अध्यात्म

शिवलिंग र महादेवमा के फरक छ ?

हरिप्रसाद सोडारी
१८ फागुन २०८० ८:२७

शिव, महादेव, रुद्र, नीलकण्ठलाई एकै तत्व र स्वरूपमा बुझेको पाइन्छ। लामो समयदेखिको भ्रमपूर्ण व्याख्या, गलत अभ्यास र अपूर्ण शिक्षाले यस्तो हुन पुग्यो।

विष्णु शेषनागमाथि क्षीरसागरमा योगनिद्रामा सुतेका, ब्रम्हाले कमलको फूलमाथि बसी परमात्माको चिन्तन गरेका, महादेवले हिमालयमा आसन कसेर ध्यान गरिरहेका पुराणहरु बताउँछन्।

यिनीहरू परमात्मा भए अरूको ध्यान किन गर्छन्? पुराणहरूका अनुसार महादेव, विष्णु, देवी, गणेश, ब्रम्हा आदि सबै ठूला देखिन्छन्। एउटै धर्मका ग्रन्थहरूमा देखिएका यी भिन्न एवं विवादास्पद कथनहरूले सर्वश्रेष्ठ को हो? भन्नेमा एकरुपता छैन।

शास्त्रका मर्म तथा संकेत नबुझ्दा सनातनधर्मभित्र शैव, वैष्णव, शाक्तलगायतका सम्प्रदायको जन्म हुन पुग्यो। पुराणलाई इतिहासहरूका स्वरूपमा, मिथकलाई सन्देशका रुपमा, देवीदेवताको स्वरुपलाई सूचनाका रुपमा बुझ्नुपर्छ।

ब्रम्हा विष्णुर्महेशश्च त्रयो देवाः शिवांशजाः ।
महेशस्तत्र पूर्णांशः स्वयमेव शिवः परः ।। –शिवपुराण (रुद्रसंहिता, सृष्टिखण्ड ५।३०)

अर्थात् “शिवकै अंशबाट ब्रम्हा, विष्णु, महेश्वर तीन देवको उत्पत्ति भएको हो। महेशचाहिँ शिवको पूर्णांश भएकाले परमात्मा छन्।” शिवलिंग राखेको मन्दिरलाई शिवालय, अन्य देवीदेवताको मूर्ति राखिएमा देवालय वा मन्दिर भनिन्छ।

शिवको मूर्तिमा लिंग, ईश्वर, नाथ, पति आदि शब्द जोडिन्छ। जटाधारी, गंगाधारी, त्रिशूलधारी, डमरुधारी स्वरुपले महादेवलाई चिनाउँछ। छिट्टै खुसी हुनालेभोलेनाथ, महान् डाक्टर भएकाले वैद्यनाथ, नृत्य सम्राट्का रूपमा नटराज, जेष्ठ र श्रेष्ठ भएकाले महेश, भूत-प्रेत-योगिनी-बोक्सी आदिका अभिभावक भएकाले भूतेश, चौधसूत्रका जन्मदाताका रूपमा महादेवका नामले चिन्दछौँ। तैत्तिरीयसंहिता (४।१।२)मा शिव तनुह … भनी रुद्र अर्थात् महादेवलाई शिवको रुप मानिएको छ। बाणभट्टले कादम्बरीको मंगलाचरणमा भन्नुभएको छ-

रजोजुषे जन्मनि सत्ववृत्तये स्थितौ प्रजानां प्रलये तमस्पृशे
अजाय सर्गस्थितिनाशहेतवे त्रयीममाय त्रिगुणात्मने नमः ।।१।।

अर्थात् “सृष्टि गर्दा रजोगुण स्वरूप, पालन गर्दा सत्वगुण स्वरूप, प्रलय गर्दा तमो रुप बनेर विनाश गर्नुहुन्छ। यस्ता त्रिगुणात्मक स्वरूप शिवलाई नमस्कार छ।” शिव एक छन्, नित्य छन्, दोष र गन्धरहित छन्, निरतिशयसुख र ब्रम्हचैतन्य छन्।

मेची, कर्णाली, गंगा, नाइल, अमेजन आदि नदीमा देखिने सूर्य फरक होइन, एउटै हुन्। त्यसरी नै ब्रम्हा, विष्णु, महेश, सरस्वती, लक्ष्मी, पार्वती अनेक देवीदेवता भए पनि सारांशमा ती शिवकै अंश हुन्।

यथा तथा न भिद्यन्ते शैवा माहेश्वरा अपि ।
शिवाश्रिता हि ते शैवा ज्ञानयज्ञरता नराः ।।
माहेश्वराः समाख्याता कर्मयज्ञरता भुवि ।
तस्मादाभ्यन्तरे कुर्युः शैवा माहेश्वरा बहिः ।।
-शिवपुराण (वायवीयसंहिता २९।९–१०)

अर्थात् “शैव र माहेश्वरमा धेरै भिन्नता छैन। शिवमा विश्वास गर्ने एवं ज्ञानमार्गमा लागेकाहरू शैव हुन्, कर्ममा रत भई महेश्वर (महादेव)मा विश्वास गर्नेहरू माहेश्वर हुन्। यसैले शैवहरूले भित्री र माहेश्वरहरूले बाहिरी कार्य गर्नुपर्छ।”

शिवलाई ज्ञानमार्गद्वारा प्राप्त गर्न सकिन्छ। ज्ञानमार्गमा लाग्नेहरू कामनारहित हुन्छन्, आत्मा (शिव) चिन्तनमा लाग्छन्। फलको आशा गर्नेले महादेवको पूजा, निष्कामीहरुले शिवको चिन्तन गर्छन्। निम्नानुसार शिव र महादेवमा फरक छ।

-शिव निराकार हुनुहुन्छ, जन्म र मृत्यु हुँदैन। शिरमा चन्द्रमा र गंगा, घाँटीमा वासुकि सर्प, शरीरमा भस्म लेपन गर्ने देहधारी देवताविशेषलाई महादेव भनिन्छ।

-शिवको आकार वा स्वरुप छैन महादेव आकारी हुन्।

-शिवको अंश महादेव हो भने महादेवको एक अंश रुद्र हो।

– शिव सबैका मातापिता, सृष्टिकर्ता र संरक्षक हुन्। महादेवको सतीदेवी र पार्वतीसँग विवाह भयो। गणेश र कुमार उहाँका पुत्र हुन्।

– शिवको वर्णन वेदमा अधिक छ तर महादेवको सम्बन्ध तन्त्र र पुराणमा छ।

-शिवलाई मूर्तिरूपमा शिवलिंग, वाक्यमा नमः शिवाय, शब्दमा ॐले बुझिन्छ। महादेवलाई रुद्र, गंगाधर, नीलकण्ठ आदि नामले चिनिन्छ।

-शिवको वाहन नन्दी हो तर महादेवको रथको ध्वजामा नन्दी रहन्छन्।

– शिवको जन्म, पुनर्जन्म र अवतार छैन। महादेवका अनेक अवतार छन्।

-महादेव हिमालयमा बसेर निरन्तर शिवमा ध्यानमग्न हुनुहुन्छ।

-शिवको नाश हुँदैन। महादेव निश्चित कल्पपछि शिवमा लय हुनुहुन्छ ।

-शिव पूज्नेलाई सनातनधर्म भनिन्छ, महादेव पूज्नेलाई माहेश्वर सम्प्रदाय भनिन्छ।

-शिवबाट पहिले उत्पन्न भएकाले महादेवलाई शिवकै स्थान दिइएको हो।

-शिवमूर्तिमा नाथ, ईश्वर, पति जोडिन्छ जस्तै रुद्रागारेश्वर, सोमनाथ, पशुपति तर महादेवको नाममा स्थापित मन्दिरमा ‘महादेव’मात्र जोडिन्छ जस्तै हलेशीमहादेव।

-सत्य, अनन्त र आनन्द नै शिव हो। महादेव देवता हुन्, शिव परमात्मा हुन्।

-शिवको निवासलाई शिवालय, मूर्तिलाई शिवलिंग भनिन्छ। महादेवको मूर्ति भएको मन्दिरलाई देवालय भनिन्छ।

शिवो दाता शिवो भक्ता शिवः सर्वमिदं जगत्।
शिवो यजति सर्वत्र यः शिवः सोहमेव तु ।।

-ईशानशिवगुरुदेवपद्धति (सिद्धान्तसार १३।१२६)

अर्थात् “शिव दाता, भक्ता हुन्, यी सबै उनैमा छन्। उनकै पूजा सर्वत्र हुन्छ, जो शिव हुन् त्यही म हूँ।” वेदले शिवलाई ज्ञान र आत्माको रुपमा चर्चा गरेको छ । यसकारण शिव अक्रिय, साक्षी, द्रष्टा हुन् तर महादेव जगत्का लयकर्ता हुन्।

‘यः कल्याणं सुखं करोति स शंकरः’ जो कल्याण अर्थात् सुख प्रदान गर्दछ त्यसलाई शंकर भनिन्छ। ‘यो महतां देवः स महादेवः’देवताहरूमा ठूला अर्थात् महादेव हुन्। देवताको अर्थ प्रकाश हुन्छ।

शिवाश्रितेषु ते शैवा ज्ञानयज्ञरता नराः ।।
माहेश्वराः समाख्याताः कर्मयज्ञरता भुवि ।
तस्मादाभ्यन्तरे कुर्युः शैवा माहेश्वरा बहिः ।।
श्रीसिद्धान्तशिखामणि (५।२०-२१)

अर्थात् “शिवमा आश्रितहरू शैव हुन् जो ज्ञानी छन्। माहेश्वर भनिनेहरू कर्ममा रत हुन्छन्। त्यसकारण भित्रि ज्ञानमा शैव र बाहिरी कर्ममा माहेश्वरसम्प्रदायका साधकहरू लाग्दछन्।”

महादेवको पूजा गर्न मूर्ति वा विग्रहविशेष आवश्यक पर्छ, शिवलाई भौतिक स्वरुप वा सामग्रीको जरुरत पर्दैन। शैवहरू संसारबाट विरक्त हुन्छन्। शिवस्वरूपमा शिवलिड्ड पुजिन्छ, महादेवका साकार रुपमा अनेक मूर्ति बनाइन्छन्।

नेपाललाई देवभूमिका रुपमा चिनाउन शैवक्षेत्र भनियो अन्यथा महादेवक्षेत्र भनिने थियो। परमात्माको अनुकम्पा भएकाले नेपाल शैव क्षेत्र भयो अन्यथा महादेवक्षेत्र, वैष्णवक्षेत्र वा शाक्तक्षेत्र अन्य भूमि हुने थियो। यसरी शिव र महादेवबीच उत्पत्ति, आकार, कार्य आदिका आधारमा अनेकौँ भिन्नता छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *