सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति

डिसी नेपाल
२० फागुन २०८० ६:४१
40
Shares

काठमाडौं। सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच शनिबार भएको वार्तामा पाँच बुँदे सहमति भएको छ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए।

उहाँका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको हो।

वार्तामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरलगायतको सहभागिता रहेको थियो।

दूधको भुक्तानी रोकिएको भन्दै संघले यही फागुन ८ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेको थियो। अध्यक्ष कुँवरले सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *