असंलग्नता केही नगरी बस्ने नीति होइन : परराष्ट्र मन्त्री साउद

डिसी नेपाल
१५ कार्तिक २०८० ०:४४

वासिंगटन डिसी। नेपालका परराष्ट्र मन्त्री एनपी साउदले नेपालको असंलग्न परराष्ट्र नीतिको अर्थ केही नगरी बस्नु नभएको बताएका छन्।

अमेरिकाको राजधानी वासिंगटन डिसीस्थित थिंक ट्यांक संस्था युनाइटेड स्टेट इन्टिच्युट फर पिस(युएसआईपी)द्वारा आयोजित टक प्रोग्राममा मंगलबार उनले सो कुरा बताएका हुन्।

नेपालको विदेश नीतिमा भएको असंग्लनताबारे उठ्ने विविध बौद्धिक प्रश्नहरुको सन्दर्भमा उनले असंलग्न नीति भनेर केही नगरी बस्ने नभई विश्वका परिघटनाहरुको गम्भीरतापूर्वक अध्ययन गरेर मेरिटका आधारमा प्रतिक्रिया जनाउने असंलग्नताको नेपाल नीति रहेको व्याख्या गरेका थिए।

उनले विश्व शक्ति सन्तुलन तीब्ररुपमा परिवर्तित भइरहेको सन्दर्भमा असंलग्नताको नेपालको विदेश नीति अझ सान्दर्भिक भएको दावी पनि गरेका थिए। असंलग्नता, पञ्चशील र संयुक्त राष्ट्र संघको घोषणापत्रमा नेपालको विदेश नीति आधारित रहेको उनले अमेरिकी विद्वानहरुलाई बताएका थिए।

डिसीको सो कार्यक्रममा मन्त्री साउदले दुई ठूला अर्थतन्त्रका बीचमा रहेको नेपालले ती अर्थतन्त्रबाट फाइदा लिन चाहेको उल्लेख गर्दै भारत र चीनसँगको सम्बन्ध मित्रवत र पुरानो रहेको एवं एकअर्काको चासोमा आपसी सहयोग र सुझबुझ रहेको पनि बताएका थिए।

सार्वभौमिकता, भौगोलिक अखण्डता र तटस्ताको आधारमा “सबैसँग मित्रता” को विदेश नीति नेपालले अंगीकार गरेको उनले बताएका थिए।

युएसआईपीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, एशिया सेन्टरका उपाध्यक्ष, अमेरिकी विदेश विभागका डेपुटी एसिस्टेण्ट सेक्रेटरी, नेपालका लागि अमेरिकी राजदूतसमेत सहभागी रहेको सो कार्यक्रममा मन्त्री साउदले ठूलो संख्यामा नेपालीहरु नेपाल वाहिर रहेको र ती नेपालीको सुरक्षा र समुन्नतिप्रति पनि नेपालको चासो र चिन्ता रहेको उल्लेख गरेका थिए

समयक्रमसँगै नेपालको राजनीतिक प्रक्रियाले स्थायित्व पाउँदै गएकाले अब नेपालले आर्थिक विकासमा केन्द्रित हुन चाहेको बताउँदै उनले आर्थिक विकास नै आजको सन्दर्भमा विदेश नीतिको महत्वपूर्ण पक्ष भएको बताएका थिए।

कार्यक्रममा नेपालको ऐतिहासिकता र तटस्थताबारे उनले चर्चा गरेका थिए भने नेपालको संविधानले ग्यारेण्टी गरेका विविध पक्षबारे पनि प्रकाश पारेका थिए।

उनले बुद्धको भूमि नेपालमा आफ्नै तरिकाले शान्ति प्रक्रिया अघि बढाई सशस्त्र द्वन्द्वको समाधान गरेर शान्ति र लोकतन्त्रको स्थापना गरेको सन्दर्भ उल्लेख गर्दै यस क्रममा अमेरिकालगायतका मित्र देशहरुबाट भएको सहयोगको सह्राहना पनि गरेका थिए।

दूतावासका अनुसार,मन्त्री साउदले मंगलबार नै एमसीसीको सीईओ, युएसएडका निर्देशक र डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सीआईओसंग भेटघाट गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *