तिनाउ नदीले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
१९ असार २०८० १०:०९
428
Shares

बुटवल। लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ।

सोमबार रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ। यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे सतर्क रहन आग्रह गरिएको बताए। आज बिहानैदेखि तिनाउले खतराको तह पार गरेको हो।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह सात दशमलव २२ मिटर पुगेको छ। महाशाखाका अनुसार जल सतह पाँच दशमलव दुई मिटरलाई सतर्कता तह मानिन्छ भने पाँच दशमलव छ मिटरलाई खतराको तह मानिन्छ।

तिनाउ नदीको जल सतह छ दशमलव ८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरेको छ।

तिनाउ नदीले खतराको तह पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ। तिनाउलगायत रुपन्देहीका अन्य नदीमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।

जिल्लास्थित सुरक्षाका तीनैवटा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *