गगनको असन्तुष्टि : विद्रोहको शंखघोष कि बार्गेनिङको घुर्की ?

शरद रिजाल
२७ वैशाख २०८० ७:४४

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सामाजिक सञ्जालमार्फत व्यक्त टिप्पणीले पार्टीको आन्तरिक किचलो उजागर गरेको छ।

कांग्रेसमा चौधौं महाधिवेशनबाट सभापतिमा दोहोरिएका शेरबहादुर देउवाले आफू इतर समूहलाई उपेक्षा गर्दै अघि बढ्ने रणनीति तय गरेको आशय उनको अभिव्यक्तिले सतहमा ल्याएको छ।

उनले पार्टीको आन्तरिक राजनीतितर्फ इंगित गर्दे सोमबार सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिले पार्टीमा सभापति देउवाको चरम मनोमानी व्याप्त रहेको दर्शाउँछ।

उनले त्यसको प्रतिरोध गर्ने प्रयत्न गरे पनि परिणाम दिन नसकेको यथार्थता उनको अभिव्यक्तिको आशयबाट बुझ्न सकिन्छ। उनी पार्टीमा सभापति देउवाको एकलौटी र मनोमानी निर्णय विरुद्ध जुध्न प्रयासरत रहेको बताएका छन्। तर कतिपय सन्दर्भमा पदीय मर्यादाले प्रतिरोध गर्न असमर्थ भएको समेत स्वीकार गरेका छन्।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ,’ महामन्त्री थापाले भनेका छन्, ‘म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो!’

उनले पार्टीको आन्तरिक असन्तुष्टि उजागर गर्दै आक्रोश र निराशा मिश्रित अभिव्यक्तिले नेपाली कांग्रेससभित्र उनको निरीहता समेत सतहमा आएको छ। उनले कांग्रेसभित्र कैयौं पटक प्रक्रियागत रुपले आफूले उठाएका विषयहरु प्रवेश नपाएको हुँदा प्रतिरोध गर्ने प्रयत्न गरिएको तर पदीय दायराले त्यसो गर्न असमर्थ भएको बताउँदै उनको निरीहता सतहमा आएको हो।

उनले पार्टी संस्थागत रुपमा नचलेको बताउँदै आन्तरिक असन्तुष्टि उत्कर्षमा पुगेको अभिप्राय व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा व्यक्त टिप्पणी अनुसार पार्टीमा उनको असन्तुष्टिले हद नाघेको र आशातीत परिणाम दिन नसकेको आशय प्रकट हुन्छ।

कांग्रेसमा विधिसंगत ढंगले संस्थागत निर्णय नभएको र सभापति शेरबहादुर देउवाको मनोमानी व्याप्त रहेकाले महामन्त्री थापाले सोही कार्यशैलीप्रति असन्तुष्टि जाहेर गरेको समेत बताइन्छ।

तर, कांग्रेस निकट स्रोतका अनुसार महामन्त्री थापाले आफ्नो अक्षमता लुकाउन अरुमाथि दोषारोपण गरेर आफू दोषरहित देखिन रक्षाकवचको रुपमा उक्त असन्तुष्टि उजागर गरेका हुन्।

उनले गत वैशाख १० गतेको उपनिर्वाचनको मतपरिणामले रक्षात्मक अवस्थामा पुगेका छन्। अहिले पार्टीभित्र विधि पद्धतिको विषय उठाएर विषयान्तर गर्दै उपनिर्वाचनमा कांग्रेसको लज्जास्पद परिणामको भागिदारबाट बच्ने प्रयास गरेको जानकारहरु बताउँछन्।

कांग्रेसको चौधौं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्री निर्वाचित भएका थापा कांग्रेसको वाकपटुकता भएको नेतामा पर्दछन्। प्रकाशमान सिंहको प्यानलबाट निर्वाचित अर्कामहामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका हुन्। वाकशैली एकै यी महामन्त्रीद्वय पछिल्लो समय निकट समेत भएका छन्।

मंसिर ४ को निर्वाचन अघि प्रधानमन्त्रीको दाबी गरेका थापालाई अर्का महामन्त्री शर्माले समर्थन गरेका थिए। हालसम्म यी महामन्त्रीद्वयको निकटता कायमै रहेको छ।

सार्वजनिक खपतका लागि जे पनि बोल्न पछि नपर्ने यी महामन्त्रीद्वयको अभिव्यक्ति समेत पछिल्लो समय जनताहरुले रुचिकर ठान्न छाडेका छन्।

उपनिर्वाचनमा यी महामन्त्रीद्वय पार्टीका उम्मेदवार जिताउन दुईवटा निर्वाचन क्षेत्रमा भगिरथ प्रयत्न गरे। उनीहरुको प्रतिष्ठासँग जोडिएको उक्त निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन सफल भएनन्।

कांग्रेसले गत मंसिर ४ को निर्वाचनमा जित हासिल गरेको तनहुँ-१ मा समेत लज्जास्पद पराजय ब्यहार्नुपर्‍याे। यी महामन्त्रीद्वय कांग्रेस उम्मेदवार जिताउन दिलाज्यान दिएर लागेका थिए। तर परिणाम कांग्रेसबाटै भर्खरै रास्वपामा प्रवेश गरेर उम्मेदवारी दिएका स्वर्णिम वाग्लेको पक्षमा गयो।

यसले लज्जाबोधको अनुभूति गर्दै कांग्रेसभित्र पुस्तान्तरणको मुद्दा थप प्रखरताका साथ उठान गर्न थालेका छन्। सार्वजनिक खपतका लागि जे पनि बोल्न पछि नपर्ने यी महामन्त्रीद्वयको अभिव्यक्ति समेत पछिल्लो समय जनताहरुले रुचिकर ठान्न छाडेका छन्।

यसअघि संसदमा खरो वक्ताको उपमा पाएका महामन्त्री थापा पछिल्लो समय उनको स्थान राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले हत्याएका छन्। सोही पीडा बोधले ग्रसित भएर गगन सामाजिक सञ्जालमा असन्तुष्टिको चरम अवस्थामा रहेको आशयको अभिव्यक्ति दिएको समेत स्रोत बताउँछ।

चुनाव अघि भावी प्रधानमन्त्रीको घोषणा गर्दै निर्वाचनमा होमिएका उनी चुनावमा जित हासिल गर्न सफल भए तर कांग्रेसमा प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्ने प्रावधान अनुरुप उम्मेदवारी पनि दिए।

तथापि सभापति देउवासँग लज्जास्पद पराजय व्यहोरे। उनको पक्षमा खुलेका सांसदहरुले समेत उनलाई मत दिएनन्। ८९ सांसद ले मतदान गरको संसदीय दल नेताको निर्वाचनमा कांग्रेस सभापति देउवाविरुद्ध उम्मेदवारी दिएका महामन्त्री थापाले २५ मतमात्रै पाएका थिए।

पछिल्लो कांग्रेसबाट मन्त्री चयनको विषयमा समेत देउवाले आफू इतरको समूहलाई खासै महत्व दिएनन्। स्वास्थ्य मन्त्रालयको दाबी गरिरहेको गगन शेखर समूहले उक्त मन्त्रालय पाउन सकेन।

त्यतिमात्रै होइन , उनीहरुले दाबी गरे अनुरुप तीन मन्त्री समेत पाएका छैनन्। गत वैशाख २० गते स्वास्थ्य मन्त्री नियुक्त भएका मोहनबहादुर बस्नेत सभापति देउवा निकट हुन्। यस्तै कानूनमन्त्री नियुक्त भएका उपसभापति धनराज गुरुङ शेखर कोइराला निकट हुन्। कांग्रेसको चौधौं महाधिवेशनमा कोइराला प्यानलबाटै उपसभापति जितेका हुन्।

गगननलाई संस्थापन इतर समूहको भावी उत्तराधिकारीको रुपमा समेत धनराज गुरुङ लगायत नेताहरुले स्वीकार गसिकेका छैनन्। नेता कोइरालाले समेत बाध्यतावश थापालाई टिममा राखेको बताइन्छ। उनको महत्वकांक्षी स्वभावले उनकै टिमका नेताहरु आजित छन्।

यस्तै युवा तथा खेलकुद मन्त्री नियुक्त भएका डिगबहादुर लिम्बु नेता कोइराला निकट हुन्। कांग्रेसले पाएको आठ मन्त्रालयमध्ये यस अघि चैत १७ गते सभापति देउवा निकट चारजना मन्त्रीहरु सरकारमा सहभागी भइसकेका छन्।

आइतबार नियुक्त भएका महिला बालबालिका मन्त्री सुरेन्द्र आचार्य समेत शेखर गगन टिमका होइनन्। उनी हालका राष्ट्रपति रामचन्द्र पौडेलका नातेदार हुन्।

राष्ट्रपतिको पौडेलकै आग्रहमा सभापति देउवाले उनलाई मन्त्री सिफारिस गरेका हुन्। कांग्रेस निकट स्रोतका अनुसार मन्त्री आचार्य रामचन्द्र पौडेलका नाताले भाइ पर्दछन्।

कांग्रेसभित्र खास पहुँच राख्न समेत असमर्थ भएका महामन्त्री थापा सभापति देउवाको पेलानमा परेका छन्। उनले आफ्नो टिमको समेत संरक्षण गर्न नसकेको बताइन्छ। शेखर समूहमै रहेका कतिपय नेताहरुको थापाप्रति विश्वस्त हुन नसकेको कांग्रेस स्रोत बताउँछ।

उनलाई देउवा इतर समूहको भावी उत्तराधिकारीको रुपमा समेत धनराज गुरुङ लगायत नेताहरुले स्वीकार गसिकेका छैनन्। नेता कोइरालाले समेत बाध्यतावश थापालाई टिममा राखेको बताइन्छ। उनको महत्वकांक्षी स्वभावले उनकै टिमका नेताहरु आजित छन्।

सार्वजनिक महत्वका विषयमा खरो बोलेर लोकप्रयिता आर्जन गरेका थापाको अभिव्यक्ति पछिल्लो समय अविश्वसनीय बन्दै गएको छ। उनको अभिव्यक्तिको संसदमा र बाहिर समेत खपत हुन छाडेको छ।

सोही खस्कँदो लोकप्रियता र पार्टीको शक्ति सन्तुलनमा व्याप्त निरीहताको बचाउमा सामाजिक सञ्जालमार्फत विषयान्तर गर्दै आफ्नो कमजोरी लुकाउन अन्यत्र दोषारोपण गर्दै असन्तुष्टि उजागर गरेको स्रोत बताउँछ।

यद्यपि कांग्रेस निकट स्रोतले दिएको जानकारी अनुसार यसको उच्चतम अभिव्यक्ति थापाले महामन्त्रीबाट राजनीनामा दिएर समेत प्रदर्शित गर्न सक्ने सम्भावना रहेको छ। तर, राजनीनामा दिएर स्वीकृत भए थप कमजोर बन्ने बुझेका थापाले त्यत्रो जोखिम मोल्ने हिम्मत नगर्ने कतिपय कांग्रेसीजनको बुझाइ छ।

कांग्रेसका शुभचिन्तक र युवा पुस्ताका नेताहरुको भावनात्मक मत बटुल्न उनले उक्त जोखिम मोल्ने सम्भावना रहेको समेत बताइन्छ। अहिले कांग्रेसका तेस्रो पुस्ताहरुले पार्टी रुपान्तणको अभिया न सुरु गरेका छन्। युवा नेता भुपेन्द्रजंग शाही, गुरु घिमिरेलगायतले पार्टीमा शुद्धिकरणको विषय उठान गर्दै रुपान्तरणको अभियान सुरु गरिरहेका छन्।

यही समूहको उक्साहटले हौसिएका थापाले पार्टीभित्र आन्तरिक उपेक्षाको प्रतिवाद गर्दै सभापति देउवाविरुद्ध लड्न अर्का महामन्त्री शर्माको साथले हिम्मत गरेको कांग्रेस स्रोत बताउँछ।

कांग्रेसमा सभापति देउवाको बेवास्ता र आफ्नै समूहको अविश्वासले आजित भएर प्रतिकूल अवस्थामा पुगेका महामन्त्री थापाले घुर्की लगाएर बार्गेनिङ पावर बढाउनैपर्ने बाध्यात्मक अवस्था सिर्जित भएकाले प्रतिरक्षाका लागि उनले खरो टिप्पणी व्यक्त गरेकोे स्रोतको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *