नेपाल लाइफको अन्तरक्रियामा विश्वकै ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्थाका साझेदार नेपालमा

डिसी नेपाल
९ चैत २०८० ११:५७

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्ने अभिप्रायका साथ संसारमै लब्ध प्रतिष्ठित तथा विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको समुपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा एक विशेष अन्तरक्रिया कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न उक्तविशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरू, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको बताए ।

यस किसिमको विचार मन्थन गर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरुलाई अन्तराष्ट्रिय स्तरमा भइरहेका विकासक्रम तथा असल अभ्यासहरुसँग चिरपरिचित हुन सहज हुने बताए । यस प्रकारको आयोजनाले ज्ञानको आदानप्रदान हुनेमा विश्वस्त रहेको प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यस विशेष आयोजनका निम्ति यस कम्पनीलाई धन्यवाद ज्ञापन गरे । उनले अहिले बदलिँदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहल कदमीहरु चालिरहेको बताए ।

संंस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरु जारी गर्दै आएको समयमा संसारमा भइरहेको अभ्यासको जानकारी सोहि क्षेत्रमा प्रत्यक्ष रूपमा काम गरिरहेका फिलिप ज्याक्शनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्लित भएको बताए । बीमा बजारको विकासका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरु हुँदै आएको र सोको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे ।

विश्वकै सबैभन्दा ठूलो स्वतन्त्रएक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनले नेपालको बीमा क्षेत्रका अवसर, समस्या र चुनौतीका बारेमा बृहत प्रस्तुतिकरण दिएका थिए । उनले नेपाली जीवन बीमा कम्पनीहरुलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गरेका थिए । त्यसका साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत प्रकाश पारेका थिए ।

यसैगरी ज्याक्शनले नेपालमा कार्यान्वयन गर्न लागिएको रिस्क बेस्ड क्यापिटलमा आफ्नो विचारहरु प्रकट गरे र उनले अरु मुलुकमा यसको कार्यान्वयनमा रहेको सहजता र जटिलताको बारेमा प्रकाश पार्दै नेपालमा सहज तरिकाले यसलाई कार्यान्वयन गर्न के कस्तो रणनीति अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा पनि आफ्नो सुझाव दिए ।

उनले अहिलेको नीति नियममा रहेका केही कमी कमजोरीहरुलाई औंल्याउँदै यसलाई अन्तर्राष्ट्रिय अभ्यासहरू सँग दाजेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा पनि सल्लाह सुझावका रुपमा प्रस्तुत गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ अधिकारीहरूद्वारा तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूबाट आएका जिज्ञासाहरूको जवाफ फिलिप ज्याक्शनले दिएका थिए ।

कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको आयोजनले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *