बजार झरे मुस्ताङी च्याङ्ग्रा

डिसी नेपाल
२४ असोज २०८० ८:३२
296
Shares

म्याग्दी। दसैं पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन्।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मंगलबारसम्म एक हजार दुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी दिए।

“जोमसोमको नाकाबाट मंगलबार मात्रै चार सयवटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ”, उनले भने, “पछिल्लो तीन दिनको अवधिमा एक हजार दुई सय च्याङ्ग्रा निकासी भएको छ।”

प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशुु चिकित्सकलाई रु १५ शुल्क तिर्नुपर्छ। स्वास्थ्य परीक्षण गरेर निरोगी पशुु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ।

यस वर्ष दसैंका लागि मुस्ताङका कृषकले पालेका चार हजार र डोल्पाबाट आउने चार हजार गरी आठ हजार भेडाच्याङ्ग्रा निकासी हुुने अनुमान गरेको पोखरेलले बताए।

कृषकले प्रतिगोटा रु ३५ देखि ४० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेका उनले बताए। गत वर्ष छ हजार छ सय, २०७८ सालमा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रको तथ्यांक छ।

पछिल्लो चार वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूूल्य बढेको कृषक करन गुुरुङले बताए। तीनदेखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुुका लागि बजार पठाउने गरिएको छ।

हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुुभव छ। दसैं-तिहारमा च्याङ्ग्राको मासुुको खपत बढी हुुने गर्छ।

मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन्। पैसठ्ठीवटा ठूला च्याङ्ग्रा फार्म छन्।

लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घर–घरमा च्याङ्ग्रा पालेका छन् । हिमचुुतुुवा, ब्वाँसो र जङ्गली कुुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ।

तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको रु २५ हजार थियो। कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङ्ग्रा आयत नभएकाले मुुस्ताङको च्याङग्राको मूल्य बढेको व्यापारी यामबहादुुर कार्कीले बताए।

वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्दथ्यो । मुस्ताङी च्याङ्ग्राको हुल भित्रिएसँगै दसँै आगमनको महसुस गराउँछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *