राष्ट्रिय सभा अध्यक्षमा दाबी गरिरहेको माओवादीले अर्थ मन्त्रालय पनि माग्यो, गृह पनि नछोड्ने

डिसी नेपाल
२० फागुन २०८० १४:२१

काठमाडौं। राष्ट्रिय सभाको अध्यक्ष पदमा आफ्नो दावी नछोड्ने आधिकारिक निर्णय गरिसकेको नेकपा माओवादी केन्द्रले अब अर्थ मन्त्रालय पनि आफूले पाउनुपर्ने माग गरेको छ।

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस अध्यक्ष शेरबहादुर देउवासँगको भेटमा अर्थ मन्त्रालय पनि आफूले पाउनुपर्ने माग गरेको स्रोतले जनाएको छ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि समानान्तर भेट गरेका छन्। आइतबारको भेटमा प्रधानमन्त्रीले देउवासँग अर्थ मन्त्रालय पनि आफ्नो पार्टीसँगै राख्ने माग गरेका हुन्।

प्रधानमन्त्रीको एमाले अध्यक्षसँगको लगातार भेटलाई लिएर सत्तारुढ गठबन्धन संकटमा परेको दावी समेत गरिएको छ। सत्ता गठबन्धनमा कांग्रेसलाई दिने सहमति भएको दावी गरिएको राष्ट्रिय सभा अध्यक्ष पद माओवादीले मागेपछि गठबन्धनको किचलो सतहमा आएको थियो।

कांग्रेसले गठबन्धनभित्र राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिने सहमति भएको र सोही प्रजोजनका लागि अध्यक्ष बनाउने नै उद्देश्यका साथ कृष्ण सिटौलालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएर जिताइएको दावी गर्दै आएको छ।

तर, माओवादी भने आफ्नो दल राष्ट्रिय सभामा सबैभन्दा ठूलो भएकोले अध्यक्ष आफूले पाउनुपर्ने तर्क गर्छ। भोलिदेखि राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरु थपिएपछि माओवादीको सदस्य संख्या सबैभन्दा धेरै हुँदैछ।

राष्ट्रिंय सभा अध्यक्षकै विषयमा किचलो चलिरहेका बेला प्रधानमन्त्रीले कांग्रेस सभापति देउवासँग अर्थ मन्त्रालय पनि छोडेर आफूलाई दिन माग गरेपछि यो किचलो झनै बढ्ने अनुमान गरिएको छ।

हाल कांग्रेसका प्रकाशशरण महत अर्थमन्त्री छन्। उनको कामबाट सत्तँ साझेदार, प्रतिपक्ष मात्रै नभए कांग्रेसकै नेतृत्व समेत सन्तुष्ट नभएको बताइन्छ। त्यसैले कांग्रेसभित्रै अर्थमन्त्री परिवर्तनको छलफल भइरहेको स्रोत बताउँछ।

कांग्रेसले अर्थमन्त्री फेरेर आफ्नै पार्टीबाट नयाँ अर्थमन्त्री नियुक्त गर्ने तयारी गरिरहेका बेला माओवादीले अर्थ मन्त्रालयसमेत आफैंले राख्ने माग गरेको हो। भेटमा कांग्रेस सभापतिले नयाँ अर्थमन्त्रीको रुपमा डा. नारायण खड्कालाई प्रस्ताव गरेको तर प्रधानमन्त्रीले नमानेको स्रोत बताउँछ।

खड्कालाई अर्थमन्त्री बनाउने प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालय आफैंले लिने प्रस्ताव गरेपछि देउवाले गृह मन्त्रालय मागेका थिए। ‘तर, गृहमन्त्री नारायणकाजी श्रेष्ठको कामप्रति जनताको पनि सेन्टिमेन्ट रहेको भन्दै प्रधानमन्त्रीले गृह मन्त्रीलाई हटाउन मान्नुभएन’ स्रोतले भन्यो।

प्रधानमन्त्रीको यो माग देउवामाथि दबाब बढाएर आफू अझै शक्तिशाली बन्ने र त्यसो हुन नसके गठबन्धन तोडिनुको दोष देउवामाथि लगाएर आफू बाम गठबन्धनतर्फ अगाडि बढ्ने रणनीतिको रुपमा हेरिएको छ।

गठबन्धनको पूर्वसहमति अनुसार आफ्नो भागमा परेको प्रधानमन्त्रीको कार्यकालको अधिकांश समय सरकारको नेतृत्व गरिसकेका प्रचण्ड देउवालाई दबाबमा राख्न चाहन्छन्। र, पालो कुरिरहेका देउवा ‘मुखमा आइसकेको’ प्रधानमन्त्री पद गुमाउनुभन्दा झुक्न तयार हुने प्रचण्डको बुझाइ रहेको स्रोत बताउँछ।

स्रोतका अनुसार देउवा झुक्न तयार भए भने यसले माओवादीलाई फाइदा नै हुने र यदि देउवा झुक्न तयार नभए देउवालाई गठबन्धन तोड्ने कारक बनेको दोष लगाएर आफू बाम गठबन्धनतर्फ लाग्न सहज हुने प्रचण्डको बुझाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *