पृथ्वी सीपकेन्द्र र सीपशक्ति

खगेन्द्रराज सिटौला
१९ वैशाख २०८१ ११:३९

‘आफ्ना देशका कपरा बन्न जान्यालाई नमुना देखाइ सधाउनु र बन्न लगाउनु’। सीपयुक्त दक्ष जनशक्तिलाई श्रमशक्तिमा रुपान्तरण गरेर उत्पादन र विकासमा मुलुकलाई छिटै अगाडि बढाउन सकिन्छ भन्ने नेपाल राष्ट्रका निर्माता एवं बडानेता पृथ्वीनारायण शाहको दृढ मान्यता माथिको उक्तिबाट थाहा हुन्छ।

जनतालाई वैज्ञानिक प्रविधि सिकाउनु, अरुबाट समेत सिकाउनु, आफैंबाट पनि सिक्नु र त्यो सीप आफ्नो र राष्ट्रको समृद्धिको लागि लगाउनु भन्ने पुथ्वीविचारको अर्थ छ महत्व छ।

दुईमत छैन राष्ट्रलाई सम्पन्न बनाउन दक्ष जनशक्ति चाहिन्छ। दक्ष जनशक्ति भएन भने राष्ट्रले विकासको लक्ष्य भेट्न सक्तैन। त्यस्तै जनतामा शिक्षा,सैद्धान्तिक तथा व्यवहारिक दक्षता भएन भने पनि स्वयं नागरिक पनि सक्षम र सम्पन्न हुन सक्तैनन्।

नेपालका बडानेता पृथ्वीनारायण शाहले धेरै वर्ष अगाडि बुझेको यथार्थतालाई पच्छ्याउदै चीनका नेता तेङ स्याओ पिङले विकासको लागि सीप सिकाउन आफ्ना देशका धेरै युवाहरुलाई अमेरिका तथा अन्य पश्चिमा मुलुकहरुमा पठाएका थिए।

सीप सिकेका युवाहरुले सम्पन्न चीन बनाउन निकै ठूलो योगदान दिएका छन्। यसबाट जनतालाई सीप सिकाउनुकोे अर्थ र महत्व बुझ्न सकिन्छ पृथ्वीनारायण शाहको।

सीप सिकाउनुलाई व्यापक अर्थमा लिनु र बुझ्नु पर्दछ। विकासका व्यापक क्षेत्रलाई सम्बोधन गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने सवालसँग जोडिएको छ सीपको सवाल। वैज्ञाानिक शिक्षा होस् कि व्यवसायिक शिक्षा होस् अथवा व्यवहारिक वा प्राविधिक सबै सीप सिकाउनु भित्र पर्दछन्।

अल्पकालिन होस् कि दीर्घकालीन सबै तालिम सीप सिकाई भित्र पर्दछन्। सबै क्षेत्रमा दक्ष नागरिक तयार गर्ने आफ्ना दक्ष नागरिबाट आफ्नो मुलुक र स्वयं नागरिकको समेत विकास गर्ने वृहत सीप अभियानको खाचो छ नेपाललाई।

सीप सिकाउ सबै नागरिकलाई गरिखाने बनाउ। सीप अभियान आफैंमा गरिखानेवाद जिन्दावादको अभियान हो,आन्दोलन हो। स्वार्थपूर्ण राजनीतिका सडकमा पोखिने अर्थहीन जिन्दावाद र मुर्दावाद भन्दा धेरै अर्थ र महत्वको छ गरिखानेवाद जिन्दावाद।

राज्य सीप कार्यक्रम लिएर युवाहरुमा जाउ। युवाहरु संगठित भएर सीपकेन्द्र वा कार्यक्रममा जाउ। सीप सिकेर युवाहरु आफूलाई आफ्नो परिवार र आफ्नो राष्ट्रलाई धनी बनाउ।

आफूसँग भएको सीपलाई अझ तिखार्ने नभएको सीप अरुबाट लिने र त्यो सीपलाई श्रममा लाने भन्ने हो राष्ट्रनिर्माताको सीप सिकाउनुको मर्म र धर्म। विकासलाई गति दिन र दक्ष जनशक्तिको राज्यले सेवा लिन जनतामा सीप अभियान लिएर जानु अनिवार्य राष्ट्रिय आवश्यकता छ नेपालमा।

यो आवश्यकता पूर्ति गर्नको लागि व्यवस्थित, व्यवहारिक, वैज्ञानिक र नियमित सीप अभियानका रुपमा सिकाउन अव राज्यले ढिला गर्न हुँदैन। तसर्थ सीपको महत्व बुझ्ने र जोडदिने आधुनिक नेपालका बडानेता एवं राष्ट्रनिर्माता पृथ्वीनारायणको सोच, काम र नामको सम्मानमा राज्यले, सरकारले पृथ्वी सीप केन्द्र खोलेर युवाहरुलाई सीप सिकाउन थालिहाल्नु पर्दछ।

केमा जोड दिने कसरी सीप सिकाउने भन्नेमा राट्रिय बहस थालिहालौं। कृषिलाई वैज्ञानिक,आधुनिक र व्यवसायिक बनाउन नेपाललाई ठूलो सीपयुक्त श्रमशक्तिको खाचो छ।

पर्यटन होस् कि निर्माण होस्, स्वस्थ्य होस कि शिक्षा होस्, कारखानामा होस् कि यातायतमा होस् सीपयुक्त जनशक्ति नचाहिने कुन क्षेत्र छ नेपाललाई? अझ नयाँ प्रविधि र वैज्ञानिक विकासले गर्दा त यस्तो सीपयुक्त जनशक्तिको खाचो झन् धेरै बढेको छ सबैतिर।

अनुसन्धान,उत्पादन,रुपान्तरण, भण्डारण ,वितरण,व्यावस्थापन, विज्ञापन, बजारीकरण, मेसिनिकरण, आधुनिककरण, आयआर्जन लगानी आदि इत्यदि सबै क्षेत्रमा नयाँ नयाँ सीप प्रविधि आइहेका छन्।

यी सबैलाई सम्बोधन गर्नसक्ने, आएका चुनौतीको कुशलतापूर्वक सामना गर्न सक्ने सीपयुक्त जनशक्ति उत्पादनमा पृथ्वीविचारतिर कसैको ध्यान नजानाले नेपाल विकासमा यति पछि परेको हो।

अझै पनि यतातिर ध्यान गएन भने उचित सीपहीन जनको कारणले नेपाल झनै पछि परिरहने छ। तसर्थ नेपालमा सीपकरणको विकल्प छैन। कसरी सफल बनाउने त सीपकरणको राष्ट्रिय कार्यक्रमलाई?

मुलुकलाई सीपमय बनाउन राज्यले योजनाबद्ध सीप अभियानको थालनी गर्नुपर्छ। सबै क्षेत्रमा सीपको आवश्यकता जगैदेखि सीप शिक्षा भन्ने कार्यक्रम बनाएर सरकार अघि बढ्नु पर्दछ। व्यवसायिक तथा प्राविधिक शिक्षालाई तलैदेखि जोड दिनुपर्छ।

यो शिक्षा क्षेत्रको कुरो हो। यसको साथै सीपकरणलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाउन माथि भनिएको पृथ्वी राष्ट्रिय सीपकेन्द्र स्थापना गर्नुपर्दछ। यो सीप केन्द्रले राष्ट्रलाई कसरी सीपकरण गर्ने सवालमा गुरुयोजना बनाउँछ। योजना आयोगले विकासको लक्ष तय गर्छ।

सीपकेन्द्रले त्यो लक्ष्य भेटउनको लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्दछ। नेपालमा चल्ति छ एउटा भनाई पाखुरीमा सीप भए भोकै मर्नु पर्दैन। सीप सिकाउनु भनेको सबै क्षेत्रमा सिपालु बनाउनु हो। व्यवसाय चलाउने सिपालु मालिक होस, उत्पादन निकाल्न सिपालु मजदुर होस।

अप्रेसन गर्न सिपालु डाक्टर होस या अनुसन्धान गर्न सिपालु वैज्ञानिक होस। सीप नहुने र सीपले नछुने कुनै क्षेत्र छैन। खेलको मैदानमा होस कि खेत. बारीका मैदानमा होस अथवा कलामा होस,गलामा होस् कि गाईका थलामा होस सबैमा सीप आकर्षित हुन्छ। आकासमा उड्ने होस या जमिनमा गुडने होस वा टेबुलमै घुम्ने किन नहोस सीपले नछुने कुनै क्षेत्र छैन। सीपले भलो नहुने कुनै क्षेत्र छैन।

पृथ्वीविचारले अघि सारेको सीप सिकाउने विषयलाई राष्ट्रले बुझ्ने र व्यवहारमा कसरी लैजाने भन्ने चनौती वास्तवमा गम्भीर चुनौती हो। माथि भनेजस्तै सीपको क्षेत्र व्यापक छ। विज्ञान र प्रविधिमा भएको विकासले सीप शिक्षाका नयाँ.नयाँ क्षेत्रहरुको उद्घाटन भइरहेका छन्।

यसले गर्दा संभावनाका पनि नयाँ क्षेत्रहरु थपिँदै गएका छन्। यी क्षेत्रहरुले सीपमा दक्ष भएका जनशक्तिको मागलाई तीव्र बनाएका छन्। त्यसैले राष्ट्रका लागि सीपकरण गर्नुबाहेक अर्को विकल्प छैन। मुलुकलाई सीपमय बनाउन राज्यले योजनाबद्ध सीप अभियानको थालनी गर्नैपर्छ।

फेरि दोहर्याएर जोड दिनु पर्ने हुन्छ सबै क्षेत्रमा सीपको आवश्यकता जगैदेखि सीप शिक्षा भन्ने मूल नारा बनाएर शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्छ। खासगरी सीपमूलक, वैज्ञानिक, प्राविधिक,व्यवसायिक र व्यवहारिक शिक्षानीतिमा जोड दिनुपर्छ। र सीपशक्तिलाई श्रमशक्तिमा रुपान्तरण गर्नुपर्छ भने श्रमशक्तिलाई सीपशक्तिले तिखार्नुपर्छ।

श्रममा नगएको सीप र श्रममा नभएको सीपको कुनै अर्थ छैन। त्यस्तै श्रम र सीप नभएको मुलुकको पनि कुनै भविश्य छैन। श्रम र सीपको लहर चलाउनु र श्रम तथा सीपलाई कदर गर्ने संस्कृतिको विकास गर्नु भनेको राष्ट्रको विकासको पूर्वाधारको पनि पूर्वाधार हो।

अहिले नेपालको अदक्ष श्रमशक्तिलाई दक्ष श्रमशक्तिमा रुपान्तरण गर्नुपर्ने काम चुनौतीपूर्ण राष्ट्रिय आवश्यकताको प्राथमिकता हो। यो चुनौतीको सामना योजनबद्ध कार्यक्रम र संकल्पका साथ सरकारले सबै पक्षको सहयोग जुटाएर गर्न सक्नुपर्छ। यो दुई दिन या दुई वर्षमा सम्पन्न हुने काम होइन।

दीर्घकालीन योजनको साथ अघि बढ्नु पर्दछ। उच्च स्तरतको सीप बेचेर नै लामो समयदेखि नै धेरै मुलुक धनी भईरहेको हामी सबैले देखिरहेका छौं। हामी चाहीं किन सीप शक्तिको मुलुक नहुने त?

जनतालाई रोजगार, स्वरोजगारका लागि योग्य बनाएर बेरोजगारी समस्याको समाधानको पूर्वाधार तयार गर्नु भनेको नै सीप सिकाउनु हो। समयले मागेको सीप सिकाउदै लानु भनेको राष्ट्रलाई अगाडि बढाउदै लानु हो।

श्रमशक्ति र सीपशक्तिको जनशक्ति राष्ट्रको धनशक्ति हो। वास्तवमा यो हरेक राष्ट्रको मूलशक्ति हो। पृथ्वीविचारले यही भन्छ। आउनुहोस पृथ्वीविचार बुझौं। सीप सिकौं। श्रम र सीपले आपूm समेत सम्पन्न भई समृद्ध नेपाल उठाऔं

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *