सत्ता गठबन्धनले नयाँ वर्ष काट्नै मुस्किल

डिसी नेपाल
१६ फागुन २०८० १४:१९

काठमाडौं। नेपाली राजनीतिमा वर्तमान सत्ता गठबन्धनमा किचलो बढेसँगै नयाँ समीकरणको सम्भावना बढेर गएको छ। यससँगै यो गठबन्धनले आउँदो नयाँ वर्ष पनि काट्न मुस्किल देखिएको छ ।

सत्ता गठबन्धनका प्रमुख घटकहरुमा उत्पन्न आपसी असमझदारी र बेमेलले गठबन्धनमा अन्यौलपूर्ण परिस्थिति निम्ँितदै भविष्य नै धरापमा परेको हो ।

गठबन्धनको प्रमुख घटक कांग्रेसले चुनावी गठबन्धन नगर्ने प्रस्ताव महासमिति बैठकबाटै पारित गरेपछि माओवादी तरंगित बनेको थियो। अहिले राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेस–माओवादी दुवैले दाबी यथावत राखेपछि थप संकट निम्तिएको हो।

माओवादीको बुधबार सम्पन्न स्थायी समिति बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपछि सत्ता गठबन्धनमा यो विषय थप पेचिलो बन्दै गएको छ।

यस अघि गठबन्धनमा भएको सहमति अनुरुप राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी कांग्रेस नेता कृष्ण सिटौलालाई उम्मेदवारी दिन लगाएर निर्वाचित गराइएको बताइएको थियो। तर अहिले राष्ट्रिय सभामा पहिलो दलकोे हैसियतले अध्यक्ष आफूले पाउनुपर्ने माओवादीले दाबी गरिरहेको छ।

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस र माओवादीको खिचातानीले गठबन्धनमा नै प्रलय आउने गरी आन्तरिक तिक्तता बढेको बताइएको छ। यसले सत्ता गठबन्धन नै विभाजन हुन सक्छ । यही फागुन २० मा हालका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल सकिँदैछ। लगत्तै अध्यक्ष चयन गर्नुपर्ने अवस्था छ।

राष्ट्रिय सभामा अहिले निर्वाचित भएका ५ सहित अब माओवादीका कूल १७ सांसदले प्रतिनिधित्व गर्दैछन्। ठूलो दलको हैसियतले अध्यक्षमा दाबी नछाड्ने माओवादीको अडान कायमै छ । कांग्रेसले भने चुनाव अगावैको पूर्वसहमति बमोजिम आफ्नो दलले अध्यक्ष पाउनुपर्ने दाबी गरिरहेको छ।

सत्ताधारी दलहरुबीच देखिएको बेमेलले घोषित रुपमा गठबन्धन तोड्ने रणनीति बनाएको एमाले हौसिएको छ । यता कांग्रेस भने माओवादीले फेरि एमालेसँगै सत्ता सहकार्य अघि बढाउन सक्ने भयले तर्सिएको चर्चा छ। यसले सबैभन्दा ठूलो धक्का प्रधानमन्त्री बन्ने पालो पर्खिएर बसेका कांग्रेस सभापति शेरबहादुर देउवालाई लागनेछ।

प्रधानमन्त्री बन्ने पालो आउनै लागेका कारण गठबन्धन जोगाउन देउवाले पार्टीको महासमिति बैठकमा चलाखी गरेका थिए । बैठकमा गगन थापाले पेश गरेको आगामी चुनाबमा गठबन्धन नगर्ने प्रस्ताव पारित गरे पनि यो प्रस्ताव शर्तसहित पारित भएको थियो । देउवाले गठबन्धनका विषयमा अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय समितिमा रहने शर्तसहित यो प्रस्ताव पारित गराएका थिए । केन्द्रीय समितिमा देउवा पक्षको स्पष्ट बहुमत छ ।

कांग्रेसबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा धोका पाएको भनिरहेको माओवादी कांग्रेस सभापतिको चलाखीबाट पूर्ण सन्तुष्ट हुन सकिरहेको छैन । विकल्प खोजिरहेको माओवादीले बाम गठबन्धनलाई सबैभन्दा उपयुक्त विकल्प ठानेको स्रोत बताउँछ । र, सोही विकल्पका रुपमा उसले एमालेसँग सहकार्यको लागि प्रयास अगाडि बढाएको छ जसले गठबन्धन संकटमा परेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालसँग निकटता बढाएपछि नयाँ समीकरणको सम्भावना बढेको जानकारहरु बताउँछन्। स्रोतका अनुसार तत्कालीन अवस्थामा एमाले र माओवादी इलाम र बझाङको उपनिर्वाचनमा वाम गठबन्धन बनाएर जाने सम्मको तयारीमा छन् ।

सहकार्यका लागि भएको छलफलमा एमाले अध्यक्ष ओली संसदमा विचाराधीन रहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी)लाई टुंगो लगाउन समेत लचक भएको बताइएको छ। अध्यक्षद्वयबीच बढेको सौहार्दताले वाम गठबन्धनको परिस्थिति निर्माण हुँदै गएको स्रोतले बतायो । आगामी गठबन्धनमा सत्ता बाँडफाँट लगायत अन्य मोडालिटीका विषयमा पनि छलफल चलिरहेको स्रोतको दाबी छ।

स्रोतका अनुसार बितिसकेको कार्यकालसहित कूल तीनवर्ष केन्द्र सरकारको नेतृत्व माओवादीले गर्ने र त्यसपछिको चुनावी सरकारको नेतृत्व एमालेलाई सुम्पिने गरी आन्तरिक गृहकार्य भइरहेको छ। यसका लागि सबै प्रदेश सरकारमा एमालेलाई नेतृत्व दिन माओवादी लचिलो छ ।

एमाले सरकारमा सहभागी हुनुभन्दा पहिल्यै राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र आसन्न उपनिर्वाचनमा पनि सहकार्य गर्ने गरी छलफल चलिरहेको छ । निर्वाचन आयोगले एमाले नेता सुवास नेम्वाङको निधनपछि रिक्त इलाम २ र प्रदेशतर्फ कांग्रेस नेता पृथ्वीबहादुर सिंहको निधनपछि रिक्त बझाङ १ मा बैशाख १५ गते उपनिर्वाचनको घोषणा गरेको छ।

यी दुवै क्षेत्रमा वाम गठबन्धनका संयुक्त उम्मेदवार उठाउने गरी एमाले माओवादी नेतृत्व तहमा आन्तरिक तयारी सुरु गरिएको स्रोतको दाबी छ। माओवादीको मंगलबार बसेको स्थायी समिति बैठकमा पनि राष्ट्रिय सभाको अध्यक्ष कुनै हालतमा नछाड्न अध्यक्ष दाहाललाई अधिकांश सदस्यहरुले दवाब दिएका थिए।

बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सभाको अध्यक्ष कुनै हालतमा कांग्रेसलाई नदिन अध्यक्षलाई दवाबसँगै कांग्रेससँगको सहकार्य दीर्घकालसम्म लैजाँदा पार्टीलाई थप क्षति हुने सम्भावना पनि औंल्याएका थिए। यसले निकट समयमै एमाले माओवादीबीच फेरि नयाँ समीकरण बन्ने सम्भावनालाई बढावा दिएको राजनीतिक वृत्तमा चर्चा छ ।

अहिले चार दल, माओवादी, जसपा, एकीकृत समाजवादी र नेकपा सम्मिलित समाजवादी मोर्चाको नेतृत्व पनि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले लिएका छन्। यही शनिबार बसेको मोर्चाको बैठकले विप्लवलाई मोर्चाको जिम्मा दिँदै एमालेसहित सबै वाम घटकलाई मोर्चामा समेट्न पत्राचार गर्ने निर्णय समेत गरेको थियो।

यसले पनि वाम गठबन्धनको सम्भावनालाई थप मलजल पुर्याएको छ भने दोस्रो तहका नेताहरुले झनै सक्रियता बढाइरहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *