कमेडी च्याम्पियन-सिजन चार: प्रतिभाको उत्सव, मूल्यांकनको प्रश्न

परशु तिमल्सिना
१० कार्तिक २०८३ ६:३९

अलिकति विगततिर फर्केर हेर्दा, नेपाली हास्यव्यङ्ग्यको बगैंचामा नयाँनयाँ फूल फुलाउने काम कमेडी च्याम्पियनले गरेको छ। यसका परिकल्पनाकार तथा निर्देशक विशाल भण्डारी र उहाँको टिमले नयाँ पुस्ताका हास्य कलाकारलाई मञ्च मात्र दिएका छैनन्, उनीहरूलाई आफ्नो प्रतिभा चिनाउने र स्थापित हुने अवसरसमेत दिएका छन्। यसका लागि साधुवाद!

पहिलो सिजन एउटा साहसिक प्रयोग थियो। आयोजक, निर्णायक, प्रतियोगी-सबैका लागि नयाँ अनुभव। कसैले सिक्दै सिकाउँदै कार्यक्रम अघि बढाए, कसैले सिक्दै प्रस्तुति दिए। अन्योलका बीच पनि कार्यक्रमले आफ्ना पदचिह्न छाड्न सफल भयो। त्यही पदचिह्नले आयोजकलाई अर्को सिजनतिर डोर्‍यायो।

दोस्रो सिजनले त नेपाली हास्यव्यङ्ग्यमा बहार नै ल्यायो। त्यसको सुगन्ध देशभित्र मात्र होइन, संसारभर छरिएर रहेका नेपालीको मनमस्तिष्कसम्म पुग्यो। सम्भवतः त्यही सिजनका सिर्जनशील कलाकारहरूले खडा गरेको जगमा उभिएर विशाल भण्डारीले नियमित रूपमा ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ सञ्चालन गर्न सकेको हुनुपर्छ।

तेस्रो सिजनले अघिल्लो सिजनजस्तो गहिरो छाप छाड्न नसके पनि केही प्रतियोगीहरूले हास्यव्यङ्ग्यलाई नै आफ्नो पेसा बनाएको देख्न सकिन्छ। अर्थात्, कार्यक्रमको बाली हरेक सिजनमा एउटै परिमाणमा नफले पनि प्रतिभाको बीउ भने राम्रैसँग उम्रिरहेको छ।

नयाँ पुस्ताका हास्य कलाकारको आगमनले पुराना तथा स्थापित कलाकारलाई समेत समयसँगै आफूलाई परिमार्जन गर्नुपर्ने चुनौती दिएको छ। पुराना हास्य कलाकारहरू यस्ता मञ्चमा टिकिरहन या त मनोज गजुरेलजस्ता समयलाई बुझ्न सक्ने अब्बल कलाकारले जस्तै आफूलाई अद्यावधिक र हास्यका नवीन सम्भावनाहरूको खोजी गर्न लागिरहनु पर्ने देखिन्छ या चलचित्रमा अरूले लेखिदिएका हास्यसंवाद बोलेर अभिनयमा सीमित हुनुपर्ने अवस्था देखिन्छ। यो पनि हास्यव्यङ्ग्यको बदलिँदो स्वरूपको सङ्केत हो।

यसरी हेर्दा कमेडी च्याम्पियन केवल एउटा टेलिभिजन कार्यक्रम रहेन; यसले नेपाली हास्यव्यङ्ग्यको पुस्तान्तरणमा समेत महत्त्वपूर्ण भूमिका खेलेको छ।

सिजन चारको कुरा

यस सिजनमा प्रवेश गर्दा एउटा कुरा चाहिँ खुलेर भन्न सकिन्छ-प्रतियोगी खोज्न आयोजकहरू यसपटक निकै सफल देखिएका छन्। प्रतियोगीहरू यति सशक्त, सिर्जनशील र प्रतिभावान छन् कि उत्कृष्ट १५ का सबैलाई अहिले नै प्रतिस्पर्धाबाट बिदा गरिदिने हो भने पनि उनीहरूले दोस्रो सिजनका स्थापित कलाकारहरूलाई समेत पसिना छुटाउन सक्ने सम्भावना देखिन्छ। यो कुनै प्रतियोगीलाई ताज पहिर्याइसकेको घोषणा होइन; उनीहरूको क्षमताप्रतिको उच्च मूल्यांकन मात्र हो।

तर एउटा रोचक विरोधाभास छ। प्रतियोगीहरूको स्तर हेर्दा आयोजकले यसपटक प्रतिभाको खानी नै भेट्टाएजस्तो लाग्छ। निर्णायक मण्डल हेर्दा चाहिँ त्यो खानीबाट निस्किएको हिरा जाँच्ने जौहरीको सीपमै प्रश्न उठाउनुपर्ने अवस्था देखिन्छ।

जज प्यानलमा नयाँ अनुहार ल्याएर नयाँ स्वाद दिने उद्देश्यले परिवर्तन गरिएको हुन सक्छ। नयाँ प्रयोग गर्नु आफैँमा नराम्रो होइन। तर नयाँ स्वाद दिने नाममा परिकार नै अलि फिक्का भयो भनेचाहिँ भान्साको समीक्षा गर्नैपर्छ। ऋचा शर्माबाहेक अन्य निर्णायकको मूल्याङ्कन क्षमतामा मैले अपेक्षित गहिराइ देख्न सकिनँ।

जितु नेपाल: कलाकारको उचाइ र निर्णायकको जिम्मेवारी

जितु नेपाल आफ्नो समयका राम्रा स्ट्यान्डअप कमेडियन हुन्। उनको अभिनय, रियालिटी शो सञ्चालन र मञ्चीय अनुभव पनि प्रशंसनीय छन्। नेपाली हास्यव्यङ्ग्यमा उनले बनाएका आफ्नै स्थान छ, आफ्नै शैली छ र आफ्नै पहिचान छ।

तर राम्रो कलाकार हुनु र अरू कलाकारहरूको प्रस्तुतिको सूक्ष्म मूल्याङ्कन गर्न सक्नु फरक कुरा रहेछ भन्ने अनुभूति यस सिजनमा हुन्छ।

आफूलाई घत परेको जोकमा हाँस्नु, प्रभावित भएर उठेर सम्मान व्यक्त गर्नु स्वाभाविक कुरा हो। तर आफूलाई जोक मन  परेपछि हाँस्न वा उठ्नुअघि अन्य निर्णायकको अनुहारमा प्रतिक्रिया खोज्नुपर्ने जस्तो देखिनुचाहिँ अलि अनौठो लाग्छ। हाँसो पनि कहिलेकाहीँ सामूहिक निर्णयपछि मात्र आउने हो कि जस्तो!

निर्णायकको कुर्सीमा बसेपछि प्रतियोगीको जोकमा हाँस्नु मात्र पर्याप्त हुँदैन। त्यो जोक किन प्रभावकारी भयो, त्यसमा हास्यको गहिराइ कहाँ छ, प्रस्तुति कहाँ बलियो छ र कहाँ सुधार गर्न सकिन्छ भन्ने पहिचान गर्न सक्नुपर्छ। कतिपय अवस्थामा त प्रतियोगी स्वयंले नदेखेको आफ्नो कमजोरी वा सम्भावनासमेत औँल्याइदिनुपर्ने हुन्छ।

यही पाटोमा जितु नेपालको मूल्यांकन उनले हास्यव्यङ्ग्य क्षेत्रमा बनाएको उचाइअनुसार प्रभावकारी देखिन सकेन। सिजनको सुरुवाती चरणमा उनले आफ्नो जिम्मेवारीबारे व्यक्त गरेका कुराबाट पनि यस भूमिकाप्रति पूर्ण आत्मविश्वास विकास भइनसकेको आभास मिल्थ्यो।

तर यति भन्दैमा उनको विगतको योगदान, अभिनय र आफ्नै शैलीको स्ट्यान्डअप कमेडीको महत्त्व घट्दैन। कलाकारिताको एउटा विधामा उचाइ हासिल गर्नु र अर्को विधामा त्यही उचाइ कायम राख्नु फरक चुनौती हुन्। मेरो प्रश्न जितु नेपालको कलाकारितामाथि होइन, निर्णायकको भूमिकामा देखिएको प्रभावकारितामाथि हो।

बुद्धि तामाङ: कलाकारिता एउटा, मूल्याङ्कन अर्को

बुद्धि तामाङ नेपाली चलचित्र क्षेत्रका स्थापित तथा चर्चित हास्य कलाकार हुन्। उनको अभिनय शैली र चरित्र निर्माण गर्ने क्षमता आफ्नै ठाउँमा प्रशंसनीय छ। तर कलाकार हुनु र कलाकारिताको मूल्याङ्कन गर्नु फरक सीप रहेछ भन्ने कुरा उनको यस सिजनको भूमिकाबाट पनि बुझ्न सकिन्छ।

उनका प्रतिक्रिया सुन्दा प्रतियोगीको प्रस्तुतिको सूक्ष्म मूल्यांकनभन्दा उनीहरूलाई कन्टेन्टका लागि उपस्थित भएको अनुभूति हुन्छ। ‘पर्फर्मेन्स र कन्टेन्टका आधारमा भन्नुपर्दा’, ‘मजा आयो’, ‘दामी छ’, ‘हामीले नम्बर दिएका छौँ’, ‘शुभकामना’ जस्ता प्रतिक्रिया नराम्रा होइनन्। तर यिनै वाक्यको वरिपरि मूल्याङ्कन घुमिरह्यो भने प्रतियोगीले सिक्नेचाहिँ के?

प्रतियोगीले दर्शकलाई हँसाउन सफल भयो भने त्यसको कारण के थियो? कुनै जोकले अपेक्षित प्रभाव पार्न सकेन भने किन सकेन? संवाद, समय, अभिनय, चरित्र र प्रस्तुतिको लयमध्ये कुन पक्ष सुधार्न सकिन्छ? निर्णायकबाट यस्ता प्रश्नको उत्तर पाउन सकियो भने प्रतियोगीका-लागि त्यो अमूल्य पाठ बन्छ।

त्यसैले बुद्धि तामाङको भूमिकाले उहाँको लामो मेहनतबाट अभिनय क्षेत्रमा बनेको उचाइलाई अझ बढाएको छ कि अपेक्षित लाभ दिन सकेको छैन भन्ने प्रश्न उठ्छ। आर्थिक लाभ एउटा पक्ष हो; व्यावसायिक प्रतिष्ठा र दर्शकको अपेक्षा अर्को।

जितु नेपाल र बुद्धि तामाङ दुवै अब्बल कलाकार हुनुहुन्छ। तर अरूले लेखिदिएको हास्यप्रधान पटकथाका संवाद बोलेर अभिनय गर्नु र आफैँले स्क्रिप्ट लेखी, सकेसम्म हरेक वाक्यमा हाँसो सिर्जना गर्नुपर्ने बाध्यतासहित मञ्चमा प्रस्तुति दिने कलाकारको मूल्यांकन गर्नु नितान्त फरक काम हुन्।

सबैमा सबै सीप हुनैपर्छ भन्ने छैन। तर आफ्नो क्षमता र सीपअनुसार जिम्मेवारी सम्हाल्न सकियो भने सबै पक्षप्रति न्याय हुन्छ। कलाकारको सम्मान कायम राख्नु र निर्णायकको भूमिकामाथि प्रश्न उठाउनु परस्पर विरोधी कुरा होइनन्।

विशाल भण्डारी: एउटै व्यक्ति निर्देशक पनि, निर्णायक पनि!

विशाल भण्डारीको कुरा गर्दा उहाँमा निर्णायकका रूपमा आवश्यक पर्ने क्षमता र सम्भावना देखिन्छ। तर उहाँको भूमिका जति बहुआयामिक छ, त्यति नै जटिल पनि छ।

उहाँ कार्यक्रमका निर्देशक हुनुहुन्छ। प्रतियोगीहरूको अवधारणा, स्क्रिप्ट, तयारी र अभ्यासबारे प्रस्तुति मञ्चमा आउनुअघि नै जानकारी लिनुहुन्छ। आवश्यक सल्लाह र निर्देशन दिनुहुन्छ। त्यस क्रममा प्रतियोगीको क्षमताबारे उहाँको मनमा एउटा धारणा बनिसकेको हुन सक्छ।

अब त्यही व्यक्ति निर्णायकको कुर्सीमा बसेपछि एउटा स्वाभाविक प्रश्न उठ्छ-अभ्यासका क्रममा बनिसकेको धारणा वास्तविक प्रस्तुतिको मूल्याङ्कनमा प्रवेश गर्दैन भन्ने सुनिश्चितता कसरी गर्ने?

प्रतियोगीले अभ्यासमा भन्दा मञ्चमा राम्रो गरे पनि वा कमजोर प्रदर्शन गरे पनि मूल्याङ्कन त्यस दिनको प्रस्तुतिका आधारमा मात्र हुन सक्ला? अनि निर्णायक मण्डलको निर्णयमा कार्यक्रम निर्देशकको मतले अन्य निर्णायकको विचारलाई प्रभाव पार्दैन भन्ने कसरी सुनिश्चित गर्ने?

यसको अर्थ विशाल भण्डारीले जानाजान पक्षपात गर्नुहुन्छ भन्ने होइन। प्रश्न नियतको भन्दा पनि जिम्मेवारीको संरचनाको हो। एउटै व्यक्तिमा निर्देशन र मूल्याङ्कनको अधिकार केन्द्रित हुँदा निष्पक्षतामाथि प्रश्न उठ्ने सम्भावना रहन्छ।

यसको अर्को पाटो प्रतियोगीको मनोविज्ञान हो। प्रस्तुतिअघि निर्देशन दिने व्यक्ति नै मञ्चमा निर्णायक भएर बसेपछि प्रतियोगीले आफ्नै प्रस्तुति राम्रो बनाउने मात्र होइन, निर्देशकका निर्देशनसमेत पूरा गर्नुपर्ने दबाब महसुस गर्न सक्छन्। त्यसले उनीहरूको स्वाभाविक प्रस्तुतिलाई कति सहज बनाउन सक्ला वा अनावश्यक बोझ बढ़ाउन सक्ला?

प्रतियोगीलाई आफ्नो मौलिक क्षमता देखाउन दिनु र त्यसपछि स्वतन्त्र रूपमा मूल्याङ्कन गर्नु नै न्यायोचित प्रक्रिया हो। निर्देशक र निर्णायकको भूमिका अलग राख्न सकेको भए यसमा अझ स्पष्टता आउन सक्थ्यो। आफ्नो निर्देशन अनुसारको स्वतन्त्र प्रस्तुतिको अरूबाट हुने स्वतन्त्र मूल्याङ्कनका लागि सहज बनाउन सकेको भए उनको निर्देशकीय पक्षको पनि एकैपटक मूल्यांकन हुन सक्थ्यो, जुन उनके लागि फाइदा नै हुनेथियो।

‘तँ’ को सम्बोधन: आत्मीयताको भाषा कि पदको मर्यादा?

विशाल भण्डारीमा आफू निर्णायकभन्दा पनि कार्यक्रमको मुख्य व्यक्ति हुँ भन्ने भाव केही बढी प्रकट भएको अनुभूति हुन्छ। प्रतियोगीहरूलाई गरिने ‘तँ’ सम्बोधन यसको एउटा उदाहरण हो।

उनको प्रतियोगीहरूसँग अरू निर्णायकको तुलनामा बढी उठबस हुन्छ। उनीहरूलाई साथी वा भाइका रूपमा हेर्छन्, उनीहरूको प्रस्तुति माझ्न सहयोग गर्छन्। यो आत्मीयता बुझ्न सकिन्छ।

तर निर्णायकको कुर्सीमा बसेपछि पनि पर्दापछाडिको त्यही अनौपचारिक सम्बन्ध पर्दाअगाडि कायम राख्नु कति उपयुक्त हुन्छ? आत्मीयता देखाउन ‘तँ’ नै भन्नुपर्छ भन्ने त छैन। ‘तिमी’ भन्दा माया घट्दैन, न ‘तपाईं’ भन्दा सम्बन्धमा दूरी बढ्छ। गाजलले आँखालाई मात्र सुन्दर बनाउने हो, गालामा दल्न थाल्यो भने कुरुपता बढाउँछ।

निर्णायकको बोली र व्यवहारमा पदको मर्यादा पनि झल्किनुपर्छ। अझ कमेडी च्याम्पियनजस्तो स्थापित कार्यक्रमका निर्णायकले त आफूलाई मात्र होइन, आफू बसेको कुर्सीलाई समेत सम्मान दिन सक्नुपर्छ।

विशाल भण्डारी र उनको टिमले कमेडी च्याम्पियनलाई नेपालको स्थापित कमेडी रियालिटी शोका रूपमा उभ्याई सकेका छन्। अब यस कार्यक्रमलाई हेरेर धेरैले आफ्ना धारणा र व्यवहार निर्माण गर्न सक्छन्। त्यसैले निर्णायकको भाषा, व्यवहार र मूल्यांकन शैलीको सार्वजनिक प्रभावलाई सामान्य रूपमा लिन मिल्दैन।

यसैले उनले निर्देशन गरेको कार्यक्रममा आफैँ निर्णायक नबसी निर्देशनको जिम्मेवारी मात्र सम्हालेको भए यस सिजनलाई स्वर्ण सिजन बनाउने सम्भावना अझ बलियो हुन्थ्यो भन्ने मेरो धारणा हो।

ऋचा शर्मा: हाँसोमा स्वाभाविकता, मूल्यांकनमा स्पष्टता

ऋचा शर्माको मूल्यांकन शैलीले उनलाई यस सिजनको सबैभन्दा प्रभावकारी निर्णायकका रूपमा उभ्याएको मेरो बुझाइ छ। कुनै प्रस्तुतिको मूल्याङ्कन गर्न बस्दा आफ्ना पूर्वमान्यता, व्यक्तिगत धारणा र पूर्वनिर्धारित अपेक्षाबाट सकेसम्म अलग भएर प्रस्तुतिमा केन्द्रित हुन सक्नुपर्छ। त्यसपछि मात्र प्रस्तुतिका विभिन्न पक्षलाई स्वतन्त्र रूपमा केलाउन सकिन्छ। ऋचा शर्मामा यो गुण स्पष्ट देखिन्छ।

प्रतियोगीहरूको प्रस्तुतिले उनमा जन्माएको हाँसो स्वाभाविक देखिन्छ। उनीहरूको हावभाव र संवादले उनको मनस्थितिमा तत्काल प्रभाव पार्छ। कुनै प्रस्तुति चित्त बुझ्दा जुरुक्क उठ्छिन्। अरू निर्णायक हाँसेका छन् कि छैनन् वा ताली बजाएका छन् कि छैनन् भन्ने कुरामा उनको प्रतिक्रिया दिने प्रवृत्ति भरपर्दैन।

कहिलेकाहीँ त उनी उठिसकेपछि मात्र आफू उठेको महसुस गर्छिन् कि जस्तो लाग्छ! त्यो स्वाभाविकता नै उनको विशेषता हो। उनको प्रतिक्रिया कुनै औपचारिक जिम्मेवारी पूरा गर्न गरिएको अभिनयजस्तो नभई प्रस्तुतिबाट स्वतः उत्पन्न भएको अनुभूति हुन्छ।

प्रस्तुतिपछि उनले दिने प्रतिक्रिया र पृष्ठपोषण सुन्न प्रतियोगी र दर्शक दुवै उत्सुक हुन्छन्। प्रतियोगीका सबल पक्षलाई अतिरञ्जना नगरी उजागर गर्नु, कमजोरीलाई निराश नबनाई सुधारात्मक सुझाव दिनु र प्रस्तुतिको वास्तविक स्तरअनुसार धारणा राख्नु उनका प्रशंसनीय पक्ष हुन्।

उनको अर्को विशेषता स्पष्ट अभिव्यक्ति हो। मूल्यांकनमा अनावश्यक प्रशंसा गरेर ‘चिल्लो घस्ने’ प्रवृत्ति देखिँदैन। प्रस्तुति कमजोर छ भने कमजोर भन्न सक्छिन्, उत्कृष्ट छ भने हृदय खोलेर उत्कृष्ट भन्छिन्। निर्णायकमा हुनुपर्ने साहस र स्पष्टता यही हो। न त अनावश्यक ‘हि हि हि, हा हा हा’ को प्रदर्शन छ, न त आफ्नो स्वाभाविक प्रतिक्रिया दिनuअघि अरू निर्णायकको अनुहार पढ्नुपर्ने बाध्यता। हाँस्नका लागि पनि सहमति लिनुपर्दैन, ताली बजाउन पनि बहुमत कुर्नुपर्दैन!

अर्को महत्त्वपूर्ण पक्ष भनेको प्रतियोगीका सङ्केतात्मक, परिस्थितिजन्य र अर्थका विभिन्न तह भएका जोकहरू बुझ्न सक्ने उनको क्षमता हो। अन्य केही निर्णायकमा यो पक्ष अपेक्षाकृत कम देखिएको अनुभूति हुन्छ। कतिपय अवस्थामा जोकको तत्काल प्रतिक्रिया दिन अन्य निर्णायकसमेत ऋचा शर्माको प्रतिक्रियातर्फ ध्यान दिइरहेका जस्ता देखिन्छन्।

यस सिजनमा उनको भूमिका निर्णायक मण्डलको विश्वसनीयता कायम राख्न महत्त्वपूर्ण देखिन्छ। मेरो दृष्टिमा, उनले प्रस्तुतिको मूल्याङ्कन गर्दा देखाएको स्वाभाविकता र स्पष्टता अन्य निर्णायकका लागि पनि अनुकरणीय हुन सक्छ।

पुराना निर्णायकको सम्झना र नयाँ सम्भावना

विगतका सिजनहरूमा, विशेषगरी दोस्रो सिजनबाहेक, निर्णायकहरू अत्यन्त प्रभावकारी थिए—सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराईजस्ता व्यक्तित्वहरूले प्रस्तुतिका विभिन्न पक्षलाई मिहीन ढङ्गले केलाउँथे। प्रतियोगीको प्रस्तुति अपेक्षाअनुसार नभए पनि उनीहरूलाई निरुत्साहित नगरी हौसला दिने उनीहरूको शैली प्रशंसनीय थियो।

त्यतिबेला निर्णायकको पाटो बलियो थियो, तर प्रतियोगीहरू सधैँ आयोजकको अपेक्षाअनुसार भेटिएनन् कि भन्ने लाग्छ। यसपटक भने परिस्थिति उल्टिएको अनुभूति हुन्छ। प्रतियोगीहरू आयोजकको अपेक्षाभन्दा पनि उम्दा भेटिएका छन्। कहिलेकाहीँ त केही निर्णायकहरू भन्दा पनि उम्दा पो छन् कि जस्ता! हरेक एपिसोडमा उनीहरूको प्रस्तुति हेर्दा अभ्यस्त र अनुभवी कलाकारहरूसँग तुलना गर्न सकिने स्तर देखिन्छ।

कमेडी च्याम्पियनको सफलता अब प्रतियोगीको प्रतिभाबाट पनि मापन गर्न सकिने अवस्थामा पुगेको छ। तर यही सफलताको अर्को पाटोमा निर्णायक मण्डलको समग्र प्रभावकारितामाथि प्रश्न उठ्छ।

ऋचा शर्मासँगै मनोज गजुरेल र प्रदीप भट्टराईजस्ता अनुभवी मूल्यांकनकर्ता निर्णायक मण्डलमा भएको कल्पना गरौँ त! तीन जना स्पष्ट दृष्टिकोण भएका निर्णायक, अनि यति उम्दा प्रतियोगीहरू। प्रतियोगीले हँसाउने, निर्णायकले हाँसोको कारण खोतल्ने र दर्शकले मनोरञ्जनसँगै केही सिक्ने-आहा, कस्तो सुन्दर संयोजन हुन्थ्यो होला!

यसको अर्थ विगतका निर्णायकहरू नै सधैँ उत्तम र नयाँ अनुहार अनुपयुक्त भन्ने आग्रह होइन। निर्णायकको कुर्सीमा बस्ने व्यक्तिको छनोट उसको लोकप्रियताका आधारमा मात्र होइन, प्रस्तुतिको मूल्याङ्कन गर्ने क्षमता र प्रतियोगीलाई सिकाउन सक्ने सीपका आधारमा पनि हुनुपर्छ भन्ने मेरो आग्रह हो।

कार्यक्रम सञ्चालन: नेपाली कार्यक्रम, नेपाली स्वाद

अन्य पक्षहरू सामान्यतः ठिकै देखिन्छन्। यसपटक दुवै सञ्चालकले स्पष्ट नेपालीमा कार्यक्रम सञ्चालन गरेका छन्। विगतका जस्तो नेपाली माटोमा अङ्ग्रेजी बिरुवा उम्रेको छैन। नउम्रीयोस् भविष्यमा पनि।

तर हास्यको कार्यक्रम भएकाले सञ्चालकबाट पनि हास्यप्रधान गतिविधि, संवाद र परिस्थितिजन्य रमाइलोपनको अपेक्षा हुनु स्वाभाविक हो। सञ्चालकले पनि कार्यक्रमको लय समातेर मनोरञ्जन थप्न सक्नुपर्छ। मेक्सम गौडेलको हकमा भने यो टिप्पणी लागू हुँदैन। तर कार्यक्रम सञ्चालनको प्रयोगात्मक कक्षामा अभ्यासरत शिक्षार्थी जस्ता सञ्चालकले यस स्तरको कार्यक्रममा उचित न्याय दिन सक्दैनन् कि?

समग्रमा, सञ्चालन पक्ष नराम्रो भन्नुपर्ने स्तरमा छैन, तर कार्यक्रमलाई थप जीवन्त बनाउने र दर्शकको ध्यान तानिरहने सम्भावना अझै उपयोग हुन बाँकी छ। कार्यक्रमको स्तर जति माथि उठ्छ, त्यसको सञ्चालन पनि त्यही स्तरको हुनुपर्छ। नत्र मुख्य परिकार स्वादिलो हुँदा पनि अचारको स्वाद छुटे जस्तो हुन सक्छ।

हाँसोका लागि भाषाको स्तर किन बिर्सने?

यस सिजनका प्रतियोगीहरूको प्रस्तुति हेर्दा अधिकांशको स्तर राम्रो छ। उनीहरूमा सिर्जनशीलता, आत्मविश्वास र मञ्चीय क्षमता देखिन्छ। तथापि, केही शब्दको प्रयोगमा संयम अपनाउन सके प्रस्तुतिहरू अझ परिष्कृत हुने थिए।

उदाहरणका लागि, पिसाबको पर्यायवाचीका रूपमा प्रयोग गरिने केही शब्द बारम्बार दोहोरिँदा सभ्य समाजका दर्शकलाई असहज लाग्न सक्छ। विषयवस्तुको आवश्यकता र परिस्थितिअनुसार यस्ता शब्दको प्रयोग कहिलेकाहीँ प्रभावकारी हुन सक्छ; तर एउटै शब्द वा त्यसै प्रकारको अभिव्यक्तिमा अत्यधिक निर्भर हुनु हास्य सिर्जनाको बलियो आधार होइन।

त्यसमाथि त्यस्ता शब्द सुन्दा केही निर्णायकको अट्टहास देखियो भने प्रतियोगीले त्यही शैलीलाई अझ बढाउँदा हाँसो बढी आउँदो रहेछ भन्ने गलत निष्कर्ष निकाल्न सक्छन्। यो जोखिमप्रति निर्देशक र मेन्टरहरू सचेत हुन आवश्यक छ।

हाँसोको उचाइ बढाउन भाषाको स्तर घटाउनैपर्छ भन्ने छैन। शालीन भाषामा पनि तीखो व्यङ्ग्य, गहिरो हास्य र अविस्मरणीय प्रस्तुति दिन सकिन्छ भन्ने उदाहरण संसारका धेरै कमेडी कार्यक्रमले दिएका छन्। सभ्य भाषा र प्रभावकारी हास्य एकअर्काका विरोधी होइनन्। अन्ततः हास्यको शक्ति शब्दको अशिष्टतामा होइन, त्यसलाई प्रयोग गर्ने सिर्जनशीलतामा हुन्छ।

राजनीति नै हाँसोको एकमात्र खानी होइन

यस सिजनमा अर्को कुरा पनि बारम्बार देखिन्छ-प्रतियोगीहरूले जुनसुकै विषयमा प्रस्तुति दिए पनि त्यसलाई बलियो बनाउन नेपाली राजनीति, राजनीतिक व्यक्ति वा राजनीतिक घटनाक्रम जोड्ने प्रवृत्ति।

राजनीति हाम्रो जीवनको महत्वपूर्ण हिस्सा हो। त्यसैले हास्यव्यङ्ग्यमा यसको प्रयोग हुनु स्वाभाविक हो। तर हरेक बाटो राजनीतितिरै मोड्नुपर्ने बाध्यता किन? राजनीतिलाई प्रसङ्गअनुसार, सूक्ष्म ढङ्गले र सिर्जनशील रूपमा जोड्न सकियो भने हास्यव्यङ्ग्यको स्तर माथि उठ्छ। तर राजनीतिक नाम वा घटनाको सहाराबिना जोक नै नबन्ने अवस्था आयो भने सिर्जनशीलताको दायरा साँघुरिन सक्छ।

दोस्रो सिजनमा सुमन कोइराला, भरतमणि पौडेल र सुमन कार्कीका केही उत्कृष्ट प्रस्तुतिहरू आज पनि सम्झनलायक छन्। ती प्रस्तुतिले हास्य सिर्जनामा विषयवस्तुको छनोट, चरित्र निर्माण र प्रस्तुतिको मौलिकता कति महत्वपूर्ण हुन्छ भन्ने देखाएका छन्। राजनीति हाँसोको एउटा कुवा हो, समुद्र होइन। बाँकी खानी खोतल्ने जिम्मा नयाँ पुस्ताकै हो।

अन्त्यमा: क्याबात् विशाल!

कुनै पनि रियालिटी शोको मेरुदण्ड प्रतियोगीहरू हुन्। यस सिजनमा त्यो मेरुदण्ड निकै बलियो देखिएको छ। प्रतियोगीहरूको प्रतिभा, सिर्जनशीलता र मेहनतले कमेडी च्याम्पियनलाई नयाँ उचाइमा पुऱ्याइरहेको छ।

विशाल भण्डारी र उनको टिमको सपना, निरन्तर मेहनत र जोखिम मोल्ने साहसले प्रतियोगीहरूलाई मात्र होइन, समग्र नेपाली हास्यव्यङ्ग्य क्षेत्रलाई पनि बलियो बनाउँदै लगेको छ। यस उपलब्धिका लागि परिकल्पनाकार, आयोजक, उत्पादक र सम्पूर्ण टिम साधुवादका पात्र भएका छन्।

आलोचना गर्नु भनेको योगदान बिर्सनु होइन। बरु कुनै कार्यक्रमप्रति अपेक्षा नै नरहेको भए यति धेरै कुरा लेख्नुपर्ने आवश्यकता पनि पर्दैनथ्यो। कमेडी च्याम्पियनले यति उचाइ बनाइसकेको छ कि अब यसबाट अपेक्षा पनि ठूलै राखिन्छ।

प्रतियोगीहरू उत्कृष्ट छन्। कार्यक्रमको आधार बलियो छ। अब निर्णायक मण्डलको छनोट, जिम्मेवारीको स्पष्टता, मूल्याङ्कनको गहिराइ र सञ्चालनको जीवन्ततामा थप ध्यान दिन सकियो भने यो सिजन साँच्चिकै स्वर्ण सिजन बन्न सक्छ।

विशालजी, प्रतियोगी खोज्नुभयो-वाह! प्रतिभा जन्माउने मञ्च बनाउनुभयो-वाह! अब ती प्रतिभाको मूल्याङ्कन गर्ने संयन्त्रलाई पनि त्यही उचाइमा पुऱ्याइदिनुभयो भने कार्यक्रममा चार चाँद लाग्ने थियो।

त्यसैले अन्त्यमा फेरि पनि भन्नैपर्छ-क्याबात् विशाल! तपाईंको पिठ्युँमा धाप दिनैपर्छ। तर त्यो धापसँगै एउटा सानो सुझाव पनि छः कार्यक्रमको निर्देशकको कुर्सी र निर्णायकको कुर्सी छुट्टाछुट्टै राख्न सकियो भने तपाईंको उचाइ घट्ने होइन, कार्यक्रमको उचाइ अझ बढ्नेछ।

कमेडी च्याम्पियन अझै उत्कृष्ट बनोस्। नयाँ प्रतिभा जन्मिरहून्। नेपाली हास्यव्यङ्ग्य फस्टाइरहोस्। दर्शक हाँसिरहून् र हाँस्दै गर्दा केही सोच्न पनि पाऊन्।

 भर्जिनिया, अमेरिका


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *