हाम्रो पहिचान, नेपालीपन

कृष्ण बोहरा
१८ वैशाख २०८१ ७:४३

हाम्री बुढी बजै झ्यालबाट पर बाटातिर नियालीरहनुभएको थियो। आँखा त उहाँको कमजोरै हो। तै पनि उहाँले भन्नुुभयो, ‘त्यो परबाट आउने हाम्रो श्यामे नै हैन? हिँडाइ त श्यामेकै जस्तो छ। पक्कै श्यामे नै हो। ’

हो, मानिसको चालढाल अग्लो होचो तथा हिँडाइले मानिस को हो? ठम्याउन सकिन्छ। आँखा धमिलो देख्ने बुढी बज्यैले पनि ठम्याउनुभयो। आफ्नोपन भनेको पनि यही हो। चालढाल व्यवहार काम गर्ने शैलीमा प्रत्येक मानिसको आफ्नोपन झल्किन्छ।

हामी चाइनिज जस्तो, अमेरिकन जस्तो वा युरोपियन जस्तो कस्तो हुने हो त? विदेशीको हामी खुबै नक्कल गर्छौं नि! जन्म दिनमा ‘ह्यापी बर्थ डे टु यू’ भन्दै केक काटने गर्छौं। बलेको बत्ती पनि निभाउँछौँ। यो त विदेशी परम्परा भयो।

यसको सट्टा दियोमा बत्ती बालेर छेउमा फलफूल राखेर, छेउमा एक कतारा दही राखेर टीका र फूल लगाइदिएर आफन्तहरूलाई नेपाली स्वादका परिकार खुवाएर पनि जन्म दिन मनाउन सक्छौँ नि! यसरी जन्मदिन मनाउँदा हाम्रो के बिग्रन्छ? नेपालीपनको जगेर्ना त यसरी हुने होला नि त!

पुरै नेपालको नक्सा अनुसारको केक बनाएर त्यसलाई टुक्रा टुक्रा बनाएर सबैले बाडी खाने तरिकाबाट जन्म दिन बनाउन थालिएको पनि छ। वास्तु विज्ञहरूका अनुसार मानिसका नाम लेखी बनाइएको केकलाई टुक्रा टुक्रा बनाएर जन्म दिन मनाउनुलाई अशुभ मानिन्छ।

त्यस्तै ‘ह्यापी एनीभर्सरी’ मनाउँदा मुटु आकारको केक बनाउने चलन छ। यस्तो केक काटी टुक्रा टुक्रा बनाउँदा यसले झन् अशुभ संकेत गर्दछ। यो मुटुको टुक्रा टुक्रा पारेर सबैलाई बाँडेसरह हुन्छ। वर्षैपिच्छे यसरी ‘एनिभरसरी’ मनाउँदै जादा आपसी बेमेल सिर्जना हुन्छ।

पश्चिममा समाजमा विवाहमा बाँधिएका जोडीहरू असंख्य रूपमा डिभोर्स हुनुको कारण पनि यहि हो भन्ने भनाइ छ। यो बास्तुविज्ञहरूले प्रमाणित गरेको कुरा भयो। बास्तु विज्ञान पनि विज्ञान नै हो। यो हाम्रो पूर्वीय चिन्तन धारा पनि हो।

आर्थिक रूपमा गरिब भए पनि सांस्कृतिक रूपले ज्यादै धनी छौं हामी। यसैले त बर्सेनि लाखौँ पर्यटक नेपाल भित्रिन्छन्। उनीहरू यहाँको खोलानाला र हिमाल मात्र हेर्न आएका होइनन्। हाम्रो वेषभुषा र संस्कृति पनि हेर्न आएका हुन्। नेपालमा १ सय ४० भन्दा बढी जातजातिहरू बसोवास गर्दछन्।

उनीहरूको छुट्टाछुट्टै भेष, भाषा, संस्कार र संस्कृति पनि छ। विभिन्न किसिमका पर्वहरू छन्। दसैँ, तिहार, छठ, पूर्वमा राई लिम्बूहरूमा उभौली र उधौली पर्व, शेर्पा, तामाङ, गुरुङहरूका ल्होसार पर्व, नेपाली दसैं तिहार पर्वहरू मुख्य छन्।

पश्चिमको देउडा गीत र नाच, तराईको थारू नाच आदि छन्। हाम्रा मादले र मारुनी नाचले कति रोचक र रमाइलो बनाउँथ्यो हाम्रो गाउँघरलाई। यही हो नि त नेपालीको पहिचान।

खैजेडी भजन र लोकदोहोरी गीत लोप हुनै लागेको अवस्थामा इन्द्रेनीका कृष्ण कँडेलले लोकदोहोरी गीतको प्रचारप्रसार र जगेर्ना गर्ने काममा केही वर्षदेखि स्थायित्व दिन थाल्नुभएको छ। कृष्ण कँडेललाई सलाम छ।

नेपाली संस्कृतिलाई जोगाउने भनेको यसरी नै हो। मै हुँ डिस्को डान्सर भन्दै डिस्को हानेर त नेपाली संस्कृतिको जगर्ना के होला र? यसलाई स्वाभिमानी नेपालीले त मन पराउँदैन नै नेपाल हेर्न आएका विदेशीलार्ई पनि यसको त्यति चासो हुँदैन।

यसैले नेपालीले नेपालीपनको जगेर्ना गर्नुपर्दछ। यो विदेशीले गरिदिँदैन। कुनै विदेशीले नेपाली गीत गाएको र नाचेको पनि देख्नुभएको होला। यो उनीहरूलाई नेपालीपन मन परेर हो नि त। विदेशीलाई नेपाली संस्कृति मनपर्ने नेपालीलाई चाहिँ मन नपर्ने कहीँ हुन्छ र?

काठमाडौं उपत्यका भित्रको नेवारी नाच, काष्ठकला, मूर्तिकला र बास्तुकला विश्वमा पहिचान दिन सफल सांस्कृतिक सम्पदाहरू हुन्। कति राम्रा झ्याल र ढोकाका बुट्टाहरू र कति सिल्पी ती हातहरू पनि।

हनुमानढोका दरबार, भक्तपुरको पचपन्न झ्याले दरबार र काठमाडौंको मयुर झ्याल निकै नै प्रख्यात काष्ठकलाका नमुनाहरू हुन्। विभिन्न मन्दिरहरूका काष्ठ बुट्टे कलाहरू पनि यहाँका सांस्कृतिक संम्पदाहरू हुन्।

यसैगरी नेवारी समाजमा प्रचलित गुठी परम्परा नेपाली नेवारी संस्कृतिको अर्को पाटो हो। यसले नेवारी संस्कृति र नेपालीपनको जगेर्ना गरेको छ। यही गुठी परम्परा मास्न अलि पहिले नेपाल सरकार स्वयंले निकै कसरत गरेको पनि देखियो।

यो जानेर वा नजानेर पनि हुन सक्छ। यो नेपालीको दुर्भाग्य हो। जन्मेपछि बच्चाको न्वारन गरिदिने। अली ठूलो भएपछि जातअनुसार व्रतबन्ध छेवर वा यस्तै कर्म गर्ने। जवान भएपछि आआफ्नो परम्परा अनुसारको ढाँचामा रितपूर्वक विवाह गरिदिने हाम्रो परम्परा छ।

यो नै नेपालीहरूको पहिचान हो। यस्तै परम्परामा हाम्रा पिता पूर्खाहरू रमाए र वंशीय परम्परा धान्दै आए। हाम्रा यी नेपाली पहिचान र परम्परालाई समय परिस्थितिअनुसार आधुनिक ढाँचामा पनि हामी आफैंले यसलाई आवश्यकताअनुुसार ढाल्न सक्दछौं।

यसरी हाम्रो आफ्नो परम्परा आफ्नो पहिचान र आफ्नो पनमा रमाउँदा रमाउँदै हामीलाई राजाको शासन र यसले लिएको निरंकुश पारा मन परेन। आन्दोलनको बलमा राजा फालियो। संविधानमा नेताहरूले धर्मनिरपेक्ष राज्य भन्ने शब्द राखे।

हामीले यसलाई सहर्ष स्वीकार्‍यौं। किनकी राज्य कुनै धर्मको नाममा मात्र सापेक्ष हुँदा राज्यमा भएका अन्य धर्म र जातजातिमा भेदभाव भएको सन्देश जान्छ भन्ने रूपमा हामीले यसलाई लियौं।

हेर्दा कुरा न्यायसंगत नै देखिन्छ। तै पनि अव नेपालमा चल्दै र हुँदै आएका सनातनी अरू हिन्दू बाहेकका धर्म र जातजातिले पनि समान स्थान पाउनेछन भन्ने हाम्रो जुुन आशा थियो त्यसमा तुषारापात भएको छ।

हुन त धर्म आफैमा विशुद्ध धर्मको रूपमा मात्र भएमा आपत्ति केही थिएन। धर्मको बारेमा कुरा उठाउँदा क्रिस्चियन धर्ममा आस्था राख्ने स्वाभिमानी नेपालीको धार्मिक भावनामा चोट नपुगोस् भन्ने कुराको पनि म कामना गर्दछु।

तर धर्मसँगै हस्तक्षेपकारी साम्राज्यवादी सोच पनि आएकाले मात्र हाम्रो आपत्ति हो। पृथ्वी नारायण शाहले आफ्नो समयमा यस तथ्यलाई राम्ररी बुझेका रहेछन्।अहिले विदेशी क्रिस्चियन धर्मद्वारा दिन दुई गुना रात चौगुनाका दरले नेपालको सनातनी धर्मको विरुद्ध आक्रमण भइरहेको छ।

यसो हुनुको कारण राज्यका हर्ताकर्ताहरूले नै अपनत्वलाई परित्याग गरी विदेशी धर्मलाई टेवा दिए। एकातिर संविधानले नेपाल धर्म निरपेक्ष राज्यको रूपमा परिभाषा दिनु। अर्कातिर नेताहरू स्वयं होली वाइन संस्कृतिमा रमाउने देखिएकाले यो कुनै संयोग मात्र भन्न सक्ने अवस्था छैन।

यसैले विदेशी इसारामा नै संविधान लेखियो र विदशीले नै योजनाबद्ध रूपमा क्रिस्चियन धर्म लाद्ने काम गर्‍यो भन्न किन हिचकिचाउने? नेपालीहरूको धार्मिक भावनामा मात्र उनीहरूले ठेस पुर्‍याएको होइन कि नेपालीहरूको आफ्नोपन संस्कार र संस्कृतिमा समेत उनीहरूले धावा बोलेका छन्।

हुँदै जाँदा हाम्रा गाउँघरमा रहेका गुम्बा, मन्दिर आदिमा ताला लाग्ने अवस्थाको सिर्जना भइरहेको छ। यो कुरा प्रत्येक नेपालीले बुझ्नु जरुरी भएको छ। धार्मिक आस्था नभएका कतिपयले पनि अब आएर नेपालीपन जोगाउनैका लागि भए पनि यसलाई मनन् गर्नु आवश्यक भइसकेको छ।

किनकी यस्ता गतिविधि धर्म र संस्कृतिमा आक्रमण गर्दै नेपालीलाई पराधिन बनाउने विदेशीहरूको यो मेलोमेसो हो। महेन्द्र संस्कृत विश्व विद्यालयमा द्वन्द्व कालमा आगो लगाइएको छ। यसमा रहेका अति पुराना संस्कृतिका अमूल्य पुस्तकहरू समेत नष्ट भएको छ। यस खालका गतिविधिलाई योजनाबद्ध होइन भन्न सक्ने अवस्था पनि देखिँदैन।

अमेरिकासँग भएको एमसिसी सम्झौता र एसपिपी प्रकरणका कारण हामीलाई युक्रेनको बाटोमा हिँडाउने मनसाय बुझियो। मदन भण्डारी र राजा वीरेन्द्रको हत्या पनि यिनै कारणले भएका हुन् भनी पुष्टी हुँदै गइरहेको छ।

जुन खालका गतिविधिहरू नेपालमा भइरहेको छ, त्यो सबै योजनाबद्ध भइरहेको छ। यी सबै गतिविधि पश्चिममा राष्ट्र विशेष गरेर अमेरिकी स्वार्थमा भइरहेको कुरा सर्वविदित नै छ। यसले हामीलाई पराधिन बनाउने कुरा पक्का छ।

अफ्रिकी देशहरूमा जस्तै हाम्रो देशमा रहेका बहुमूल्य खनिजजन्य बस्तुमा अमेरिकी गिद्धे नजर परिसकेको कुरा नेपालीहरूलाई बोध भएको छ। यसैगरी चीनलाई घेर्ने उसको रणनीतिअनुुसार नेपालाई अस्थिर वातावरणको सिकार बनाउने र युद्ध थोपर्ने उसको साम्राज्यवादी चाल हामीले बुझ्न ढिला भइसकेको छ।

यसैले नेपाली भाषा संस्कृति, सनातनी संस्कार र आफ्नोपनको सधै रक्षा गरौँ । यसमै नेपालीपनको स्वाद लिन सकिन्छ । नेपाल रहे मात्र हामी नेपाली रहन्छौं । सगरमाथाको देस भनेर हामी गर्भ गर्न सकिरहनेछौं। जय देश।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *