शरद् उत्सवको उज्यालो : सम्बन्धका सेतु र संस्कृतिको सुगन्ध

डिगबहादुर तामाङ
१२ कार्तिक २०८३ ७:१४

दशैं कहिले असोजको आँगनमा ओर्लिन्छ, त कहिले कात्तिकको देहलीमा आइपुग्छ। पात्रोका पानामा तिथिका अङ्क फेरिन्छन्, ऋतुको मुहार बदलिन्छ; तर उत्सवको प्रतीक्षामा बसेका मनहरूको व्याकुलता उस्तै रहन्छ। यसपालि दशैं कात्तिकमा परेको थियो।

शरद्को आकाशमा नीलिमाको निर्मलता छाएको थियो। बिहान र साँझका बतासमा शीतलताको मसिनो स्पर्श मिसिन थालेको थियो। प्रकृति न्यानो घाम र शीतल बतासको दोसाँधमा उभिएर ऋतु परिवर्तनको सङ्केत गरिरहेको थियो। यस्तै परिवेशमा दशैँले नेपाली मनको दैलो ढकढक्यायो—स्मृतिको पोको बोकेर, सम्बन्धको नवीकरण गर्ने सन्देश लिएर र आत्मीयताको दीप बाल्ने अभिलाषासहित।

वर्षा ऋतुको बिदाइसँगै शरद्को आगमन हुनु प्रकृतिको रूपान्तरण मात्र होइन, नेपाली जनजीवनमा उत्सवको लामो शृङ्खला आरम्भ हुनु पनि हो। वर्षाले धोएको धर्ती, निख्रिएको आकाश, खेतबारीमा झुलिरहेका धानका बाला र चिसिँदै गएको बतासले चाडपर्वको उल्लासलाई अझ गाढा बनाउँछन्। यही ऋतुमा नेपालका विभिन्न भूभाग र समुदायमा आस्था, परम्परा र सांस्कृतिक पहिचानका अनेकौँ रङ फुल्छन्।

इन्द्रजात्राको सांस्कृतिक रौनकदेखि घटस्थापनाको धार्मिक आरम्भ, फूलपातीको उमङ्गदेखि विजयादशमीको आशीर्वादसम्म, तिहारको दीपोत्सवदेखि छठको सूर्योपासनासम्म फैलिएको यो उत्सवी यात्रा नेपाली समाजको जीवन्त सांस्कृतिक परिचय हो।

दशैँ केवल धार्मिक अनुष्ठान वा पात्रोमा अङ्कित पर्व होइन; यो बिछोडिएका सम्बन्धहरूको पुनर्मिलन, विस्मृतिका तहमा पुरिएका स्मृतिहरूको पुनरुत्थान र समयको वेगसँगै टाढिएका मनहरूलाई पुनः एउटै भावनात्मक वृत्तमा समेट्ने सांस्कृतिक सेतु हो।

यस पर्वका दिनमा गाउँका गोरेटामा पाइतालाको चहलपहल बढ्छ, सहरका सडकमा घर फर्कनेहरूको हतारो देखिन्छ र परदेशमा रहेका नेपालीका मनमा जन्मभूमिको सम्झनाले अनायासै तरङ्ग उत्पन्न गर्छ।

कसैका लागि दशैं पुर्ख्यौली घरको आँगनमा पाइला टेक्नु हो, कसैका लागि वृद्ध आमाबुबाको निधारमा झुकेर आशीर्वाद थाप्नु हो, त कसैका लागि बाल्यकालका ती दिन सम्झनु हो, जहाँ सानो खुसी पनि सिङ्गो उत्सव बनेर फुल्थ्यो।

तर सबैका लागि गाउँ फर्कनु सम्भव हुँदैन। भौगोलिक दूरी, व्यावसायिक बाध्यता र समयाभावले कतिपयलाई जन्मभूमिबाट टाढै राख्छन्। तैपनि परदेशले नेपाली मनबाट चाडपर्वको रङ खोस्न सक्दैन। त्यहाँ पनि कसैले घरको एउटा कुनालाई पूजास्थल बनाउँछ, त कसैले आफन्त र इष्टमित्रलाई निम्त्याएर आत्मीयताको सानो संसार सजाउँछ।

मिठामसिना परिकार पाक्छन्, परिचित अनुहारहरू एकै ठाउँमा भेला हुन्छन्, हाँसोका छाल उठ्छन्, निधारमा टीका सजिन्छ र आशीर्वादका शब्दले सम्बन्धका जरामा स्नेहको जल सिञ्चित गर्छन्। जन्मभूमिबाट टाढा भए पनि संस्कृतिसँगको सामीप्यले उनीहरूलाई आफ्नै माटोको सुवाससँग जोडिरहन्छ। आखिर, आफ्नो देशको भूगोलबाट टाढिनु र आफ्नो संस्कृतिबाट विमुख हुनु एउटै कुरा होइन रहेछ।

समयका आफ्नै सीमा र विवशता हुन्छन्। सबैका लागि एउटै दिन, एउटै घडी र एउटै स्थानमा उपस्थित हुन सम्भव हुँदैन। विदेशमा काम गर्नेहरूका लागि दशैँकै दिन सबै आफन्तसँग भेटघाट गर्नु झन् कठिन हुन्छ। त्यसैले कतिपयले बिदाको अनुकूलता हेरेर कोजाग्रत पूर्णिमासम्म वा त्यसपछि पनि भेटघाटको क्रम जारी राख्छन्।

कसैले टीका लगाउने अवसर केही दिन पर सार्छन्, कसैले सामूहिक भोजनको आयोजना गर्छन्, त कसैले सानो जमघटमै चाडको उल्लास समेट्छन्। धार्मिक तिथिको मर्यादा र जीवनको व्यावहारिक अनुकूलता सधैँ एउटै बिन्दुमा मिल्न नसके पनि भावनाको निरन्तरता कायम रहन सक्छ। पर्वको आत्मा पात्रोका पानामा मात्र सीमित हुँदैन; त्यो मानिसको मन, व्यवहार र सम्बन्धप्रतिको संवेदनामा जीवित रहन्छ।

यस्ता भेटघाट समय बिताउने सामान्य बहाना मात्र होइनन्; ती सम्बन्धका पुराना धागाहरूलाई पुनः गाँस्ने अवसर हुन्। व्यस्तताले ओझेल पारेका अनुहारहरू फेरि आँखामा बस्छन्, संवादहीनताले जन्माएका दूरी आत्मीय कुराकानीमा पग्लिन्छन् र विगतका सम्झनाहरू वर्तमानको मुस्कानमा पुनर्जीवित हुन्छन्।

कहिलेकाहीँ वर्षौँदेखि नभेटिएको मित्रसँगको एउटा आत्मीय आलिङ्गनले शब्दले व्यक्त गर्न नसकेको निकटताको अनुभूति गराउँछ। एउटा निमन्त्रणाले मनको ढोका खोल्छ, सँगै खाएको एक छाक भोजनले अपनत्वको स्वाद चखाउँछ र एकअर्काका सुखदुःख सुन्ने धैर्यले सम्बन्धमा नयाँ जीवन सञ्चार गर्छ। यसरी पर्वहरूले समयको गतिलाई रोक्न नसके पनि त्यसले टाढा बनाएका मनहरूलाई पुनः नजिक ल्याउन सक्छन्। दशैँको वास्तविक विजय पनि सायद यही हो-दूरीमाथि आत्मीयताको विजय।

दशैँको सांस्कृतिक यात्रा बुझ्न यसको धार्मिक तथा सामाजिक परिवेशलाई पनि स्मरण गर्नुपर्छ। काठमाडौँ उपत्यकाको इन्द्रजात्राले वर्षा ऋतुको अन्त्यतिर सांस्कृतिक उत्सवको विशेष रौनक थप्छ। जीवित देवी कुमारीको रथयात्रा, परम्परागत नाचगान र सामुदायिक सहभागिताले सहरका सडक तथा चोकहरूलाई इतिहास र संस्कृतिका खुला मञ्चमा रूपान्तरण गर्छन्।

त्यसपछि घटस्थापनासँगै दशैँको नवरात्र आरम्भ हुन्छ। घरघरमा जमरा राखिन्छ, देवीको आराधना गरिन्छ र नौ दिनसम्म शक्तिको उपासनाले वातावरणलाई भक्तिमय बनाउँछ। फूलपातीको आगमनसँगै दशैँको उल्लास थप गाढा हुन्छ। विजयादशमीमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले परिवार, पुस्ता र समुदायबीचको सम्बन्धलाई पुनः नवीकरण गर्छ।

दशैंको धार्मिक आख्यानमा असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको सन्देश निहित छ। तर यसको सामाजिक अर्थ पनि उत्तिकै महत्त्वपूर्ण छ। मान्यजनबाट आशीर्वाद लिने, परिवारका सदस्यसँग समय बिताउने, टाढिएका आफन्तसँग सम्बन्ध जोड्ने र विगतका तिक्तता बिर्सेर नयाँ सुरुवात गर्ने अवसरका रूपमा पनि दशैंलाई बुझ्न सकिन्छ। निधारमा टीका सजाउने र कानमा जमरा सिउरिने बाह्य विधिभन्दा मनमा सद्भाव, व्यवहारमा सम्मान र सम्बन्धमा विश्वास रोप्नु यसको अझ गहिरो अर्थ हो।

कोजाग्रत पूर्णिमाको चन्द्रमाले आकाशमा शीतल उज्यालो छर्दै गर्दा दशैँको मुख्य उल्लास क्रमशः शान्त हुन थाल्छ र तिहारको आगमनको संकेत सुनिन थाल्छ। दशैँले निधारमा टीकाको रङ, कानमा जमराको हरियाली र मनमा आशीर्वादको न्यानोपन छाडेर बिदा लिन्छ; तिहार भने दीपको उज्यालो, फूलको सुगन्ध र सम्बन्धको मधुरता लिएर आउँछ।

यी दुई पर्वबीचको अन्तराल नेपाली जनजीवनमा एउटा उत्सव सकिएर अर्को सुरु हुने समय मात्र होइन; यो शरद् ऋतुको सांस्कृतिक लय हो, जसमा घरआँगन, मन र समाज क्रमशः नयाँ रङमा रङ्गिँदै जान्छन्।

तिहार, अर्थात् यमपञ्चक, पाँच दिनसम्म विभिन्न धार्मिक विश्वास र सांस्कृतिक परम्पराका साथ मनाइन्छ। पहिलो दिन काग तिहारमा कागलाई सन्देशवाहकका रूपमा सम्मान गर्दै भोजन अर्पण गरिन्छ।

दोस्रो दिन कुकुर तिहारमा मानिसको निष्ठावान् साथी कुकुरलाई फूलमाला र टीकाले सजाएर उसको निष्ठा, सतर्कता र सुरक्षाप्रतिको योगदानको सम्मान गरिन्छ। तेस्रो दिन गाई तिहार तथा लक्ष्मीपूजाले पशुप्रतिको श्रद्धा र समृद्धिप्रतिको आकांक्षालाई एउटै सांस्कृतिक सूत्रमा बाँध्छ। घरका भित्ताहरू सफा गरिन्छन्, आँगनका कुनाहरू सजाइन्छन्, दैलोमा दीपहरू बल्छन् र रातको अँध्यारोमाथि उज्यालोको उत्सव फैलिन्छ।

लक्ष्मीको स्वागत गर्दै मानिसले धनधान्य र सम्पन्नताको कामना गर्छन्। तर घरसँगै मनको आँगन पनि स्वच्छ र उदार बनाउन सके मात्र त्यो उज्यालोले आफ्नो गहिरो अर्थ प्राप्त गर्छ।

चौथो दिन गोवर्धन पूजा गरिन्छ। कृषि जीवनका सहयात्री गोरु तथा प्रकृतिका आधारहरूप्रति कृतज्ञता प्रकट गर्ने परम्पराले मानिस र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धको स्मरण गराउँछ। यही दिन नेवार समुदायले आफ्नो मौलिक परम्पराअनुसार म्हःपूजा गर्छ।

म्हःपूजा आफ्नै शरीर, अस्तित्व र जीवनचेतनाप्रतिको सम्मान हो। बाहिरी संसारका अनेकौँ शक्ति र प्रतीकको आराधना गरिरहने मानिसलाई यस परम्पराले आफ्नै जीवनको मूल्य पहिचान गर्न प्रेरित गर्छ। आफ्नो अस्तित्व स्वीकार्नु, जीवनप्रति कृतज्ञ हुनु र आगामी दिनका लागि शुभकामना व्यक्त गर्नु यसको विशिष्ट सांस्कृतिक सौन्दर्य हो।

यही अवसरमा नेपाल संवत्को नयाँ वर्ष पनि मनाइन्छ। नयाँ वर्षले समयको एउटा चक्र पूरा भएको मात्र जनाउँदैन; यसले विगतका अनुभवबाट सिकेर भविष्यप्रति नयाँ आशा र सङ्कल्प राख्ने अवसरसमेत प्रदान गर्छ।

पाँचौँ दिन भाइटीका आउँछ। दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता सप्तरङ्गी टीकामा प्रतीकात्मक रूपमा सजिन्छ। निधारमा रङहरू थपिँदै जाँदा मनमा स्नेहका तहहरू पनि गाढा बन्दै जान्छन्। शुभकामना, उपहार र आशीर्वादको आदानप्रदानले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।

टाढा रहेका दाजुभाइ वा दिदीबहिनीका लागि यो दिन स्मृतिको विशेष द्वार हो, जहाँ बाल्यकालका झगडा, साझा हाँसो, पुराना आँगन र बितेका समयका अनगिन्ती दृश्य एकैसाथ फर्केर आउँछन्। भाइटीकाको महत्त्व यही आत्मीयतामा निहित छ, जसले समय र दूरीका सीमाहरू पार गरेर सम्बन्धको निरन्तरता कायम राख्छ।

तिहारका दीपहरू क्रमशः निभ्दै जाँदा मिथिलाञ्चलमा छठको पावन प्रतीक्षा सुरु हुन्छ। छठ पर्व मिथिला संस्कृतिको महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक धरोहर हो, यद्यपि यसको अभ्यास मिथिलाञ्चलमा मात्र सीमित छैन। सूर्योपासनामा आधारित यो पर्व प्रकृति, जीवन र मानव अस्तित्वबीचको सम्बन्धको सुन्दर अभिव्यक्ति हो।

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा प्रकाश र ऊर्जा प्रदान गर्ने सूर्यप्रति कृतज्ञता व्यक्त गरिन्छ; उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ बिहान, नयाँ सम्भावना र जीवनको निरन्तरताप्रति आस्था प्रकट हुन्छ। नदी, पोखरी र जलाशयका किनारमा सजिएका घाट, व्रतालुहरूको संयम, लोकगीतका मधुर स्वर र सामूहिक श्रद्धाले वातावरणलाई विशिष्ट गरिमा प्रदान गर्छन्। छठले मा

निसलाई प्रकृतिबाट प्राप्त जीवनदायिनी ऊर्जाको मूल्य बुझाउँछ र आफूभन्दा विशाल जीवनचक्रप्रति विनम्र हुन सिकाउँछ। सूर्यको आराधनामा व्यक्त हुने श्रद्धा वास्तवमा जीवनकै आराधना हो।

शरद् ऋतुका यी पर्वहरूको महत्त्व धार्मिक आस्थामा मात्र सीमित छैन। तिनले प्रकृतिप्रतिको कृतज्ञता, कृषि जीवनसँगको सम्बन्ध, सामुदायिक सहकार्य र पारिवारिक आत्मीयतालाई पनि जीवन्त राख्छन्।

दशैंमा जमरा रोप्ने र टीका लगाउने परम्परा होस्, तिहारमा पशुपक्षीप्रति सम्मान व्यक्त गर्ने चलन होस् वा छठमा जलाशयका किनारमा सामूहिक रूपमा सूर्यको आराधना गर्ने अभ्यास-यी सबैले मानिसलाई आफ्नो जीवन प्रकृति र समाजबाट अलग छैन भन्ने बोध गराउँछन्। परम्पराका बाहिरी स्वरूप फरक भए पनि तिनको अन्तर्यमा जीवनप्रतिको सम्मान र सहअस्तित्वको भावना गाँसिएको छ।

शरद् ऋतुको सांस्कृतिक यात्रा यतिमै समाप्त हुँदैन। हेमन्त ऋतुको आगमनसँगै धान्य पूर्णिमा, यःमरि पुन्हि र विभिन्न समुदायका अन्य पर्वहरूले जनजीवनमा नयाँ रङ थप्छन्। धान्य पूर्णिमा कृषिप्रधान समाजमा अन्न, श्रम र प्रकृतिप्रतिको कृतज्ञतासँग जोडिएको पर्व हो।

वर्षभरि खेतबारीमा गरिएको परिश्रमको फल घरभित्र भित्रिने यस समयमा अन्नको महत्त्व र किसानको श्रमको सम्मान विशेष अर्थपूर्ण हुन्छ। नेपालका विभिन्न समुदायमा यस अवसरसँग सम्बन्धित परम्परा र अनुष्ठान फरकफरक रूपमा प्रचलित छन्।

काठमाडौँ उपत्यकाको नेवार समुदायमा मनाइने यःमरि पुन्हि पनि हेमन्त ऋतुको विशिष्ट सांस्कृतिक पर्व हो। नयाँ धानको चामलको पिठोबाट बनाइने यःमरि, त्यसमा भरिने चाकु तथा तिलको मिश्रण र परिवार तथा समुदायबीच बाँडेर खाने परम्पराले कृषि उत्पादन, मौसमी खानपान र सामाजिक आत्मीयतालाई एउटै सूत्रमा जोड्छ। अन्नको सम्मान, पाककलाको मौलिकता र सामूहिक उत्सवको आनन्द यस पर्वमा एकाकार हुन्छन्। यसरी ऋतु फेरिँदै जाँदा चाडपर्वका स्वरूप पनि बदलिन्छन्, तर प्रकृतिसँगको सम्बन्ध र मानिसबीचको आत्मीयता निरन्तर रहन्छ।

दशैँको टीका, तिहारको दीप, म्हःपूजाको आत्मबोध, छठको सूर्योपासना, धान्य पूर्णिमाको अन्नप्रतिको सम्मान र यःमरि पुन्हिको मौलिक स्वादले नेपाली समाजलाई सांस्कृतिक रङहरूको अनुपम संसारमा बाँध्छन्।

समुदायअनुसार परम्परा, पूजाविधि र आस्थाका अभिव्यक्ति फरक छन्; तर तिनको अन्तर्यमा प्रेम, कृतज्ञता, आत्मीयता, सहअस्तित्व र सामाजिक सद्भावका साझा स्वर गुञ्जिरहेका हुन्छन्। यही विविधताभित्रको एकता नेपाली समाजको मौलिक शक्ति हो। संस्कृतिको जीवन्तता सबैले एउटै विधि अपनाउनुमा होइन, भिन्न परम्परालाई सम्मान गर्दै साझा मानवीय मूल्यहरू जोगाइराख्नुमा निहित छ।

यी पर्वहरूको अर्को महत्त्वपूर्ण पक्ष पुस्तान्तरण हो। हजुरबा-हजुरआमाबाट नातिनातिनासम्म, आमाबुबाबाट छोराछोरीसम्म र समुदायका अग्रजबाट नयाँ पुस्तासम्म पुग्ने संस्कार, कथा, गीत, परिकार र अनुष्ठानले संस्कृतिलाई निरन्तरता दिन्छन्।

परम्पराको अर्थ केवल विगतको पुनरावृत्ति होइन; त्यसको मर्म बुझेर वर्तमान जीवनसँग जोड्नु पनि हो। नयाँ पुस्ताले पर्वका विधि सिक्नुका साथै तिनको अन्तर्यमा रहेका मानवीय मूल्य बुझ्न सके संस्कृतिको सुगन्ध पुस्तौँसम्म फैलिरहनेछ। समयसँगै उत्सव मनाउने तरिका फेरिन सक्छ, प्रविधिले भेटघाटका माध्यम बदलिन सक्छ र जीवनशैलीले नयाँ आवश्यकता सिर्जना गर्न सक्छ; तर सम्मान, सद्भाव र आत्मीयताको भावना जोगाइराख्नु नै संस्कृतिको वास्तविक निरन्तरता हो।

शरद्का पर्वहरू क्रमशः बिदा हुँदै जाँदा मन आगामी उत्सवहरूको प्रतीक्षामा उभिन्छ। ऋतु बदलिन्छ, पात्रोका पाना पल्टिन्छन्, प्रकृतिको रङ फेरिन्छ र जीवन आफ्नै गतिमा अघि बढिरहन्छ। हेमन्तका पर्वपछि माघे सङ्क्रान्तिजस्ता उत्सवले जनजीवनलाई अर्को सांस्कृतिक लयतर्फ डोर्‍याउँछन्।

तर पर्वहरू बिदा भए पनि तिनले छाडेका स्मृतिहरू तत्काल बिदा हुँदैनन्। निधारको टीका मेटिएला, घरका दीप निभ्लान्, फूलका माला ओइलाउलान्; तर भेटघाटले पुनर्जीवित पारेको मित्रता, आशीर्वादले बलियो बनाएको भरोसा र आत्मीयताले गाँसेका सम्बन्ध मनको गहिराइमा लामो समयसम्म सुरक्षित रहन्छन्।

अन्ततः चाडपर्वको सौन्दर्य तिनको बाहिरी तामझाममा मात्र होइन, तिनले हाम्रो जीवनमा सञ्चार गर्ने मानवीय संवेदनामा निहित हुन्छ। उत्सवको वास्तविक अर्थ धेरै खर्च गर्नु वा निश्चित दिनमा मात्र हर्षोल्लास मनाउनु होइन; बरु, एकअर्काका लागि समय छुट्याउनु, बिर्सिएका सम्बन्धलाई सम्झनु, टाढिएका मनहरूलाई नजिक ल्याउनु र जीवनको साझा यात्रामा परस्परको उपस्थितिको महत्त्व स्वीकार गर्नु हो।

भेट्न नसकिए अर्को दिन भेटौँ, एउटै आँगनमा भेला हुन नसकिए आत्मीयताको अर्को आँगन बनाऔँ। परम्पराका बाहिरी स्वरूप समयसँगै फेरिए पनि तिनको अन्तरात्मालाई जीवन्त राखौँ। किनभने संस्कृतिको निरन्तरता विधिको पुनरावृत्तिमा मात्र होइन, पुस्तौँदेखि पुस्तासम्म हस्तान्तरित हुँदै जाने संवेदना, सद्भाव र जीवनमूल्यमा निर्भर हुन्छ।

चाडपर्वका उज्याला दिनहरू आउँछन् र जान्छन्, तर तिनले बालेर जाने आत्मीयताको दीप निभ्नु हुँदैन। घरलाई उज्यालो बनाउने बत्तीभन्दा मनलाई उज्यालो बनाउने सद्भाव ठूलो हुन्छ; निधारमा सजिने टीकाभन्दा सम्बन्धमा सजिने विश्वास गहिरो हुन्छ; र क्षणभरका लागि जुट्ने भीडभन्दा कठिन समयमा पनि साथ दिइरहने आत्मीयता मूल्यवान् हुन्छ।

यही अनुभूति हाम्रा पर्वहरूको चिरस्थायी सन्देश हो। यही शरद् उत्सवको उज्यालो हो-जसले सम्बन्धका सेतुहरूलाई बलियो बनाउँछ, संस्कृतिको सुगन्धलाई पुस्तौँसम्म फैलाउँछ र मानिसलाई मानिससँग जोडिरहने मानवीयताको अविरल ज्योति प्रज्वलित गरिरहन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *