‘महरा सर’को राजनीतिक उडान, काण्डैकाण्डले अवसान

शिक्षक त्यागेर राजनीतिमा होमिए, सांसद त्यागेर जनयुद्धमा हिँडे

शरद रिजाल
६ चैत २०८० १३:१७

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वासपात्रको रुपमा लिइन्थ्यो। उनी माओवादीले सुरु गरेको जनयुृद्धमा सांसद पद परित्याग गरेर हिँडेका थिए।

रोल्पाको सदरमुकाम लिवाङ नजिकै रहेको उनको घर मेवाङबाट राष्ट्रिय राजनीतिमा उडान भरेका महराले उल्लेख्य गति हासिल गरे पनि उत्तरार्धमा अनेकौ काण्डले राजनीतिक अवरोहको सिकार बनेका छन्।

माओवादीभित्र इमान्दार र सादगी नेताको परिचय बनाएका महरा एकपछि अर्को काण्डमा मुछिएपछि विगतको साख धुमिल बन्दै गएको छ।

रोल्पा सदरमुकामको बालकल्याण माध्यमिक विद्यालयमा गणित विज्ञानको स्थायी शिक्षक हुँदै २०४८ सालको आम निर्वाचनमा रोल्पा २ बाट महरा निर्वाचित भएका थिए।

रोल्पा १ बाट बर्मन बुढा र २ बाट महरा निर्वाचित भएका थिए। अर्का सांसद बुढाले राष्ट्रिय राजनीतिमा खासै उचाइ हासिल गर्न सकेनन्। सांसद भएपछि त्यसयता राजनीतिक सक्रियता समेत नबढाएका बुढाको केही वर्ष अघि निधन भइसकेको छ।

तत्कालीन नेकपा (एकताकेन्द्र)को रोल्पा सेक्रेटरी हुँदै संसद बनेका महरा संयुक्त जनमोर्चाको संसदीय दलको नेता समेत बन्न पुगे।

एकताकेन्द्रको चुनावी मोर्चा संयुक्त जनमोर्चाबाट निर्वाचित देशभरका ९ सांसद मध्ये महरा एक्लै जनयुद्धमा होमिएका थिए। तत्कालीन संसदमा तेस्रो शक्तिको रुपमा रहेको महराको दलबाट युद्धमा सहभागी हुने एक्लो सांसद हुन्।

सोही संसद परित्याग गरेर युद्धमा होमिएका महराले छोटो समयमै राजनीतिमा उच्च तहको उडान भरेका थिए।

उनको दल विभाजित भएर गठित नेकपा(माओवादी)ले २०५२ सालमा थालनी गरेको जनयुद्धमा महरा सांसद पद त्यागेर सहभागी भएका थिए। त्यस पछि शान्ति प्रक्रिया प्रवेशको समयमा माओवादीको तर्फबाट मूल भूमिका निर्वाह गरेका उनले पार्टीको तर्फबाट पटक पटक सरकारमा सहभागी हुने अवसर पाएका थिए।

यता रोल्पा-१ बाट निर्वाचित बुढा गुमनाम भएपनि उनकै समकक्षी रहेका महरा भने माओवादी जनयुद्धमा सरिक हुँदै राष्ट्रिय राजनीतिमा प्रभावशाली स्थान बनाउन सफल भए। तथापि पछिल्ला उनको जीवनमा आएका उतार चढावयुक्त परिघटनाले राजनीतिक र व्यक्तिगत प्रतिष्ठा तंग्रिन नसक्ने अवस्थामा पुर्याएको छ।

रोल्पाको अध्यापनकालीन समयमा सबैका प्रिय महरा सर अहिले अनेकौं काण्ड र सुन तस्करीमा संलग्नताको आरोपले विगतको ओजमा निकै ह्रास आएको छ। उनको व्यक्तित्वमा आएको क्षयीकरणमा अदृष्य भूमिका अन्यको पनि हुनसक्ने आशंका कतिपयले गर्दछन्।

माओवादीका अधिकांश नेताहरुको शैक्षिक एवं राजनीतिक गुरु रहेका उनलाई रोल्पामा सबैले महरा सरका रुपमा सम्बोधन गर्छन्। उनले शैक्षिक र राजनीतिक चेत जागृत गराएका नेताहरुको संख्या माओवादीमा अधिक रहेका छन्।

उनले हाल माओवादीमा रहेका उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, नेत्रविक्रम चन्द, लुम्बिनीका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, पूर्वसभामुख ओनसरी घर्ती र पूर्वसांसद जनयपुरी घर्ती लगायतका राजनीतिक एवं शैक्षिक गुरु समेत हुन्।

माओवादी शान्तिप्रक्रियामा आएपछि सुरु गरेको सत्तायात्रामा महरा सबैभन्दा बढी सत्तामा पुग्ने नेतामा पर्दछन्। उनी २०६३ सालदेखि निरन्तर सरकारमा सहभागी हुने अवसर पाएका थिए।

यसअघि सभामुख हुँदा बलात्कारको आरोप लागेपछि अवरुद्ध भएको उनको राजनीतिक उडान पूर्ववत् अवस्थामा फर्किन सकेको थिएन। भर्खरै सुन तस्करीको आरोपमा पक्राउ परेपछि उनको राजनीतिक अवशानको नजिक पुगेको आकलन गरिएको छ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन्। सो आरोप पछि सभामुख पद गुमाएका महराले काठमाडौं जिल्ला अदालतको फैसलाबाट सफाइ पाएका थिए।

तथापि गुमाएको राजनीतिक साख भने फर्काउन असमर्थ बनेका उनलाई पछिल्लो सुनतस्करीमा संलग्नताको आरोपले झनै राजनीतिक अवशानको सन्निकट पुर्याएको छ।

२०७४ को निर्वाचनमा दाङ २ बाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका उनी सो प्रकरण पछि गत निर्वाचनमा उम्मेदवार बन्न सकेनन्। उनी बलात्कार प्रकरणमा मुछिएपछि ओरालो राजनीतिक यात्रा सुरु भयो।

भर्खरै सुनकाण्डको आरोपमा पक्राउ परेपछि उनको राजनीतिक यात्रामा अब पूर्णविराम लाग्ने पनि कतिपयले चर्चा गर्दछन्।

उसोत स्वास्थ्य अवस्थाले पनि उनलाई राजनीतिक सक्रियताको लागि साथ नदिने देखिएको छ। सोमबार प्रहरीले पक्राउ गरेपछि जिल्ला अदालतमा प्रहरीले म्याद थप गर्न लैजाँदा आफू धेरै रोगबाट पीडित रहेको बताएका थिए।

चार दिन अनुसन्धानका लागि म्याद थप गरिएका महरालाई उनको आग्रह बमोजिम अदालतले अस्पतालमा राख्न निर्देशन दिएको थियो। अहिले महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ।

उनलाई माओवादीले कारबाही गर्ने या राजीनामा दिने मध्ये एक विकल्प रोज्न उर्दी जारी गरिसकेको छ। सायद आजै उनको बारेमा माओवादीले कठोर निर्णय गर्ने सम्भावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *