समयमा विवाहदर्ता, जन्मदर्ता नबनाउँदाको पीडा

सुधा देव
२८ कार्तिक २०८० ७:२७

सप्तरी। सप्तरीको राजविराज नगरपालिका-४ कि २० वर्षीया नेहा देवका श्रीमानले नागरिकता र विवाह दर्ता नबनाइ दिएपछि उनी बिचल्लीमा परेकी छिन्। राजविराज ७ माइती भएकी नेहाको दुई वर्ष अगाडि रमण देवको २४ वर्षीय छोरा रितिक देवसँग सामाजिक परम्परा अनुसार मागि बिवाह भएको थियो।

बिवाह हुनु अघि ससुराली पक्षले नेहालाई विवाहपछि पढाउने माइती पक्षसँग प्रतिबद्धता गरेका थिए। केटापक्षले पढाउने सहमति जनाएपछि बिवाह गर्न तयार भएको नेहाको आमाले बताइन्।

विवाह भएको ४ दिनदेखि दाइजोका लागि कुटपिट गर्दै आएका रितिक र उनको आमाबाबुले घरमा खान र बस्न समेतबाट बन्चित गर्दै आएपछि उनीले एक वर्ष देखि माइतीको शरण लिएकी छिन्।

अहिले उनीहरूको ११ महिनाको एक छोरा छ। नेहालाई बच्चाको खर्च जुटाउन समस्या भएको बेला नेपाल सरकारले पाँच वर्ष मुनिको बालबालिकालाई दिँदै आएको पोषण भत्ता उनको छोराले पाउन सकेको भए ठूलो राहत हुने नेहाको भनाइ छ। बिवाह भएदेखि नागरिकता र बिवाह दर्ता बनाइ दिन नेहाले पटक पटक श्रीमानसँग आग्रह गर्दै आएकी छिन्। ससुराली पक्षले नागरिकता र बिवाह दर्ता नबनाइ दिएकाे उनकाे भनाइ छ।

बुहारीलाई नागरिकता र बिवाह दर्ता बनाइ दिइयो भने सम्पतिमा अंश लिने डरले ससुराली पक्षले बनाउन नचाहेको नेहाको आमाको आरोप छ। एसईई दिने वित्तिकै राम्रो केटा घर परिवार भनेर हतारमा उमेरै नपुगी बिवाह भएपछि छोरीको नागरिकता बनाउन नसकिएको उनको भनाइ रहेको छ।

छिटो बिवाह गर्नुभन्दा पनि नागरिकता बनाउन नपाएकोमा सबैभन्दा पछुतो लागेको नेहाको बुबा अमरेश देवले बताए। उनले भने,´छोरीको ज्वाइको नामबाट नगरिकता बिवाह दर्ता र नातिको जन्मदर्ता बन्न पाएको भए धेरै समस्या समाधान हुने थियो।`

नातिले पाउने वर्षभरिको पोषण भत्ताले दुई महिनासम्म पनि दूध मात्र खान पाएको भए धेरै राहत हुने भनाइ अमरेशको छ। नेहाको ससुराली पक्ष सम्पन्न भएपनि माइती घरको अवस्था एकदमै दयनीय भएकोले छोरी र नातिको खर्चको भार माइतीले उठाउनु पर्दा समस्या भएको नेहाको माइजु रूवी देवले बताइन्।

बच्चा गर्भमा बसेदेखि माइतीले पाल्दै आएको हो। आमा भन्दा पनि पोसिलो खाने उमेरमा बच्चाको आहार पुर्‍याउन समस्याको मुख्य कारण विवाह दर्ता र जन्मदर्ता रहेको नेहाको आमाको भनाइ छ।

ज्वाइ दुई दाजुभाइ मात्र रहेको छोरी नभएको घरमा छोरीले छोरी र बुहारी दुबैको माया पाउने लोभले उमेरै नपुगी विवाह गरेपनि अहिले त्यसको ठीक बिपरित भएको आमाको दुखेसो छ।

राजविराज-२ राजदेवी चौककी आशिकसँग सप्तरीको कञ्चनरुप नगरपालिका २ महादेवपट्टीकी २५ वर्षीया पलिया खातुनको विवाह गरेको पाँच वर्ष वितिसक्दा पनि श्रीमानले विवाह दर्ता र छोराहरूको जन्मदर्ता बनाई दिएको छैन। जन्मदर्ता विवाहदर्ता नभएकै कारण उनको दुई सन्तानसहित उनी बिचल्लीमा परेकी छिन्।

विवाह भएको दुई वर्षसम्म श्रीमान र उनको पारिवारिक सदस्यसँग राम्रै सम्बन्ध थियो त्यतिबेला उनले विवाहदर्ता र जन्मदर्ताको विषयमा वास्ता गरेकी थिइन्। दुई वर्षपछि श्रीमान् र सासु नाजमिन,ससुरा अकबरले हिंसा गरेर उनीसहित दुई सन्तानलाई घरबाट निकालेपछि उनीहरू बिचल्लीमा परेका हुन्।

उनले आफ्नो विवाहदर्ता र सन्तानहरूको जन्मदर्ता बनाई दिन श्रीमानसँग पटकपटक आग्रह गर्दा पनि अहिलेसम्म विवाहदर्ता र जन्मदर्ता नबनाई दिदा आफूसँगै बच्चाहरू विच्चलिमा परेको उनले बताइन्।

विवाहदर्ता र जन्मदर्ता गराइदिन श्रीमानलाई ताकेदा गर्दा उल्टो घर जग्गा बेचेर सिरहाको लहानमा घर बनाई बसेको र त्यहीबाट फोन गरेर मुस्लिम परम्परा अनुसार “तलाक” दिएर सम्बन्ध बिच्छेद गरेको उनको दुखेसो छ।

अहिले छोराहरूलाई विद्यालय भर्ना गराउन जन्मदर्ता चाहियो। जन्मदर्ताका लागी विवाह दर्ता आवश्यक पर्यो तर आफूसँग विवाह दर्ता नभएकोले विद्यालय भर्ना गराउन नसकेको उनको उनको दुखेसो छ।

अहिले उनी माइतीको शरणमा छिन्। पलियाकी आमा हसेमुनले छोरीलाई सधै कुटपिट गरेर घरबाट निकाल्ने गरेपछि समाज बसाएर छलफल गरेपछि ज्वाइ आशिकले विवाह र जन्मदर्ता बनाई दिने प्रतिबद्धता गररे पनि त्यसो नगरेको बताइन्। छोरीको दुःख देख्न न सकेर अदालतको शरणमा पुगेको उनको भनाइ रहेको छ।

२०७९ साल भाद्र ७ गते सप्तरी जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आर्चायको इजलाशले पलिया माथि घरेलु हिंसा भएको ठहर गर्दै अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको थियो।

आदेशमा पीडित महिलालाई बस्न, खान, लगाउन दिनुपर्ने दाइजो माग्ने र कुटपिट गरि यातना दिने काम नगर्न आदेश दिएको थियो। आरोपितहरूले घरमा पस्न नदिएको उल्टो थप दाइजो माग्ने, विवाह र जन्म दर्ता बनाइ दिन आलटाल गरि यातना दिने काम अझै भइरहेको पलियाको दुखेसो छ।

“न त उनीहरुको विवाह दर्ता भयो, न त धार्मिक विधी अनुसार मौलाना, कारी वा हाफिजले “तलाकनामा” गराएका छन्। उनले भने, ‘धार्मिक कानुनको औपचारिक हैसियत नभएको फाइदा आशिक परिवारले लिन खोजेका छन्।”

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार महिला हिंसाक‍ो मुद्दा आर्थिक वर्ष २०७७/०७८ मा ८६, २०७८/७९ मा ६० तथा ०७९/०८० मा ९७ मुद्दा दर्ता भएको छ। निवेदन लिएर आउनेको संख्या उल्लेखनीय रहेको प्रहरीको भनाइ रहेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घरेलु हिंसा बिरूद्ध आउने उजुरीमा छलफल गर्दा प्रत्येक तीन उजुरी मध्ये एकमा नागरिकता, विवाह दर्ता र छोराछोरीको जन्मदर्ता परिवार र श्रीमानले नबनाई दिएको विषय उठ्ने गरेको प्रहरीको भनाइ रहेको छ।

राजविराज नगरपालिकाका प्रवक्ता राजविराज नगरपालिका-८ का वडा अध्यक्ष जयनारायण मण्डलले नेपाल सरकारले ५ वर्ष मुनिका बालबालिकालाई दिँदै आएको पोषण भत्ता सुविधा लिनका लागि समयमा जन्मदर्ता बनाउन आएपनि पोषण भत्ता लिन नचाहेकाले र यश विषयमा ज्ञान नभएकाले अहिलेपनि समयमा विवाहदर्ता तथा जन्मदर्ता नबनाउने गरेको बताए।

श्रीमान् घर परिवारसँग सम्बन्ध बिग्रिन थालेपछि वा बिग्रेपछि खासगरी महिलाहरू विवाहदर्ता तथा जन्मदर्ताका लागि वडा आउने गरेको उनले बताए। विवाहदर्ता तथा बालबालिकाको जन्मदर्ता समयमा बनाइएन भने महिलाले नै सास्ती ब्यहोर्नु परेकोले विवाह भएको ३५ दिन भित्र विवाहदर्ता र बालबालिकाको जन्मदर्ता अनिवार्य बनाए। यस्ता समस्या न्यूनीकरण हुने विश्वास वडा अध्यक्ष मण्डलको छ।

विवाहदर्ता र जन्मदर्ता समयमा नबनाएकै कारण अहिलेपनि जिल्लाका कै महिला र बालबालिका आफ्नो सम्पतिविहीन भएर पीडित र प्रताडित हुनुपरेको नागरिक समाज सप्तरीको अध्यक्ष थानसिंह भंसालीले बताए।

उनले भने,´समयमा बुद्धि पुर्याए विवाहदर्ता र जन्मदर्ताबाट कसैले बन्चित हुनुपर्दैन। यसतर्फ महिला सचेत हुन एकदमै जरुरी रहेको उनको भनाइ छ।

महिलाहरू अनिवार्य रूपमा शिक्षित भएर आत्मनिर्भर हुनुको साथै हाम्रो व्यबहारिक जीवनमा अति आवश्यक कानुन जान्न र त्यसलाई व्यबहारमा प्रयोग गर्न आवश्यक भएको परिकल्पना नेपालका उपाध्यक्ष एवं अधिकारकर्मी सुनिता परियारले बताइन्। उनले भनिन्, ´महिलाहरूले जान्न नखोजेर नजानेर पनि समस्या भएकोले जान्ने महिलाले सहयोगीको भावना निर्वाह गर्नुपर्ने जरुरी छ।

यस सम्बन्धमा मधेस प्रदेशका कानुनी अधिकृत अस्मिता थापाले मधेसमा महिलाको नागरिकता,विवाहदर्ता वा बच्चाहरूको जन्मदर्तामा अहिलेपनि धेरै समस्या रहेको बताइन्। उनले भनिन्,´यसको मुख्य कारण भनेको अशिक्षा, गरिवी समाजिक संरचना हो। हामीसँग आउने मुद्दाहरूमा सबैभन्दा बढी महिला हिंसाको मुद्दा रहेको छ।

अधिकांश महिलाहरूले श्रीमान,घरपरिवारलाई विवाहदर्ता,नागरिकता,जन्मदर्ता बनाईदिन भन्दा परिवारका सदस्यहरूबाट शारीरिक मांसिक यातना भोग्नुपरेको छ। कतिपय महिलाहरू घर निकाला भएर आउने गरेका छन्। कतिपय यसै कारण सम्बन्ध बिच्छेद गर्ने अवस्थामा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *