्थ्यकर्मी तथा स्थानीय तहहरूलाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *