वातावरण जोगाउने र आम्दानी लिने

खगेन्द्रराज सिटौला
२९ माघ २०८० १४:५०

हरियो वन नेपालको धनलाई व्यवहारमा चरितार्थ गर्ने मन पृथ्वीनारायण शाहमा भएकोले नै जडीबुटीमा उनको आँखा पुगेको हो। जडीबुटीलाई निर्यात गरेर विदेशी मुद्राका साथै राष्ट्रिय आय बढाउने महत्वपूर्ण स्रोतको रुपमा लिनुपर्ने निर्देशन दिँदै पृथ्वीविचार अघि सरेको छ।

नेपालका सुन्दर वनभित्र प्रकृतिले उपहार दिएका मूल्यवान् जडीबुटीलाई धनको ढिकुटीमा बदल्ने पृथ्वीविचारलाई व्यवहारमा लागू गर्न नेपालीहरु नेपालका वनभित्र पस्नैपर्ने हुन्छ। वातवरण जोगाउन वन चाहिन्छ वनमा धन पनि पाइन्छ।

वन जोगाउन र वनलाई धनमा रुपान्तरण गर्न मन पनि चाहिन्छ जडीबुटीको विकास, विस्तार, अध्यायन, अनुसन्धान, संरक्षण गर्दै त्यसलाई निर्यातका लागि नियमित र भरोषायोग्य बस्तु बनाउनका लागि नै पृथ्वीविचार अघि सरेको हो।

यो आम्दानीसँग मात्र होइन वातवरणसँग पनि जोडिएको विषय भएकोले यो आफैंमा वातवरण मैत्री पृथ्वीविचार पनि हो। यो वातवरण जोगाउने र आम्दानी जोड्ने विषय भएकोले छलफलको प्रमुख विषय यसैलाई बनाउन कोशिष गरिएको छ। अर्थात् वातवरण जोगाउने र आम्दानी जोड्ने।

जडीबुटीको विकास गर्नु भनेको वनको पनि विकास गर्न हो। किनभने जडीबुटीको लागि वन नै चाहिन्छ। यो पनि सत्य हो कि जहाँ वन,जडीवुटी वनस्पतिहरु धेरै पाइन्छ त्यहाँको वायुमण्डल वा वातवरण शुद्ध पाइन्छ। त्यसैले जडीबुटीको साइनो वन संरक्षणसंग छ भने वन र जडीबुटीको साइनो वातवरण संरक्षण सँग छ।

यसबाट स्पस्ट हुन्छ कि पृथ्वीविचार वातवरण संरक्षणको विचार पनि हो, वातवरण मैत्री विचार पनि हो। तसर्थ वातवरणको लागि लड्नेहरुले पृथ्वीनारायण र पृथ्वीविचारलाई सही ढंगले बुझेर अघि बढ्नु पर्दछ।

नेपालमा वातवरण संरक्षणको विचार नेपाल एकीकरण अभियानसँगै अघि सरेको हो। नेपालमा जडीबुटीले प्राथमिकता पाउनु भनेको वन जंगलले प्राथमिकता पाउनु हो। वा जंगलले प्राथमिकता पाउनु भनेको वातवरणले प्राथमिकता पाउनु हो। वातवरण मैत्री पृथ्वीविचार भनेको वनजंगल, जडीबुटी, बोटविरुवाले मुलुक हराभरा बनाएर वातवरणीय शुद्धता बनाइराख्नु हो।

जडीबुटी वनजंगलसँग सम्बन्धित भएकोले यो वनजंगल संरक्षणको विषय पनि हो। वनजंगल संरक्षित,हुनु, बढ्नु फैलनु भनेको वनजंगलमा बस्ने जंगली जनवार बढ्नु, उनीहरु संरक्षित हुनु र फैलनु पनि हो। जंगल जनवार फैलनु भनेको आफैंमा वातवरणको शक्ति र शुद्धता र शक्ति फैलनु र बढ्नु हो।

वनजंगल, जडीबुटी जनवार चराचुरुुंगी फैलनु भनेको नेपालमा पर्यटकहरुको आगमन बढ्नु फैलनु हो। नेपालमा पर्यटकको आगमन बढ्नु भनेको पृथ्वीनारायणले भनेजस्तो नगद खैंचने आधार बन्नु र बढ्नु हो। यसरी वातवरण बनाएर बढाएर आम्दानी बढाउने आधार पृथ्वीविचारले अघि सारेको छ।

नेपालमा वातवरणसँग सम्बन्धित भएर काम गर्ने धेरै संघसंस्थाहरु छन्। तर ती संस्था तथा संस्थासंगका सम्बन्धितहरुको ध्यान पृथ्वीविचारतिर गएको पाइएको छैन। कम्तीमा पनि उनीहरुलाई पृथ्वीविचार वातवरण मैत्री तथा वातवरणको संरक्षणतिर पनि आकर्षित विचार हो भन्ने तत्व वोध भने भएकै हुनुपर्दछ।

वन मन्त्रालय तथा वातवरण मन्त्रालय सम्हालेर बसेकाहरुमा पनि यो कुराको हेक्का भएकै हुनुपर्दछ। पृथ्वीविचारलाई बिर्सेर वनजंगल वातवरणको संरक्षण हुन सक्दैन र जडीबुटी निर्यात गरेर नगद खैंचने पृथ्वीनारायणको उद्देश्य समेत पूरा हुन सक्दैन।

नेपालका प्रमुख तीन नदी कोशी, गण्डकी, कर्णाली जलाधार क्षेत्रका हिमाली, पहाडी तथा तराई सबै क्षेत्रमा प्रसस्त जडीबुटीका भण्डार छन्। अर्थात् सबै क्षेत्रमा प्रचुर मात्रमा जडीबुटी पाइन्छन्।

उर्वर जमिन कन्चन हिमाली जल पवित्र जडीबुटीको नेपाल हो। यस्तो महिमा प्रति नेपाल कहिल्यै गम्भीर भएको पाइएको छैन पृथ्वीनारायण पछि अहिले गणतन्त्रसम्म आइपुग्दा पनि।

पुष २७ गते पृथ्वी जयन्ती मनाउनेहरु तथा नमनाउनेहरु कसैले पनि पृथ्वीविचारमा निहित जडीबुटीको अर्थ र वातवरणीय महत्व संझन सकेको पाइएन। यसलाई कसैले गहन रुपमा सम्झेनन् अथवा हलुका रुपमा औपचारिकता मात्र निभाए। यसको कारणले जडीबुटीको विकास पनि हुन सकेन र वातवरणको पनि संरक्षण हुन सकेन। के अव ब्युँझनु पर्ने भएन?

विदेशीको दाना खाएर विदेशीको भाकामा गाना गाएर नेपालमा वातवरणको संरक्षण हुन सक्दैन। नेपालमा वातरवणको क्षेत्रमा काम गर्ने सबै वातवरण विद वा वातवरणवादी सबैले बुझ्न ढिला गर्न हुँदैन।

पृथ्वीविचारले नेपालको वातवरणवादी आन्दोलनलाई नेतृत्व र निर्देशन गर्न सक्ने यथार्थता बुझेमा मात्रै नेपालमा वातवरण संरक्षणको क्षेत्रमा ठिक ढंगले अघि बढ्न सकिन्छ। जडीबुटीको लागि जंगल,जंगलका लागि जडीबुटी वातवरणीय शुद्धताको लागि जंगल र जडीबुटी आर्थिक समृद्धिको लागि जंगल, जडीबुटी र वातवरणीय स्वच्छता एक अर्कामा अन्योन्याश्रित छन्।

पृथ्वीनारायणले जडीबुटीमार्फत धेरै भनेका छन्। जडीबुटीसँग प्रकट अप्रकट धेरै कुरा जोडेका छन्। जडीबुटीसँग अर्थ जोडेका छन्, स्वास्थ्य र वातवरण जोडेका छन्। पृथ्वीविचार वातवरण संरक्षणको विचार पनि हो भन्ने अन्य तथ्य र दृष्टान्तले प्रमाणित गर्दछ।

पृथ्वीनारायणले बग्ने पानीलाई उच्च महत्व दिएका छन्। उनले जमेको पानी भन्दा बगेको पानी खाने कुरामा जोड दिएका छन्। स्वास्थ्य स्फूर्तिको लागि पनि उनले बग्ने पानीलाई नै प्राथमिकता दिएका छन्। शुद्ध पानीका मूल, मुहान, झरना, खोलानाला नदीहरु र यीनका स्रोत हिमालय श्रृंखला आदि सबै स्वच्छ र शुद्ध बनाइरहने पृथ्वीविचारले भन्दछ।

पानी पनि वातवरण र आम्दानीसँग अलग्याउनै नसकिने प्रकृतिको वरदान हो। जडीबुटी वनजंगल बोट विरुवा आदि इत्यादि हराभरा सबैतिर पानी जोडिएको हुन्छ। यसरी बग्ने शुद्ध पानीमार्फत पनि पृथ्वीविचार वातवरणसँग जोडिएको छ।

वातवरणसँग जोडिएका हिमाल, पानी, जडीबुटी,वनजंगल आदि सबै आम्दानीसँग जोडिएका छन्। अथवा जोड्न सकिन्छ। त्यसैले पृथ्वीविचार वातवरण जोगाउने र त्यसलाई आम्दानीसंग जोड्नेमा स्पस्ट छ।

खेतीयोग्य जमीन बस्तीले नढाक भनेर पृथ्वीनारायणले निर्देशन विचार अघि सारेका छन्। अर्थात जताततै अन्नबाली फलपूmल वा नगदेवाली आदि इत्यादिको हरभरा होस्। जताततै कृषि उत्पादनसंग जोडिएर आउने बोट बाली रुख विरुवा आदि इत्यादिको हरभरा भइरहने हो भने यो आफैंमा वातवरण मैत्री हो आम्दानी मैत्री हो।

आँखाले हेरेर भ्याइ नसक्ने सयौं हेक्टरका ठूला ठूला कृषि फर्म हुन् लहलह हरियाली होस् पहेलपुर होस् के यो आफैंमा वातवरण जोगाउने र आम्दानी बढाउनेमा दर्ज हुँदैन र? कतै फलफूलको जंगल होस्, कतै खाने अन्नको खेति होस् त कतै तरकारीको खेति होस् कतै चिया कफीको जंगल होस् त कतै कतै जडीबुटीको प्राकृतिक खेति र कतै मानव श्रृजित खेती। यी सबै एकैपल्ट वातवरण जोगाएर आम्दानी बढाउने प्रमाणित हुनेछन्।

खेतीपाती व्यवसायलाई यसरी अगाडि बढाउने हो भने प्रतक्ष आम्दानी दिन्छ जसले खेती गर्छ अप्रत्यक्ष योगदान वातवरणको क्षेत्रलाई दिन्छ। यसरी प्रत्यक्ष, अप्रत्यक्ष पृथ्वीविचार वातवरण जोगाउदै आम्दानी बढाउनेमा जोडिएको छ।

नेपालमा वातवरणको लागि काम गर्ने भनेर धेरै अन्तर्राष्ट्रिय गैह्र सरकारी संघ संस्थाहरुले काम गर्दै छन्। वास्तवमा तिनीहरु प्राकृतिक वातवरण सपार्ने आवरणमा नेपालको सामाजिक वातवरण बिगार्ने काममा तल्निन छन्। नेपाललाई त्यस्ता वातवरणवादी चाहिएको होइन।

हामीलाई वातवरण मैत्री पृथ्वीविचार भए पुग्छ। प्रकृतिको वातवरण पनि मानव अझ प्राणी मैत्री भएर बाँचोस्। र सकारात्मक अर्थतन्त्र मैत्री वातवरण बनाएर त्यसबाट मुलुकले अर्थोपार्जन गर्न पनि सकोस्।

हरियो नेपाल आफैंमा आर्थिक हिसावले बलियो नेपाल हो। वातवरण जोगाएर आम्दानी बढाउने पृथ्वीविचारले यही भन्छ। हरियो नेपाल बलियो नेपाल वातवरण मैत्री सवल अर्थतन्त्र पृथ्वीविचारको मूलमन्त्र ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *