बाँदर नियन्त्रण गर्ने अवैज्ञानिक विधि, रुख काटेर पर्यावरणीय समस्या निम्त्याउँदै जनप्रतिनिधि

शरद रिजाल
२५ माघ २०८० १२:३८

काठमाडौं। नेपालका ग्रामीण भेगमा बाँदर आतंकले स्थानीय आक्रान्त छन्। बाँदरले बालीनाली नष्ट गर्ने समस्याबाट पीडित भएका स्थानीय यसको नियन्त्रण गर्न अनेकौं घरेलु उपाय पनि अबलम्बन गर्दै आएका छन्।

तथापि यसले अपेक्षित उपलब्धी हासिल हुन सकिरहेको छैन। बाँदर आतंक व्याप्त ग्रामीण भेगको प्रमुख समस्याका रुपमा रहँदा यसको नियन्त्रणका लागि अनेकौं उपायको खोजी समेत भइरहेको छ।

वर्षौं मेहनत गरेर बालीनाली लगाएका किसानलाई फसल उत्पादन हुने याममा बाँदरले नष्ट गरेपछि समय र मेहनत दुबै खेर गइरहेको छ। बाँदरको प्रकोपले खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका किसानहरुलाई निकै सकस उत्पन्न गराएको छ।

अहिले कतिपय स्थानीय तहले बाँदर आतंक नियन्त्रण गर्न रुख काट्ने अभियान सुरु गरेका छन्। यो विधि बाँदर नियन्त्रणका लागि अवैज्ञानिक भएको र यसले कालान्तरमा पर्यावरणीय असर देखापर्ने भन्दै वातावरणविद्हरुले विरोध गरिरहेका छन्।

केही दिन अघि पोखरा महानगर १९ का वडाध्यक्षले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान सुरु गर्ने निर्णय गरेका थिए।उनको उक्त निर्णयको चौतर्फी विरोध भएपछि अहिले फिर्ता लिएका छन्।

यता, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले वडा नं ३ ले भर्खरै रुख काट्ने निर्णय गरेको छ। यो पछिल्लो निणर्य पनि आलोचित बनिरहेको छ।

बाँदर आतंकले आजित भएका स्थानीयले त्यसबाट उन्मुक्ति पाउन अनेकौं प्रयत्न गरेपनि छुटकारा पाउन नसक्दा बाध्य भएर यस्तो निर्णय गर्नुपरेको बाँदरपीडितको गुनासो छ ।

अहिले बाँदर नियन्त्रका लागि यिनै स्थानीय तहले अंगीकार गरेको विधिलाई लिएर बजारमा नयाँ बहस सिर्जना भएको छ। बाँदरको पीडा सहरमा बस्नेहरुलाई पत्तो हुँदैन भन्दै कतिपयले यी निर्णयप्रति समर्थन पनि जनाएका छन्।

मानव जीवनका लागि अपरिहार्य बोटविरुवा मासेर पर्यावरणीय समस्या निम्तिने हुँदा बाँदर नियन्त्रणका लागि रुख काट्ने विधि अवैज्ञानिक भएको बाँदरकै अनुसन्धानमा विद्यावारिधी हासिल गरेका बन्यजन्तुविद् डा.मुकेश चालिसे बताउँछन्।

उनले बाँदर नियन्त्रणका लागि सर्वप्रथम बाँदरको बर्गीकरण गर्न जरुरी रहेको औंल्याए। वर्गीकरण गरेर बाँदरको पहिचान पछि नोक्सानी पुर्‍याउने बाँदरलाई नियन्त्रणमा लिनुपर्नेे धारणा उनी व्यक्त गर्छन्।

‘बाँदर नियन्त्रणका लागि हानि पुर्याउने बाँदरको पहिचान गरेर त्यसको मात्रै नियन्त्रणमा जोड दिनुपर्छ।’, डा. चालिसे भन्छन्, ‘यसरी समग्रमा सबैलाई नियन्त्रण गर्ने विधिले थप वातावरणीय समस्या आउँछ।’

उनले बाँदर पीडित किसानलाई स्थानीय सरकारले राहत उपलब्ध गराउँदै बाँदरको प्रकोप नियन्त्रणमा वैज्ञानिक विधि अबलम्बन गर्नुपर्ने बताए। त्यसका लागि किसानलाई समस्या सिर्जना गरेका बाँदरको प्रकृति निर्क्याैल गरेर सोही अनुरुप नियन्त्रण गरिनुपर्ने उनको धारणा छ।

डा. चालिसेका अनुसार बाँदरका ३ प्रजाति र ६ उपप्रजाति रहेका छन्। बाँदरको आँकडा पहिल्याएर किसानको बालीनाली नष्ट पुर्‍याएकालाई मात्रै नियन्त्रण गरिनुपर्छ। उपद्रो मच्चाउने र हानि पुर्‍याउने प्रकृतिका बाँदरको पहिचान गरेर त्यसलाई मात्रै नियन्त्रणमा लिनुपर्ने विधि अपनाउन उनी सुझाउँछन्।

पछिल्लो समय जंगल नासिँदै गएर बासस्थानमा खानेकुराको अभाव हुँदा बाँदर मानवबस्ती तिर फैलिएको उनको बुझाइ छ।

उनी भन्छन्, ‘बाँदरले मानवीय स्वभाव अनुशरण गर्छन्। त्यसैले यसको नियन्त्रणका लागि प्रजातिगत पहिचान गर्दै त्यसलाई मात्रै व्यवस्थापन गर्नुपर्छ।’

बाँदरका विशेषता पहिल्याएर मात्रै त्यसको नियन्त्रण गर्न सकिने अन्य वैकल्पिक उपाय अबलम्बन गर्न सकिने डा.चालिसको को भनाइ छ।
तर, यसरी हचुवामा बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियानले कालान्तरमा थप समस्या निम्तिने खतरा रहेको उनले औंल्याए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *