बाँकेमा हवाई फायर, १४ किलो अफिमसहित दुई जना पक्राउ
कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीले हवाई फायर गरी ठुलो परिमाणको लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले सोमबार कोहलपुर नगरपालिका वडा नं ६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
लागुऔषध अफिमको कारोबार भइरहेको अवस्थामा प्रहरीले घेरा हालेपछि अभियुक्तहरू भाग्न खोजेका थिए। भाग्न खोज्नेलाई रोक्न प्रहरीले चेतावनी स्वरूप एक राउण्ड हवाई फायर गरेको थियो।
पक्राउ पर्नेहरूमा रुकुमपूर्व सिस्ने गाउँपालिका वडा नं १ का ४३ वर्षीय कर्ण बहादुर बुढा र बाँके कोहलपुर नगरपालिका वडा नं ६ का ६० वर्षीय टोप जङ्ग गिरी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १४ किलो ७६० ग्राम लागुऔषध अफिम र दुई थान मोबाइल फोन बरामद गरेको छ। ब्यूरोका सह प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment