हतुवागढीको माइबेनी ओझेलमा

डिसी नेपाल
२ माघ २०८० ११:१०
20
Shares

भोजपुर। भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ। धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो।

समुद्री सतहबाट एक सय ५३ मिटर उचाइमा रहेको यो स्थान हतुवागढी–९ हसनपुरमा रहेको छ। दूधकोशी र अरुण नदीको सङ्गमस्थलमा रहेको माइबेनीमा दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

दशक अघिसम्म यहाँ भव्य मेला लाग्ने गरेको भए पनि पछिल्लो समय मेला लाग्न छाडेको स्थानीय ७० वर्षीय अशोक राईले बताए। यहाँ कात्तिक पूर्णिमा र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ । माइबेनीमा दर्शन गर्न तथा मेला भर्न भोजपुुर, उदयपुर, धनकुटालगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन्।

“यो पूर्वको एक प्रसिद्ध धार्मिकस्थल हो”, उनले भने, “यसको निकै ठूलो धार्मिक महत्व छ । यहाँ दर्शन गर्नका लागि देशका विभिन्न ठाउँबाट आउने गर्दथे । तर पछिल्लो समय यो स्थान ओझेलमा परेको छ ।” खासगरी मानिस माइबेनीको दर्शनसँगै नदी पूजा गर्नका लागि यहाँ आउने गरेको राईले बताए।

माइबेनीको विकास तथा संरक्षणका लागि ध्यान दिँदै आएको हतुवागढी गाउँपालिकाले जनाएको छ । यहाँ पुग्नका लागि कोप्चेबाट अप्ठयारो ठाउँमा पदमार्ग निर्माण तथा मन्दिरको संरक्षणसँगै घेराबारा गरिएको छ।

माइबेनी क्षेत्रको बृहत्तररूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। यसलाई गाउँपालिकासँगै जिल्लाको मुख्य धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना छ।

माइबेनीबाट किरातको आस्थाको केन्द्र खुवालुङ, अरुण, दूधकोशी र तमोर नदीको सङ्गमस्थल त्रिवेनी तथा बराहक्षेत्र नजिकै पर्ने भएकाले यसको बृहत्तर विकासमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ। यो क्षेत्रलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने योजना छ।

हिउँदको समयमा अरुण नदीमा जेटबोट चल्ने भएकाले यहाँसम्म पुग्न सहज भए पनि वर्षात्को समयमा भने आवतजावतमा समस्या छ।

यसको नजिकै दूधकोशीपारि उदयपुरको वेलका नगरपालिका–७ र अरुण नदीपारि धनकुटाको सहिदभूमि–१ पर्छ । यो तीन जिल्लाको संगमस्थलका रुपमा रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *