दुम्सीचौरमा नारेश्वर ताल निर्माणका बाँध निर्माण सुरु

डिसी नेपाल
१२ फागुन २०८० ९:४३

तनहुँ। तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरमा नारेश्वर ताल निर्माणको काम थालिएको छ। कृत्रिम ताल निर्माणका लागि बाँधको भित्तो काट्ने काम सुरु भएको हो।

व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा निर्माण हुन लागेको उक्त कृत्रिम तालको बाँध निर्माणअन्तर्गत भित्तो काट्ने कार्यको सुरुआत गरिएको छ।

पर्यटन, कृषि र रोजगारीलाई जोड्ने उद्देश्यका साथ नारेश्वर ताल निर्माण गर्न लागिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । कृत्रिम ताल सिँचाइ, मस्त्यपालनका साथै पर्यटनमार्फत आयआर्जन गर्ने लक्ष्य छ।

ताल निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको ताल संरक्षण प्राधिकरणमार्फत रु दश लाख, व्यास नगरपालिकाबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु एक करोड ५० लाख विनियोजन भएको छ ।

ताल निर्माणका लागि जिएस निर्माण सेवासँग रु एक करोड ८४ लाखमा आव २०७९/८० असारमा ठेक्का सम्झौता भएको इन्जिनियर जगन्नाथ चापागाईँले जानकारी दिए।

इन्जिनियर जगन्नाथ चापागाईँले उनले भने,’सम्झौताअनुसार एक वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने हो । तर, सर्भेका कारण ढिलाइ भयो । भर्खर मात्र ताल निर्माणका लागि कटिङको काम सुरु गरेका छौँ’, उनले बताए ।

उनका अनुसार आव २०८०/१ को असार मसान्तमा कृत्रिम ताल निर्माण सम्पन्न हुनेछ । नगरपालिकाले ताल निर्माणका लागि करिब २५ रोपनी जग्गा अधिग्रहण गरेको छ ।

आन्तरिक एवं बाह्य पर्यटकलाई जल विहार गराउने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगर प्रमुख न्यौपानेले बताए । उनका अनुसार ताल निर्माणका लागि दुम्सीचौर क्षेत्रका २० परिवारको जग्गा अधिग्रहण गरिएको छ । सो बापत उनीहरूलाई रु एक करोड ३७ लाख ६० हजार वितरण गरिएको छ ।

उपभोक्ताको २५ र ऐलानी जग्गा करिब २० रोपनी गरी कूल ४५ रोपनी क्षेत्रफलमा ताल निर्माण गर्न गरिनेछ । देवीडाँडा पर्यटन प्रवर्द्धन विकास समिति र नारेश्वर ताल पर्यटन प्रवर्द्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो पर्यटकीय क्षेत्र बनाउन लागिएको छ ।

पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक पर्यटकीयस्थल देवीडाँडामा वनभोजस्थल र भ्यू टावर निर्माण गरेर फूलैफूलको बगैँचा बनाउने योजना बनाइएको छ । उक्त स्थानबाट सिधै फुड ट्रयाक बनाएर खहरेस्थित छाङ्गा बाराही मन्दिर जोड्ने लक्ष्य छ ।

व्यास मार्ग हुँदै पर्यटक छाङ्गा बाराही मन्दिरको अवलोकनपश्चात् निर्माण गरिएको सिँढी चढ्दै देवीडाँडा पुग्न सकिनेछ । देवीडाँडामा निर्माण गरिएको भ्यू टावरबाट दृश्यावलोकनपश्चा(होमस्टे)मा पुगेर बास बस्ने व्यवस्था मिलाइने छ । यहाँबाट बन्दीपुर, दमौली, फराकचौर, गजौडे, मादी, दरबार, मिर्लुङकोट, क्यामिनकोट, मानुङकोट र गलेखामकोटलगायत स्थानको अवलोकन गर्न सकिन्छ ।

नारेश्वर तालमा जल विहार गराई तालघरे मार्ग हुँदै पृथ्वी राजमार्गमा पुगेर पर्यटक गन्तव्यमा पुग्न सक्नेछन् । तालमा डुङ्गा चलाउने, तालको दायाँबायाँ कटेज तथा फुड ट्रयाकलगायतका संरचना निर्माण गरिनेछ । नारेश्वर खोलाको पानी थुनेर ताल निर्माण गरिनेछ ।

तालको तीन सय मिटर लम्बाई र चौडाई ४० देखि ७० मिटर रहने इञ्जिनियर चापागाईँले जानकारी दिए । उनका अनुसार तालको गहिराइ दुई दशमलव पाँचदेखि तीन मिटर गहिरो हुनेछ । कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ । आठ मिटर उचाइको बाँध बाँधिने इञ्जिनियर चापागाईँको भनाइ छ ।

उनका अनुसार तालमा ३० हजार घनमिटरसम्म पानी सङ्कलन गर्न सकिनेछ । ताल निर्माणको काम थालिएपछि यहाँका स्थानीयमा खुसी छाएको छ । स्थानीय पदम दरैले यहाँ ताल निर्माण भएपछि पर्यटकको आगमन हुनका साथै यस क्षेत्रका लुकेर रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुने बताए । उनले भने, ‘ताल निर्माणको काम सुरु भएपछि खुसी भएका छौँ । ताल निर्माणले यर्द्धनमा टेवा पुग्नेछ ।’

ताल निर्माणपछि यहाँका स्थानीयलाई आयआर्जनसँग जोड्ने लक्ष्यका साथ ताल निर्माण गरिएको हो । यस क्षेत्रका घरबास तथा होटल व्यवसायसमेत फस्टाउनेछ । ताल निर्माण भएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा नगरपालिकाले लिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *