लस एन्जलसमा महापुराणको आयोजना गरिँदै

डिसी नेपाल
२६ जेठ २०८० ६:३५

क्यालिफोर्निया। क्यालिफोर्नियाको लस एन्जलसमा आउने महिना जुलाइमा शिव महापुराण लगाइने भएको छ।

श्री पशुपतिनाथ फाउण्डेशन, यू एश ए को अगुवाइमा सम्पूर्ण संघसंस्था तथा नेपालीभाषीहरुको सहयोग र सहभागितामा बाचन प्रविण पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचकत्वमा जुलाई ९ देखि १५ सम्म लस एन्जलस काउन्टी अन्तर्गत नरवाक शहरमा रहेको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा “लस एन्जलस आध्यात्मिक महोत्सव तथा शिव महापुराण २०२३” आयोजना गर्न लागिएको हो।

श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर संयुक्त राज्य अमेरिकामै नेपाली समुदायद्वारा निर्मित धार्मिक स्थल हो जहाँ हरेकजसो नेपाली चाडपर्वहरू धुमधामका साथ मनाइँदै आइएको छ।

नियमित पुजाआजाका अतिरिक्त विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानको केन्द्रका रूपमा स्थापित यो मन्दिरमा हुँदै आइरहेका विशेष कार्यक्रमहरूमा सयौंको संख्यामा नेपाली समुदायको जमघट हुने गरेको छ। नयाँ पुस्तामा नेपाली बोलचाल र लेखनको अभ्यासका लागि मन्दिरमा हरेक आइतबार नेपाली पाठशाला पनि सञ्चालन हुँदै आइरहेको छ।

क्यालिफोर्नियामा नेपाली संस्कार र संस्कृतिको प्रवर्धन, निरन्तरता र विस्तारको उद्देष्यका साथ स्थापित यो मन्दिरमा नेपाली समुदायको पहलमा विभिन्न कार्यक्रमहरु हुँदै आइरहेका छन्।

यस्ता कार्यक्रममा हुने व्यापक जनसहभागिताका कारण यो क्षेत्रमा सामुदायिक भवनको अत्यन्त आवश्यकता देखिएको भन्दै श्री पशुपतिनाथ फाउण्डेशन, यू एश ए, यसको तयारीका लागि जुटिरहेको छ।

यसै सिलसिलामा सामुदायिक भवन निर्माणार्थ महापुराणको आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष रामेश्वर भण्डारीले जानकारी दिए।

यो विशेष धार्मिक अनुष्ठानको तयारीमा तिव्रता दिदै संस्थाका निबर्तमान अध्यक्ष मुकुन्द ढुंगानाको संयोजकत्वमा महापुराण मूल समारोह समिति तथा कार्यक्रमलाई सफल बनाउन समाजसेवी वेद भक्त जोशी तथा नेपाल सरकारका अवैतनिक महाबाणिज्यदूत ऋषि ढकाल रहेको सल्लाहकार समिति सहित विभिन्न समितिहरू बनाइएको फाउण्डेसनका सचिव डिल्ली (सिद्धार्थ) सिलवालले बताए।

नेपाली संस्कृतिको जगेर्ना, प्रबर्धन र विस्तारका लागि सामुदायिक भवनको सपना साकार बनाउन लागी परिरहेको मन्दिर व्यवस्थापन समितिले महापुराणमा सहभागी हुन अमेरिकामा रहेका सम्पूर्ण नेपालीलाई र बिशेष गरि क्यालिफोर्निया निवासी सम्पूर्ण समुदाय सदस्यहरूमा हार्दिक निमन्त्रणा दिएको छ।




प्रतिक्रिया

One thought on “लस एन्जलसमा महापुराणको आयोजना गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *