दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला

डिसी नेपाल
२९ कार्तिक २०८० ६:२४
32
Shares

काठमाडौं। दिदी बहिनी नहुनेका लागि आजका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गर्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौं महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए। यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम रहेको जनाइएको छ।

खञ्जनेश्वर महादेवमा भक्तजन

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ” उनले भने।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । आठ वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि २०७७ सालसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो।

बालगोपालेश्वर मन्दिर भूकम्पपछिदेखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *