एनपीएल : जनकपुर र काठमाडौं भिड्दै, विराटनगर र कर्णाली पनि आमनेसामने हुँदै

डिसी नेपाल
१२ कार्तिक २०८३ ६:२६

काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई रोमाञ्चक खेलहरू हुँदैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने आजको पहिलो भिडन्तमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुँदैछन्। यो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।

प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुर आज पहिलो जितको खोजीमा मैदान उत्रिनेछ। कर्णालीले प्रस्तुत गरेको १३३ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भएको थियो।

अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर आज पुनरागमन गर्ने रणनीतिमा छ। अर्कोतर्फ, करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाज भने तेस्रो सिजनको आफ्नो पहिलो खेलमै जित दर्ता गर्दै सुखद सुरुवात गर्न चाहन्छ।

यसैगरी, आजै हुने दोस्रो खेलमा साँझ ४:३० बजे विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन्। सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले पहिलो खेलमा जनकपुरलाई हराउँदै विजयी सुरुवात गरिसकेकाले लगातार दोस्रो जित निकाल्ने लक्ष्य राखेको छ।

यता, पहिलो खेलमा पोखरासँग ८ रनले पराजित भएको सन्दीप लामिछाने नेतृत्वको विराटनगर किंग्स भने आजको खेल जित्दै प्रतियोगितामा अंक खाता खोल्ने दाउमा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *