अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० जना पक्राउ

डिसी नेपाल
३१ भदौ २०८० १५:१३
1.0k
Shares

काठमाडौं। अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र  दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने छ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेको जानकारी दिएको छ।

उनीहरुमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीको भनाइ छ। पक्राउ परेकाहरुलाई आज सार्वजनिक गर्दै प्रहरी उपरीक्षक जोशीले पार्सलमा गाँजा पत्ता लागेपछि उनीहरुलाई पक्राउ गरिएको बताए।

प्रहरीका अनुसार अमेरिकाबाट हुलाकमार्फत डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएकोमा एउटा कार्टुन शंका लागि जाँच गर्दा नौ सय ग्राम गाँजा बरामद गरिएको हो। उक्त कार्टुन पार्सल लिन आउने व्यक्ति खोज्न ‘कन्ट्रोल डेलिभरी’ गर्दा वीरगञ्जका डल्लुराम र सोही ठाउँका हविव मियालाई पक्राउ गरिएको थियो।

अमेरिकाबाट डिल्लीबजार हुलाकमार्फत जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी  पठाइएको  अर्को कार्टुन जाँच गर्दा एक किलो चार सय ग्राम गाँजा फेला परेको ब्यूरोले जनाएको छ। सोही क्रममा गाँजा लिन आउने भारतीय नागरिक  २४ वर्षे अजिन भर्गेसलाई हुलाक कार्यालयबाटै पक्राउ गरिएको थियो । उनको डेराबाट थप सात सय २० ग्राम गाँजा बरामद गरिएको छ ।

हुलाकमार्फत आएको गाँजा लिन आउने डडेलधुराकी रेनुका तामाङलाई पनि पक्राउ गरिएको छ । उनको बयानका आधारमा गाँजा लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पनि पक्राउ गरिएको हो । उनीहरुको साथबाट नौ सय ३९ ग्राम ग्राजा बरामद गरिएको छ।

ब्यूरोले खैरो हेरोइनसहित कञ्चनपुरका हिक्मत हमाल, दाङका सञ्जय नेपाली, मोरङका विनोद भट्टराई र झापा बस्ने भारतीय नागरिक लाल मियालाई पनि पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुको साथबाट दुई सय ६८ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *