नापी र मालपोत कार्यालय एकीकृत गरिने
काठमाडौँ। भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले दुईवटा निकाय धाउँदा समस्या भोग्नु परेकाले अब शीघ्र एकीकरण गर्ने कार्य योजना अघि बढाइएको बताए।
नापी विभागका कर्मचारीलाई आज सम्बोधन गर्दै उनले नापी प्रशासक विषयगत विज्ञ र दक्ष भएकाले यो दक्षताको प्रयोग जनताले सरल र झन्झटरहित हिसाबले सेवा पाउनुपर्ने उनको भनाइ थियो। ती दुई कार्यालयलाई एकीकृत गरिएमा सरकारी खर्चमा केही हदसम्म मितव्ययितासमेत कायम गर्न योगदान पुग्नेछ।
सचिव डा रेग्मीले भने, “देशमा भूमि हुने र नहुने दुवैमा भूस्वामित्व हुनु आवश्यक हुन्छ, नापीले सबै जग्गाको विवरण तयार गरी भूमिहीनलाई समेत भूस्वामित्व दिने वातावरण निर्माण गर्न सहयोग गर्नुपर्दछ।”
नापी विभागका महानिर्देशक जनकराज जोशीले अब जिल्लामा मालपोत र नापी दुई बेग्लाबेग्लै कार्यालय रहन आवश्यक नरहेकाले कार्यालय एकीकरण गरी एकै थलोबाट सेवा प्रवाह गरिने बताए। उनले भने, “भूमि प्रशासनसम्बन्धी सेवा एकै स्थानबाट हुनुपर्छ भन्ने जनताको माग हो।”







डिसी नेपाल







Facebook Comment