कथाः हलेँसीको मेला

खेमराज पोखरेल
१७ चैत २०८० ७:१२

सद्बिज छरिसक्ने बित्तिकै हाम्रो टोली हलेँसीबाट उँधो लाग्यो। म पनि सुनकोशी भेट्न ओरालो लाग्दैछु। किनारै किनार झर्दैछु। सुनकोशी सनातन बगिरहेको छ।

बगरमा उष्णता छ। उष्णताभित्र पनि सुनकोशीको पानी चिसो छ। यो कस्तो स्थीरता होला? वा यो संयोग होला? सुनकोशी एकनासले बगिरहेछ। ऊ जे भेट्छ बगाइ दिन्छ। बग्नु उसको नियति हो र बिनापक्षपात बगाइ दिन्छ। उसको इच्छा वा बाध्यता।

मैले आमालाई अनायासै प्रश्न गरेँः ‘आमा, यो सुनकोशीले पनि होचो र अर्घेलो गर्छ?’

यद्दपी त्यो प्रश्नको आमाले दिने उत्तर मलाई थाहा थियो।

आमाले भन्नुभयोः ‘यी सुनकोशी भनेकी सात बहिनीमा जेठी हुन्। यिनको दरवारमा सबै समान, होचो अर्घेलोको गुन्जाइस नै छैन। मान्छेका पापहरू सललल बगाउँछिन्, बिनाभेदभाव’।

अनि मैले प्रश्न गरेँथेँः ‘अनि मान्छेमा चाहिँ किन होचो अर्घेलो आमा, मान्छे पनि त सुनकोशीजस्तै भगवानको श्रृष्टि होइन र?’

आमाले उत्तर दिनुभएथ्योः ‘थितिमा राखेन भने मान्छे हिंस्रक बन्छ। अराजक बन्छ। पापी हुन्छ। निर्घिणी हुन्छ। कृतघ्न हुन्छ। त्यसैले थिति बाँधिएको हो छोरा’
‘यो जात चाहिँ किन नि आमा?’ मैले सोधेँथेँ।

‘चलन हो’ आमाको टालटुले उत्तर थियो।

अनि मैले थप प्रश्न गरेँथेँः ‘पानी नचल्नेले सिएको लुगा चल्छ। हतियार चल्छ। काम चल्छ। काँचो चल्छ। पाकेको किन चल्दैन आमा?’

आमाले मेरो प्रश्न बुझ्ने कुरै थिएन। हामी लगातार अधि बढिरह्यौँ। सुनकोशीजस्तै उँधो उँधो। फरक यत्ति थियो सुनकोशी बिनाभेदभाव अघि बढिरहेको थियो। हामी मान्छे भेदभाव बोकेर अघि बढिरहेका थियौं। पाप पालेर अघि बढिरहेका थियौँ। र पनि हामी मक्ख थियौँ। हामीले धर्म, उफ धर्म गरिरहेका वा पाप गरिरहेका थियौँ। केही त म पनि बुझ्दै थिएँ। तर के बुभ्दै थिएँ कुन्नि?

०००००

मलाई घँगरुको लौरोले साथ दिइरहेको थियो। सुनकोशीको राईघाटबाट टुप्पोसम्मको उकालो चढ्नु थियो। टुप्पोमा छ भन्थे हलेँसी महादेवस्थान। मेरो फोक्सो आरनको खलाँतीजस्तै हल्लिरहेको थियो। खुट्किलै पिच्छे जीवनजल खाँदै म उकालोमा थिएँ। सबै आफन्त अघिअघि थिए। मलाई सबैले छोडेका थिए। तर यो लौरो।

आखिर लौरो जत्तिको इमान्दार त संसारमै हुन्न होला। माथि उक्लिँदा हलेसी मेला फस्टाएको थियो। सेल पाकिरहेका थिए। मधेसबाट पनि खिर्चिमिर्ची सामान लिएर देशी आएका थिए। पहाडबाट राडी पाखी बिक्रीमा थिए। दिउँसैदेखि जाँड र रक्सीका पसलहरूमा मान्छेहरू मातिइरहेका थिए। मान्छेहरू भजन गाइरहेका थिए।

दोहोरी खेलिरहेका थिए। बालन खेल्दै थिए। सँगिनी खेल्दै थिए। रक्सीले मातेका पनि थिए, तातेका पनि थिए। राति पनि सेल पाकिरहेको थियो। टर्चलाइटको प्रकाशमा मान्छे यताउता गरिरहेका थिए। हामी जोड थाकेका थियौँ।

बासको व्यवस्था गर्नु थियो। हलेँसी मेला व्यवस्थापन समितिले केही स्यौलाले पातलो छाएको अगाडिपट्टि हवाङ्ग भएको लामो लमतन्न परेको कटेरोको व्यवस्था गरेको थियो। त्यो पनि बेलैमा आफ्नो ओढ्ने ओछ्याउनेले ठाउँ नरोके नपाउने सम्भावना थियो।

हामी त्यही सेउले कटेरोभित्र बस्यौँ र घरबाटै ल्याएको च्युरा कुराउनी मुक्याउन थाल्यौँ। मंसिरको महिना, शितले ल्याफ्र्क्कै भिजेको थियो बाहिर। चिसो थियो। स्यौलाको कटेरोभित्र मान्छे लहरै खाँदिएर सुतेका थिए। हामी पनि सुत्यौँ। म कटेरोको पुछारमा परेकोँ थिएँ।

रात छिप्पिन थालेको थियो। परपर हुच्चिल कराएको सुनिन्थ्यो। मेलाकै अर्को छेउमा भने रक्सी खाएका मान्छेहरू ङ्वार्र ङुर्र गरिरहेका थिए। अलि निकै पर दोहोरी खेलेको आवाज पनि सुनिन्थ्यो।

अलि पर बालिएको आगोको धमिलो प्रकाश कटेरोमा पनि घरिघरि देखिन्थ्यो। बाँकी शान्त थियो मेला। मेरा आँखा लोलाइ सकेका थिए। कसैले मलाई भन्दै गरेको सुनेँः ‘दाजी, आजको रात यतै कटाउनु पर्यो, अलि पर सर्नु न’।

अँध्यारो रातमा मैले उनीहरूलाई चिनिनँ। हेरिनँ। बरु अलिकति पर सरेर आफ्नो काम्लोले आफूलाई बेरेँ। रात सायद निकै गइसकेको हुँदो हो, मलाई कसैले खुट्टा बोकाइरहेको थियो। मेरो काम्लोभित्र कोही गुटुमुटु थियो। यसो हेरेँ। निष्पट्ट अँध्यारोमा केही देखिनँ।

यसो छामेँ। छाम्दाछाम्दै जब उसका स्तनमा मेरो हात पुग्यो, अनि मैले बुझेँ कि ऊ आइमाई हो। अब मलाई उसले बोकाएका खुट्टा पनि भारी भएको थिएन। मैले उसको पैताला छामें। पट्पटी फुटेका थिए। मैले सुस्तरी सुस्तरी उसलाई छाम्न थालेँ। चलाउन थाले। समाउन थालेँ। सुस्तरी, सुस्तरी। उसले कुनै बिरोध गरिन। मैले उसको गुन्यु माथि सारेँ सुस्तरी सुस्तरी। उसले कुनै बिरोध गरिन। सायद ऊ निदाएकी थिई। वा ऊ निदाएको बहानामा अलमस्त टाँसिएकी थिई। म उसमाथि चलमलाउन थालेँ।

म परतिर सुतेको साइँलो घर्ती मलाई निन्द्रमा नै भन्न थाल्योः ‘न चलमलाउनु न मालिक सा’ब, चिसो छिर्छ’

मैले एकछिन चाल मारेँ। साइँलो घर्ती घुर्न थाल्यो।

म फेरि ऊमाथि चलमलाउन थालेँ। उसले मलाई च्याप्प समाई। मैले बुझेँ, अब ऊ पग्लिसकेकी छे। हरियो बत्ती बलिसकेको छ। उसको मुख ह्वास्स गनाइरहेको थियो। वास्ता गरिनँ।

रोकिँदै, सुस्तरी, फेरि रोकिँदै उसमाथि बिजय प्राप्त गरेँ। र पूर्ण स्खलन भएँ। सायद ऊ त्यो चिसो रातमा पनि तात्तिएकी थिई। उसलाई न्यानो भएको थियो। म तात्तिएको थिएँ। मलाई न्यानो भएको थियो। ऊ अर्कोतर्फ फर्की। म अर्कोपट्टि फर्कें। हाम्रा ढाड जोडिएका थिए। अझै उसले मेरो काम्लो नै ओडेकी थिई। उसलाई अझै ओढाइदिएँ

०००००

बिहान मान्छेहरू उठ्दै थिए। म पनि उठेँ। ऊ अलिपर कम्मल ओडेर सुतेकै थिई। सायद उसकै मान्छे हुनुपर्छ, एकजना महिलाले उसलाई उठाउँदै भनिन्ः ‘उठ ए कान्छी, हेर यसले त बाबुको कम्मल पो ओढी छे। केही थाहा पाउने होइन’।

ऊ उठी। मेरो काम्लो मतिर सर्काई। काली रहिछे। ‘बिसे बाइसे होली’ मैले अडकल काटेँ। पच्चिसै पनि हुन बेर छैन। छिर्केमिर्के गुन्यु लगाएकी उसलाई मैले अघाउँदी हेरेँ। उसमा मान्छेले गरेको हेपाइस छर्लङग देखिन्थ्यो। लुगा दह्रा गतिला थिएनन्। पट्पटी फुटेका उसका खुट्टामा चप्पल पनि थिएनन्।

ती महिलाले उसलाई भनिन्ः ‘मुख धो, चिया खा’।

‘पानी’ उसले भनी।

ती महिलाले पानी हाली दिइन्। उसले मुख धोएजस्तो गरी। गुन्युको फेरले मुख पुछी।

ती महिलाले चियाको कप भुईँमा राखिदिइन् र भनिन्ः ‘ए कान्छी, ला चिया’

मैले त्यो देखेर ती महिलालाई सोधेँः ‘किन दिदी उनलाई चियाको कप भुईँमा दिएको?’

‘उसको पानी चल्दैन’ सहज जवाफ आयो।

०००००

हामी महादेवको दर्शन गर्न हिँड्न थाल्यौँ। मैले उससँग नजानिदो पाराले ढेस्सिन खोजेँ। मेरी आमाले हतार हतार भन्नु भयोः ‘पानी नचल्ने रहिछे, न छोइकन हिँड’
मेरी आमाले ऊतिर फर्किएर भन्नु भोः ‘सानो जात भएपछि अलि पर बस्नु पर्दैन?’

मैले उसलाई बितेको रात सम्झेर हेरें। ऊ पहेँला दाँत देखाएर हाँस्दै थिई। अँह ऊ पटक्कै राम्री थिइन। गरिवीले पिल्सिएकी थिई। सामाजिक पीडाले पोलिएकी थिई।

बैँसमै चाउरी पर्न थालेकी थिई। उसमा पनि इच्छा हुँदो हो। उमंग हुँदो हो। ऊ पनि मान्छे हो, केही त हुँदो हो। पक्का हुँदो हो। तर उसको कुरो कसले सुन्छ होला र? उसको उच्छवासको के मूल्य होला र?। म यस्तै यस्तै सोच्दै थिएँ। ऊ रातकी रानी भएकी थिई। ऊसँग म तृप्त भएको थिएँ।

मैले उसलाई फेरि हेरेँ। मलाई लागिरह्यो, उसलाई राम्रो लुगा लगाइदिए कस्ती हुन्थी कुन्नि, उसलाई यो संसार चिनाइदिन पाए कस्ती हुन्थी कुन्नि। फेरि हेरेँ। ऊ मलाई राम्री लागी। ऊ निकै राम्री लागी। र मेरा मनमा एउटा मौन विद्रोह जन्म्यो। ऊ किन सानो जात?।

आमाले भन्नु भयोः ‘के लाटाले पापा हेरेझैँ हेरेको हिँड छिटो’

साइँलो घर्ती भने आफ्नै तालमा भन्दै थियोः ‘मालिक सा’बको निद्रमा धेरै चलमलाउने बानी रहेछ’।

‘नकरा’ मैले अघि बढ्दै भनेँ।
०००००

बालाचतुर्दशीको अघिल्लो दिन थियो त्यो। बिहान धारामा नुहायौँ। ऊ पनि आफ्नी मालिक्नीसँग नुहाउँन पसी। मान्छे कुँडुलो लागेका थिए। उसले आफ्नो गुन्यूलाई छातिमा टन्टनी बेरेकी थिई।

नुहाइ सकेर हामी बसाहा थानको छेवैबाट हलेँसीको पुरै डाँडो परिक्रमा गर्न थाल्यौँ। हाम्रो समूह तितर बितर भयो। म जानी जानी बगालबाट छुट्टिएँ। परबाट ऊ आउँदै थिई। हिँडाइको गति धिमा गरेँ। ऊ आफ्नो समूहमै थिई। मान्छेको हुल सँगै म पनि उसको पछि लागेँ। ऊ उसका मान्छेका आँखा छलेर मनजिक आई। खितिति हाँसी र भनीः

‘हगी बाजे, भित्र चल्ने, बाहिर नचल्ने, कस्तो होला यो नियम?’

उफ, ऊ त हाँसिरहेकी छे। यो विभेद सहेर नै हाँसिरहेकी छे। अचम्म छ। वास्तवमा अचम्म छ। अमानवीय पनि छ। असामाजिक पनि छ। गैरकानुनी पनि छ। मान्छेले जानेका पनि छन्। बुझेका पनि छन्। भाषण पनि गर्छन्। तर किन ऊ पानी नचल्ने छ। के छ यसको तारतम्य?

उसकी मालिक्नीले कराइन्ः ‘कान्छी, ए कान्छी! कता गइस हौ, यताउता गरिस् भने हराइन्छ। चाँडै आइज’

उसले हतार हतार मलाई कोट्याईः ‘भन्नुहोस् न बाजे लुकेर भित्री पनि चल्ने, बाहिरी पनि चल्ने, हाकाहाकी किन नचल्ने ? मान्छेले थाहा पाएर किन नचल्ने?’

०००००

म सुनकोशी किनारै किनार हिँडिरहेकै छु। सुनकोशी बग्दैछ। सुनकोशीको छालमा एउटा ढुङ्गा फालेँ। पानी उफ्रियो। म सोचिरहेको छु। को होली त्यो काली केटी?, ऊ पीडामा पनि किन हाँस्छे?। हामी बाटामा पर्ने साप्सु खोलाको किनारमा बास बस्यौँ।

लहरै सुत्यौँ। रात छिप्पिँदै थियो। म उसैलाई सम्झिँदै थिएँ। निँद थिएन। ओल्लो र पल्लो कोल्टो फर्कँदै कति बेला निदाएँ कुन्नि मेलो पाइनँ। म निँदबाट अचानक बिउँझिएँ। पसिनै पसिना भएको रहेछु। सपनामा पनि ऊ मलाई भन्दै थिईः ‘बाजे, भन्नुस् न, काँचो किन चल्ने, पाकेको किन नचल्ने?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *