राष्ट्र बैंक र उद्योग वाणिज्य महासंघबीच नीति निर्माणमा सहकार्य गर्न समझदारी

डिसी नेपाल
१७ कार्तिक २०८० १५:१८
12
Shares

काठमाडौं। वृहत् आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यवसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सझदारी भएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठ र महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरे।

सहमतिअनुसार राष्ट्र बैंक र महासङ्घले विविध विषयमा तथ्य र तथ्याङ्कमा आधारित अध्ययन अनुसन्धान गर्नेछन । यस सम्झौताले राष्ट्र बैंक र महासङ्घबीच हातेमालो गर्ने अवसर सिर्जना गरेको र आगामी दिनमा नीति निर्माणमा निजी क्षेत्रको सहभागिता बढने गभर्नर अधिकारीले विश्वास व्यक्त गरे।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग केन्द्रीय बैंकको सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा वास्तविकतामा आधारित नीति निर्माण गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। साथै यसले सही सूचना प्रवाहित हुने उनको भनाइ थियो ।

समझदारीअनुसार राष्ट्र बैंकले समय समयमा गर्ने अध्ययनमा महासङ्घ र सदस्य संस्थाहरुले आवश्यक सूचना एवं जानकारी उपलब्ध गराउने छ भने महासंघले गर्ने अध्ययनमा राष्ट्र बैंकको प्राविधिक सहयोग प्रदान गर्ने र आवश्यकताअनुसार संयुक्त अध्ययन अनुसन्धान पनि हुनेछ।

समझदारी कार्यान्वयनका लागि सहजीकरण सेल निर्माण हुनेछ भने समझदारी पाँच वर्षसम्म लागू हुने जनाइएको छ। राष्ट्र बैंकमा आयोजित हस्ताक्षर कार्यक्रममा राष्ट बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गाना, महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *