शेष घले प्रमुख संरक्षक रहेको एनआरएनएमा आवद्ध हुने एनआरएनए युकेकाे निर्णय

डिसी नेपाल
३ मंसिर २०८० २१:२१

लन्डन। एनआरएनए युकेले आफ्नो’रोडम्याप’ सार्वजनिक गरेको छ । शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम गाहामगरले भावी कार्यक्रमबारे जानकारी दिँदै आफ्ना प्राथमिकता सार्वजनिक गरेका हुन्।

उनले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन दूतावासबाट शुरु गर्ने, अब डा. शेष घले प्रमुख संरक्षक रहेको एनआरएनएसंग आवद्ध हुने, च्यारिटी डिनर गर्ने लगायत जानकारी दिंदै ७० हजार पाउण्ड व्यक्तिका नाममा ट्रान्सफर र एनआरएनए यूकेको आर्थिक घोटालासम्बन्धि मुद्दा खारेज भएको सम्बन्धमा उठेका जिज्ञासाबारे समेत स्पष्टीकरण दिए ।

‘संस्थापन एनआरएनएभित्रको फुट, त्यसका भ्रष्ट र विकृत पदाधिकारी, खस्कंदो साख, संस्था सञ्चालनमा एकलौटी तथा संघलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्ने क्रम बढेपछि एनआरएनए यूकेले माथिका विकृति विसंगतिविरुद्ध लडिरहेको र डा. शेष घलेको प्रमुख संरक्षकत्वमा हुर्किरहेको एनआरएनएमा आवद्ध हुने निर्णय गरेको छु,’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त संस्थाले हाम्रो वंशजको नेपाली नागरिकता निरन्तरता एजेण्डालाई प्रमुख मुद्दा बनाएर बढ्ने भएकाले हामी उहांहरुसंग सहकार्य र आवद्ध हुने निष्कर्षमा पुगेका हौं।’

अध्यक्ष गाहामगरले बेलायतमा पढ्न आएकी २१ वर्षीया सदीक्षा तामाङको निधनपछि उनको अन्त्येष्टीका लागि उठाइएको १० हजार ५४५ पाउन्ड ३६ पेन्स  (करिब १७ लाख रुपैयां) चन्दा उपाध्यक्ष (वर्खास्त) सुनिलबाबु खड्काले कब्जा गरेको समेत आरोप लगाए ।

‘गत ७ जुलाईमा संकलित चन्दा सार्वजनिक गरेपछि सुनिलबाबु खड्काले ‘त्यो पैसा हाम्रो हो’भनेर बैंकलाई निवेदन दिए । अहिले एचएसबीसी बैंकले विवादका कारण खाता ‘सस्पेन्ड’ गरिदिएको छु’, गाहामगरले भने, ‘मैले बैंकलाई १४ पटक इमेल गरेपनि पीडितको हातमा सहयोग पुगेको छैन् । एकजना दिवंगत मान्छेको नाममा पीडितलाई उठाइएको चन्दा पनि जानीजानी रोकिदिएर सुनिलले ठूलो पाप गरे । अब हामी कानूनी उपचार खोज्नुबाहेक विकल्प रहेन।’

गत ४ अगष्ट २०२१ मा नयां कार्यसमिति निर्वाचित भएपछि च्यारिटीको ट्रष्टी अध्यक्ष प्रेम गाहामगर थिए । तर, सुनिलबाबु खड्काले नक्कली कागजात पेश गरि च्यारिटी कमिसनमा आफ्नो नाम ट्रष्टी चिअरमेन बनाइ आफूलाई च्यारिटीको ट्रष्टी अध्यक्ष र महासचिव नम्रता घले गुरुङलाई ट्रष्टीबाट हटाएपछि बैंकले खाता निलम्बन गरेको गाहामगरको भनाइ छ ।

उनले एनआरएनए यूकेको च्यारिटी पैसा अहिले पदविहीन सुनिललाई रोक्न कसले दियो भन्ने प्रश्न गर्दै खड्काले एनआरएनए यूकेलाई च्यारिटी संस्थामा दर्ता गर्दा ठेगाना आफ्नै घरको दिएको पनि बताए ।

अध्यक्ष गाहामगरले वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन हुनुपर्छ भनेर एनआरएनए यूकेले अभियान थालिसकेको र यसलाई थप सशक्त बनाउने पनि उद्घोष गरेका छन् । आन्दोलन लन्डनस्थित नेपाली दूतावासबाट शुरु गर्ने उनको चेतावनी छ ।

‘गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीहरुका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन हामीले सशक्त आन्दोलन गर्नुपर्ने आवश्यकता देखिएको छ । हाम्रो यो आन्दोलन अब विश्वभरका नेपालीहरुको सहकार्यमा अगाडि बढ्नेछ । यसमा पत्रकारमित्रहरुबाट साथ सहयोग रहनेछ भन्ने अपेक्षा गरेका छौ’ उनले भने ।

गोर्खा सैनिक तथा उनीहरुको परिवार र विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न र गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकता निरन्तरता हुने गरि कानून संशोधन गर्न एनआरएनए यूकेले नेपाल सरकारसमक्ष विगतदेखि नै जोडदार माग राख्दै आएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *