गैरीगाउँ हत्या प्रकरण : रायसहितको प्रतिवेदन बुझाइयो

डिसी नेपाल
२४ असोज २०८० १२:२९
752
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ।

अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। व्यक्तिगत प्रतिशोध (रिसिबी)का कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो।

“प्रहरीले हत्या आरोपमा एकजना सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । उनी फरक क्षमता (बोल्न नसक्ने) भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो”, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले भने।

बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको स्वीकार गरेका उनले बताए। अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ (दिमागी अवस्था परीक्षण) गरेको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए।

सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले प्रतिवेदन आइपुगेको र कार्यालयले अध्ययन गरिरहेको जानकारी दिए।

अध्ययनपछि अभियोजन दर्ता हुने उनको भनाइ थियो। “प्रहरीले भने उनलाई जन्म कैदको सजाय माग दाबी लिनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको छ”, उनले भने।

आरोपीले रिसिबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको पनि हत्या गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। राठौरको नेतृत्वमा उक्त घटनाको अनुसन्धान समिति बनाइएको थियो।

भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो। काठमाडौं महानगरपालिका-३२ तीनकुने नजिक गैरीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *