कविता : एउटा भ्रमको अन्त्य

ठाकुर बेलवासे
२७ माघ २०८० ८:२६
140
Shares

त्यो समय स्वर्गीय सुखद् थियो
या भयानक दुःखद्!
यस बेला
पेल्सिलले लेखेका अक्षरहरू
इरेजरले मेटाए जस्तै
आजको समयले मेटाएकाे छु!
फेरि पनि
पेन्सिलले लेखिएका अक्षरजस्तो
तिम्रो धमिलो अनुहार
घरिघरि मेरा आँखामा किन आउँछ?

त्याे समय
गुलाफी रंगीन थियाे
या निष्पट कालाे !
यति बेला
मसीले लेखेका अक्षरहरू
सेताे टिपेस्टले मेटाए झैं
वर्तमान समयले मेटाएकाे छु!
फेरि पनि
चिसाे माैसममा खाेलाकाे खाेँचबाट
निस्किएकाे हुस्सुजस्ताे
तिम्रो चिसो सम्झना किन आउँछ?

हामीलाई बाँध्न धागो बनेको
त्यस बेलाको त्यो समय
उहिल्यै टुटेकाे हो
अब चुँडिएकाे समय गाँस्ने सपनामा
म सिसिफस नियति बाँच्न सक्दिन!

अब
निश्चितरूपमा
एउटा भ्रमबाट मुक्त हुनै पर्छ!
तिमी मलाई होइन
समयलाई प्रेम गरेका थियौं!
“समयलाई प्रेम गर्ने मानिस कहिल्यै असफल हुँदैन!”
तिमीले पटकपटक भनेको खुब सम्झन्छु!

हो
आज तिमी सफल छौँ
म भने
तिम्रो सफलता हेर्दैहेर्दै
चीर निद्रामा निदाउने उपाय खोजिरहेको छु


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *