लोकतान्त्रिक गणतन्त्रलाई कसरी बलियो बनाउने?

कृष्ण बोहोरा
२२ माघ २०८० ७:१८

नेपालको हालको अबस्थालाई हेर्ने हो भने गणतान्त्रिक र लोकतान्त्रिक देशको म नागरिक हुँ भनि गर्भ गर्ने ठाउँ देखिँदैन। हिजो दश बर्षे जनयूद्ध र उन्नाइस दिने जन आन्दोलनमा समेत धेरैले रगत बगाए। रगत बगाउने सहिदहरुका सपना, के पूरा भयो त? भनि प्रश्न गर्ने ठाउँ जता ततै छ।

हिजो लड्ने भिड्ने तल्लो तहको कार्यकर्ताको दिनचर्या जस्ताको तस्तै छ। यसको मतलव किसान, मजदूर र सिमान्तकृत वर्गको हालत झन् झन् नाजुक हुँदै गैरहेको छ।

उपल्लो स्तरका राजनीतिकर्मी, ठूला कर्मचारी, सेना र प्रहरीका पनि माथिल्लो ओहदाका कर्मचारी र ठूला ठेकेदार, काला बजारी, बिचौलिया र तस्करी गर्नेहरुको दिन, दुई गुना र रात चौगुनाका दरले जीवन स्तर आकासिँदो छ।

हिजो एउटै थालमा खाएकाहरु आज वोल्न पनि हम्मे हम्मे पर्ने अबस्था आईसकेको छ। किनकी अब उही समकालिन आफ्ना साथीहरुलाई पनि चाकडीको भाषा चाहिने भैसकेको छ। यसको लक्षण यो हो की दलाल पूजीवाद हावी भएको छ।

देश भित्र रोजगारी छैन। रोजगारीका लागि यूवाहरुको ठूलो संख्या अन्तर्राष्ट्रिय बिमानस्थलमा दिनुहु लामवद्ध छ। देश यूवा विहीन भैरहेको छ। जसको कारण हाम्रो देश नेपाल बच्चा र बृद्धहरुको देश बनिरहेकोछ।

राजाको कालमा भएको उद्योग धन्दा कलकारखानाहरु अधिकांश बन्द भए, केही कौडीको दाममा बेचेर भ्याइसकियो। ठूला कर्मचारी ठूला नेता को काम राज्य दोहन गर्ने र व्यक्ति मोटाउने धन्दामा केन्द्रित छ। यसैले राजतन्त्रबादीहरुले संसदमा कुरी कुरी गर्दा हाम्रा क्रान्तिकारी नेताहरु शिर निहुरियाएर तलतिर हेर्ने भएका छन्।

संसदमा केहि नयाँ अनुहारहरु पनि देखिएका छन्। तर थाहा छैन उनीहरुले पनि भविष्यमा के गर्लान्? आजका पुराना पार्टीहरु हिजो नयाँ थिए। उनीहरुसँग पनि जनताको ठूलो बिश्वास र भरोसा थियो।

अव जनताको मन मनवाट त्यो धुमिल भैसक्यो। नयाँलाई तिमीहरु पनि हामी जस्तै हौ भनी सावित गर्न पुरानाहरु जोडवलले लागेका पनि छन्। किनकी उनीहरुलाई पनि आफुले खाईपाई आएको अरुले भाग नखोसुन भन्ने छ।

यस्तो चिन्ता हुनु स्वभाविक पनि हो। किनकी तल्लो स्तरको जनावरमा त हड्डी अर्काेले खोसिँदेला की भन्ने चिन्ता हुन्छ। उनीहरु त यो देशका सबैभन्दा ठूला मानिसहरु हुन्। यसैले अनौठो कुरा त होइन नि!

अब यस देशको भाग्य र भबिष्य कसले बदल्ला त? कसले बदल्ला भन्दै गर्दा सर्बसाधारण नागरिकहरुले हरेक सवालमा चनाखो हुनु आबश्यक छ। हरेक बिकृति बिसंगति र अनियमितता बिरुद्ध आवाज उठाइरहनु अनिवार्य छ। लोकतांत्रिक गणतन्त्रको जग मजवुत बनाउने हो भने राज्य संचालकले निम्न कुराहरुमा ध्यान दिनु आवश्यक छ।

 एकले अर्कोलाई सिध्याउने खेल

संसदमा भाग लिएका दलहरु सबैको लक्ष संसदीय व्यस्थालाई सफल पार्ने भन्ने हो। हिड्ने बाटाहरु फरक हुन सक्छन पुग्ने ठाउँ एउटै हो। एकले अर्कोलाई सिध्याउने खेलमा लाग्नु पार्टीहरुको धर्म हो भन्ने लाग्दैन। बरु पक्ष विपक्ष एक अर्काका परिपुरक हुन्। एकले गरेका गलत कामहरु अर्को पक्षले देखाइदिने हो।

रचनात्मक प्रतिपक्ष हुनुपर्ने हो। सिद्धान्तमा त यो कुरालाई, सबैले वुझेका छन तर व्यवहारमा यो देखिँदैन। विपक्षीले राम्रा नराम्रा सबै कुरामा बिरोध गरिरहेको हुन्छ। पक्षले प्रतिपक्षको कुनै मान्यता नराखेको देखिन्छ। कसरी हुन्छ सरकार ढाल्ने खेल तिर जादा अस्थिरता यो देशको नियती बनिरहेकोछ। यसलाई सच्याउनु जरुरी छ।

 राम्राको सर्मथन र प्रोत्साहन

राम्रा कुराको पार्टी भित्र र बाहिर पनि समर्थन गर्नु प्रोत्साहन गर्नु आवश्यक छ। नराम्रा र खराब पक्षेको आफ्नै पार्टी भित्र पनि कुनै सम्झौता विना विरोध गर्नु आवश्यक छ।

यसबाट जानेर गरेको गल्ती मुन्टो उठाउन नसक्ने गरी नामेट भएर जानेछ। यस विधीलाई नीतिगत रुपमै पार्टीहरुले लागू गर्ने हिम्मत गर्नुपर्छ। यदि अगाडि बढ्ने हो भने यो आवश्यक छ। नत्र पार्टीहरुले आफूलाई सुधार्न नचाहेको कुरा प्रमाणित हुन्छ।

देश भित्र रोजगारीको अवसरको सिर्जना

जतिसक्दो छिटो देश भित्र रोजगारीको अवसरहरुको सिर्जना गर्नु आवश्यक छ। यसका लागि उद्योग र कल कारखाना खोल्ने कुरालाई बढावा दिनुपर्दछ। हिमाल पहाड तराईमा के के उत्पादन हुन्छ?

त्यो त्यही उत्पादनसँग सम्बन्धित उद्योगहरु भए वेस हुन्छ। जस्तै हाम्रो देशमा धान, मकै, कोदो जस्ता अनाजहरु उत्पादन हुन्छन्। फलफूल र जडिबुटीहरुको उत्पादन हुन्छ। कतै भेडा च्यांग्राको उत्पादन हुन्छ। जहाँ जे छ त्यसैसँग सम्बन्धित उद्योग समूदायको स्वामित्वमा खोल्ने कुरालाई वढावा दिए राम्रो हुन्छ।

 गाँजा र घरेलु रक्सीलाई बैधता

संसदमा समेत उठिसकेको आवाज  “गाजा खेती “लाई वैधानिक गराई यससँग सम्वन्धित उद्योगहरु स्थापनामा जोडदिनु आवश्यक छ। गाँजाबाट औषधी, कपडा, जुत्ता, र अनेक प्रकारका बस्तुहरु बन्न सक्ने कुरा बिज्ञहरु बताउँछन्। गाजा खेतीबाट हुन सक्ने लाभ राज्यले लिन ढिला गर्नुहुँदैन।

यस्तै घरेलु मदिरा नष्ट गर्ने र बिदेशी मदिरा वेरोकटोक सेवन गर्न दिने कुरा राज्यले गर्दै आएको छ। यस्तो कार्यलाई तुरुन्त रोकी घरेलु र स्थानिय रुपमा उत्पादित रक्सीलाई ब्राण्डिङ गरि उत्पादन अनुमति दिने कार्यमा संघिय राज्य संयन्त्र नै लाग्नु आवश्यक छ। यसबाट अरवौं डलर बिदेश जानवाट बच्दछ। जनता धनी बन्नेछन्। जनता धनी बन्नु भनेको देश धनी बन्नु हो।

अनुसन्धान नवप्रबर्धन र आबिष्कारलाई बढावा

जति धेरै अनुसन्धानहरु भयो उती धेरै आबिष्कारको बाटो खुल्छ। जति नयाँ नयाँ बस्तुहरुको आबिष्कार भयो उती यसको उपयोग समाजले गर्दै जान सक्छ। बिज्ञान र प्रबिधिले मानवीय कामलाई सजिलो बनाउने भएका कारणले यसको उपयोग र माग स्वदेश र बिदेश सबै ठाउँमा उतिकै हुनु स्वभाबिक हुन्छ।

जसबाट देश यस्ता बस्तुहरुमा आत्म निर्भर हुने मात्र हैन कि, यस्ता बस्तुको निकासीबाट मूनाफा आर्जन गर्न समेत सकिन्छ। यसैले डा. महावीर पुनले बिकास बजेटको १ प्रतिशत अनुसन्धानमा छुट्याउनु पर्छ भन्ने माग केही महिना अघि सरकार समक्ष राख्नुभएको थियो।

सरकारसँग सम्झौता भई माग पूरा भयो भन्ने सम्मको कुरा आएको हो। जुन एक प्रतिशत छुट्याउने बचनबद्धता थियो, त्यो एक प्रतिसतमा कन्जुस्याई भयो भन्ने कुरा बाहिर आएको छ।

यस्ता कुरामा सरकार स्वयमले धक फुकाएर खर्च गर्नुपर्ने हो। कसैले कर लगाउनुपर्ने बिषय नै होइन। बिकसित देशहरुमा यस्तो नीति पहिलेदेखि नै विद्यमान छ। यसमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ।

राज्यको विद्यमान संरचना

राज्यका संरचनाहरु जती वैज्ञानिक हुन्छन त्यती छरितोसँग जनताका काम र सेवा सम्पन्न हुन्छन्। जनताका काम जती सजिलोसँग सम्पन्न भयो, त्यति लोकतन्त्र र गणतन्त्र बलियो हुने हो। यसरी हेर्दा प्रदेशहरु वेतुकमा राज्यको आर्जन खर्च गर्ने माध्यम वनेको जस्तो भान भएको छ।

कुनै काम नभएको प्रदेश संरचना खारेज गर्दा सबैको भलो हुने देखिन्छ। पालिकामा पनि नागरिकका नागरिकता प्रमाणपत्र बन्ने, जग्गाको लालपुर्जा त्यही वन्न सक्ने र मालपोत(तिरो) तिर्न सकिने जस्ता सेवाहरु थप भए राम्रो हुन्छ। यस्तै जिल्ला समन्वय समितिले के काम गर्छ? त्यो देखिने गरी केहि छैन। यसले पालिकाहरुको समन्वय गरेको पनि पाइँदैन।

यसैले आवश्यक संरचनालाई कामकाजी बनाउने र अनावश्यकलाई हटाउनुनै उचित हुन्छ। फाल्टु खर्च गरेर यस्ता संरचना राख्नु भनेको सेतो हाती पाले सरह हो। कुनै वेला आवश्यक होला भनेर राखियो। आवश्यक नदेखिए पछि हटाउनु बैज्ञानिक सोच हो।

कसैले केही भन्ला की भनी लाज मान्नुपर्ने आवश्यक छैन। मानिसले काम गर्दै जाने भुल सुधार गर्दै जाने प्रक्रियावाट नै समाज आजको उन्नतीको शिखरसम्म आइपुगेको हो। यसमा वादविवाद र रस्साकसी गर्नु कुनै जरुरी नै छैन।

 आयात निर्यातमा आवश्यक कानून

देश भित्रै पर्याप्त उत्पादन हुने वस्तुहरु विदेशबाट आयात गर्ने कुरामा प्रतिबन्ध लगाइनु पर्दछ। अथवा यस्ता विदेशी वस्तुहरुमा करको मात्रा अत्यधिक वढाई आयात निरुत्साहित गरिनुपर्दछ।

जस्तै तरकारी र फलफूलमा नेपाल अहिले पनि आत्म निर्भर हुन सक्छ। नेपाली किसानलाई निरुत्साहित गर्दै लाखौं टन तरकारी फलफूल भारतबाट आयात हुने गरेको छ। यस्तो कार्यलाई तुरुन्त रोक्नु पर्दछ। यो काम गर्न ढिला भइसकेको छ।

 राष्ट्रियता र राष्ट्रिय स्वार्थ

छिमेकीले सिमाना मिचिरहेको छ। राज्य टुलुटुलु हेरेर वसिरहेकोछ। देशका नदी नालाहरु प्रत्येक पटक हाम्रो देशको सरकारले छिमेकीलाई सुम्पने गर्दछ । राष्ट्र र राष्ट्रिय स्वार्थमा आँखा चिम्लने राज्य संचालक भएमा लोकतन्त्र र गणतन्त्र बदनाम सिवाय केहि हुने छैन। यसैले यो मामिलामा सजक हुनु आवश्यक छ ।यसकोलागी कमसेकम सेनालाई सिमा क्षेत्रको सूरक्षाकोलागी खटाउनु आवश्यक देखिन्छ।

भरपर्दो सूचना संयन्त्र

आजको दुनियाँमा सूचना संयन्त्र चुस्त दुरुस्त र भरपर्दो हुनु आवस्यक छ।यसले समाज र देसलाई अगाडि वड्न भरपुर मद्दत गर्दछ। सूचना संयन्त्र भित्र जासूसी संस्थाहरु पनि पर्दछन।जासूसी संस्थाको मूख्य उद्देस्य आफ्नो देसको स्वार्थलागि काम गर्नु हो।यस्तो संस्थाका कर्मचारीहरु देसभक्त हुनु अति जरुरी छ।

उनीहरुको पहिलो योग्यता नै देस भक्त छकी छैन भन्ने हो?दोश्रोमा सूचना संकलन गर्न सक्ने क्षमता हो।आफ्नो देसको गोप्य सूचनाहरुको सुरक्षा गर्ने र अरुको सूचना थाहा पाउने क्षमता उनीहरुसंग हुनुपर्छ।पैसा खाएर देसको सूचना बेच्ने गद्दारहरुले देसको अस्मिता लुटाउछन।

यसैले यस कर्मको लागि हामीले पृथ्वी नारायण शाहलाई सम्झनुपर्छ।नेपाली जासुसहरुको खुवी उवेलामा भरपर्दो नभएको भए,दुई चार खुकुरी,तरवार र भरुवा बन्दुक मात्र बोक्ने सेनाले, अंग्रेजहरुसंग सिन्धुली गढीको युद्ध जित्न सक्ने थिएन।हुन त हामी ऐले युद्ध कालमा छैनौ।

नभए पनि नेपालको अहितमा ऐले पनि बिदेसीहरुद्वारा उनीहरुको स्वार्थ सिद्दीको कामहरु भैरहेको छ।देसको अवस्था परिवर्तन गर्न नसक्नुको एउटा मुख्य कारण यो पनि हो।यसैले हामीले यस माम्लामा पृथ्वीनारायण शाहवाट सिक्नुपर्छ।पृथ्वी नारायण शाहवाट सिक्नु भनेको राजसंस्थालाई समर्थन गर्नु हैन।नेपाल र नेपालीको शीर उचो राख्न उनले के के गरे त्यसको जगेर्ना गर्नु हो।अग्रजहरुवाट देस हितको कुरा सिक्दा हामीलाई घाटा हुदैन नाफा नै हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *