मेची बगरमा युवाले फलाए ८६ लाखको आलु

डिसी नेपाल
२६ मंसिर २०८० २०:१०
40
Shares

झापा । दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले रु ८६ लाखको आलु फलाएका छन् ।

मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए । फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रुपमा आलु उत्पादन भएको हो ।

आधुनिक प्रविधिबाट रु ४५ लाख लगानीमा आलु खेती गरेको सञ्चालक खनालले जानकारी दिए । उहाँका अनुसार हाल एक कट्ठा जमिनमा लगभग ११ क्विन्टलका दरले आलु उत्पादन भएको छ । आलु खन्ने, रोप्ने, गोड्ने र सिँचाइका लागि ४५ जना श्रमिकले दैनिक रोजगारी पाइरहेका छन् ।

फार्ममा उत्पादित पहिलो यामको सेतो आलु खन्ने र बिक्री गर्ने काम धमाधम भइरहेको छ । एघार बिघामा दुई हजार तीन सय ३२ क्विन्टल आलु फलेको र विर्तामोडलगायत झापाका विभिन्न बजारबाट खेतमै आउने व्यापारीले प्रतिक्विन्टल रु तीन हजार सात सयका दरले आलु किनेर लैजाने गरेको खनालले जानकारी दिए ।

आलु व्यापारीले फार्मबाट प्रतिकेजी रु ३७ का दरले लैजाने गरेको उक्त आलु हाल खुद्रा बजारमा प्रतिकेजी रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्गानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालकको भनाइ छ ।

गत वर्ष भारतको मणिपुरबाट आएर झापामा जग्गा किनेका एक प्रवासी नेपालीसँग लीला खनालको भेट भएको थियो । ती प्रवासी नेपालीले आफूले मणिपुरमा आलु फलाएर बेचेको पैसाले जग्गा किनेको खनाललाई बताएका थिए । आलु बेचेर जग्गा जोड्ने कुराले आलु खेती गर्ने प्रेरणा मिलेको खनालले बताए । त्यसपछि आलु खेतीको सम्भाव्यताबारे मणिपुर, आसाम र पञ्जाबसम्म पुगेर खनालले अध्ययन अवलोकन गरेका थिए ।

खनाल पाँच वर्ष कोरियामा वैदेशिक रोजगारीमा गएका थिए । विदेशबाट फर्केपछि उनी परम्परागत कृषि कर्मसँगै घडेरी व्यवसायमा लागेका थिए । अब पूर्णकालीन कृषि व्यवसायमा लाग्ने उनको सोच छ ।

आलुले राम्रो उत्पादनसँगै नाफा दिएपछि फार्मका अर्का सञ्चालक हरि नेपाल उत्साहित छन् । “पहिलोपटक लगाएको आलुमै सोचेभन्दा राम्रो आम्दानी भयो”, उनले भने, “आउँदो साल अहिलेको तुलनामा दोब्बर जग्गामा आलु खेती गर्ने सोच बनाएका छौँ । अरु बाली पनि आशलाग्दो रुपमा फष्टाइरहेको छ ।”

उनी पनि विगतमा तीन वर्ष मलेसियामा वैदेशिक रोजगारी गरेर फर्केका हुन् । विदेशमा रहँदा उनले मलेसियाको कृषि फार्मको अध्ययन गरेका थिए । विदेशबाट फर्केपछि मेचीनगरमा अमृत डेरी स्थापना ग्रको उनले विगत चार वर्षदेखि आफूलाई कृषि व्यवसायमा केन्द्रित गरेका छन् ।

विदेशबाट फर्केका र कृषिमै केही नयाँ काम गरौँ भन्ने सोच बोकेका खनाल र नेपालले यसै वर्ष साझेदारीमा मेचीनगरको वडा नं १० र १५ मा जग्गा लिजमा लिएर ठूलो मात्रामा तरकारी खेती सुरु गरेका हुन् ।

“अहिले आलु फलेको ठाउँ मेची नदीको काँसघारी रहेको बगर जग्गा हो”, फार्ममा सञ्चालक नेपालले भने, “स्थानीय विद्यालय र केही किसानको स्वामित्वको जग्गा भएकाले उहाँहरुसँग सम्झौता गरेर लिजमा जग्गा लिँदा यहाँ बाली उत्पादन होला भनेर कसैले पत्याएका थिएनन् ।”

काँसघारी फँडानी गरेर ट्र्याक्टरले बाँझो फुटाएको उक्त जग्गा सीमानाको दशगजामै जोडिएको छ । कतिपय जग्गामा बर्खामा खोलाको भेल पस्ने त्रास छ । काँसघारीलाई उर्बर जमिनमा परिणत गर्न निकै मिहेनत र लगानी खर्च भएको नेपालले बताए ।

फार्मका कृषि प्राविधिक विमल तामाङले बगरको मिश्रित दोमट माटोमा उर्बरा शक्ति धेरै हुने भएकाले आलुखेतीका लागि उक्त जग्गा चयन गरिएको बताए । उनले फार्ममा गोबर र तोरीको पिनालाई मलको रुपमा अत्यधिक प्रयोग गरिएको जानकारी दिए ।

फार्मले स्थानीय कालिका प्राथमिक विद्यालयको ८६ बिघा र स्थानीयवासीको २२ बिघा गरी एक सय आठ बिघा जग्गा लिजमा लिएको हो । सोमध्ये ११ बिघामा आलु खेती र अढाइ बिघा जग्गामा फर्सी खेती गरिएको छ । अन्य जमिनमा लौका, टमाटर, फूलकोपीलगायतका तरकारी लगाइएको छ ।

बर्सातको समयमा मेची नदीमा आउने बाढीले पु¥याउन सक्ने क्षति फार्मको सबैभन्दा ठूलो चुनौती हो । स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट फार्मले हालसम्म कुनै अनुदान लिएको छैन । नदीमा तटबन्धन र फार्मसम्म विद्युतीय प्रसारण लाइन पु¥याइदिन स्थानीय सरकारसँग आग्रह गरिएको सञ्चालक खनालले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *