अमेरिका पुगेर राप्रपा अध्यक्ष लिङ्देनले भने-देशकै नेतृत्व परिवर्तनको आवश्यकता छ

डिसी नेपाल
१३ कार्तिक २०८० ९:२९
120
Shares

अमेरिका। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भूगोलको नेपाल मेची महाकालीमा समेटिएको भएपनि भावनाको नेपाल संसारभर छरिएको र तिनलाई कसैले उपेक्षा गर्न नमिल्ने, गर्न नसक्ने बताएका छन्।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको टेक्सासको ड्यालसमा आयोजित तेश्रो अधिवेशनको उदघाटन गर्दै अध्यक्ष लिङ्देनले नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको नेपाली डायस्पोरालाई नेपाल निर्माणको साझेदार बनाउनुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष लिङ्देन नेतृत्वको राप्रपाको टोली यतिबेला अमेरिका भ्रमणमा रहेको छ। अध्यक्ष लिङ्देनले नेपाली राजनीतिमा पुस्ता हस्तान्तरण र नेतृत्व परिवर्तनको कुरा लामो समयदेखि उठिरहेको भएपनि राप्रपाले व्यवहारिक रुपमै आफ्नो पार्टीमा नेतृत्व परिवर्तन गरेको, पार्टीलाई नयाँ दिशा प्रदान गरेको र राष्ट्रिय राजनीतिमा राप्रपालाई आशालाग्दो शक्तिका रुपमा उभ्याएको दाबी गरेका छन्।

उनले पार्टीमा अझै धेरै मिहिनेत गर्न बाँकी रहेको बताउँदै पार्टीको मात्रै होइन देशकै नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। एउटा राजनीतिक परिवर्तनमा हाल नेतृत्वमा रहेकाहरुको योगदान रह्यो होला तर कठिन अवस्थाबाट गुज्रिरहेको देशलाई यथास्थितिबाट मुक्त गराउन लामो राजनीतिक जीवन बिताएकाहरुले विश्राम लिनुपर्ने बताए।

नयाँ परिवर्तनको जनचाहनालाई अब परम्परागत नेतृत्वले नेतृत्व प्रदान गर्न सक्दैन, मैले अमेरिकामै पनि विभिन्न व्यक्ति र समुहसंगको व्यक्तिगत र सामुहिक भेटमा त्यस्तो धारणा पाएको छु, लिङ्देनले भने।

अध्यक्ष लिङ्देनले राप्रपाले उठाएको राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा केवल कोही व्यक्तिलाई राजा बनाउने र कुनै जात र धर्म विशेषलाई प्रोत्साहित गर्नको लागि नभइ यो एजेण्डा नेपालको पहिचान, एकता र स्थायित्वका लागि भएको प्रष्ट पारेका छन्। ढिलोचाँडो नेपाल त्यहाँ नपुगी छाड्दैन, अर्को बाटो पनि छैन, कुनै राजनीतिक पक्ष र शक्तिलाई निषेध नगरौं भन्ने राप्रपाको प्रष्ट दृष्टिकोण रहेको छ, अमेरिकामा रहेका नेपालीलाई आश्वस्त तुल्याउदै अध्यक्ष लिङ्देनले भने, “प्रवासमा रहेर यो एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न राप्रपाले तपाइहरुको साथ, समर्थन र ऐक्यबद्धता खोजेको छ।”

अधिवेशनलाई अध्यक्ष राजेन्द्र लिङदेन, पार्टीका नेता पूर्व मन्त्री प्रेमबहादुर भण्डारी, पानस आईसीसी अध्यक्ष प्रेमकुमार श्रेष्ठ, सहायक महामन्त्री विजय खडका, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य लोक तिवारी, पानस सल्लाहकार प्रेम चौलागाई ,एनआरएनए अमेरिका उपाध्यक्ष ज्ञानेन्द्र गुरूङ, सिटी काउन्सिल मेम्बर टिका पौडेल, चिकित्सक एवं गत निर्वाचनमा काठमाण्डौं क्षेत्र नं ५ का राप्रपा उमेदवार डा.रामप्रसाद उप्रेती, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले लगायतले सम्बोधन गरेका थिए।

अधिवेशनले टेक्सासका रवि रावलको अध्यक्षतामा पानस अमेरिकाको २१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको छ। यसैगरी उपाध्यक्ष दिपु भुषाल, टेक्सास, नरेन्द्र शाह, न्युयोर्क, बामदेव अर्याल, मेरिल्याण्ड, केमिका भण्डारी, मेरिल्याण्ड, महासचिव डा.शंकर बिशुंखे, न्युयोर्क, सचिव गोविन्द सिंह ठकुरी टेक्सास र कोषाध्यक्ष रामशरण श्रेष्ठ, न्यु हेम्पसायर रहेका छन्। समाजको सल्लाहकारमा राजेन्द्र शेरचन, राधा शर्मा र नरेन्द्र खड्का रहेका छन्। नवनिर्वाचित कार्यसमितिलाई राप्रपाका अध्यक्ष लिङ्देनले करि लिफ बैंक्वेटमा आयोजित समारोहमा स्वागत र सम्मान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *