जनता र सेना मिलाएर लाने नीति र नेता

खगेन्द्रराज सिटौला
३ वैशाख २०८१ ८:२८

केही वर्ष अगाडि नेपाली सेनाले आफ्नो जंगी अड्डाको परिसर भित्र नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गर्‍यो। पृथ्वीनारायण शाहको सालिक उभ्याएर नेपाली सेनाले सालिकमार्फत एकैपल्ट तीन काम गर्‍यो तीन सन्देश छोड्याे। केहो त तीन काम र तीन सन्देश भनेको?

नेपाली सेनाले नेपालका राष्ट्रनिर्माताको सालिक ठड्यायाे, आधुनिक नेपाली सेनाका संस्थापकको सालिक ठड्यायो र तत्कालीन प्रमुख विश्व शक्ति बनेको अंग्रेज शक्तिलाई पराजित गर्ने साम्रज्यवाद विरोधी नेपाली सौर्यको सालिक खडा गर्‍यो। यी भए सालिकमार्फत सेनाले गरेका तीन काम।

त्यसरी नै सेनाले पृथ्वीनारायणको सालिक ठड्याएर सालिकमार्फत दिएको तीन सन्देश के हुन् त? नेपाल एकीकरण विचार र योगदानमा पृथ्वीनारायण आफैंमा नेपालीको साझा सम्मान र गौरव हो पृथ्वी नारायणको मान र अपमान नेपाल र नेपालीको मान र अपमान हो।

सालिकमार्फत सेनाले दिएको पहिलो सन्देश यो हो। पृथ्वीनारायणलाई भत्काउनु भनेको नेपाललाई भत्काउनु हो नेपाललाई बलियो बनाउन जगैबाट पृथ्वीनारायणलाई उठाउनु पर्दछ। सालिकमार्फत सेनाले दिएको दोस्रो सन्देश हो यो।

पृथ्वीनारायणलाई अघि सारेर मात्रै नेपाली राष्ट्रिय एकता, नेपाली राष्ट्रियता र सार्वभौमिकतालाई बलियो बनाउन सक्छ। यो हो पृथ्वीनारायणको सालिकमार्फत सेनाले दिएको तेस्रो सन्देश। सेनाले सालिक उठाएर पृथ्वीनारायणका सालिक ढालेर वा विदा काटेर उनको अपमान गर्ने काम ऐतिहासिक गल्ती भएको सन्देश सबैलाई दिएको छ।

सेना र जनता एक अर्काका विरोधमा गयो भने बुझे हुन्छ त्यो राष्ट्रको भविश्य रहेन। किनभने सेना र जनता एक अर्काको विरोधमा जानु भनेको राष्ट्र अराजक बाटोमा जानु हो अराजकताको परिणाम राष्ट्रको समाप्ति नै हो।

नेपाली सेनाले सरकार भन्दा अघि बढेर आफ्ना संस्थापक सौर्य र उर्जाको निरन्तर सञ्चारक एव नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको सम्मान गरेर दल तथा नेताहरुले गरेको ऐतिहासिक गल्तीलाई केही हदसम्म सच्याउने कार्य गरेर एउटा हदसम्म आफ्नो दाइत्व पूरा गर्‍यो। यो इतिहासलाई संझाउने र सम्मान गर्ने काम हो।

हामी पनि इतिहासलाई सिंहावलोकन गर्न पृथ्वीनारायण सम्म पुगौं र उनको सेना र जनता सम्बन्धीको कस्तो नीति र विचार थियो सामान्य जानकारी लिन कोशिस गरौं।

किनभने पृथ्वीनारायण आफै युद्धमा सहभागी भएका सिपाही पनि थिए र सिपाहीका नेता याने कमाण्डर पनि थिए, जनसाधरणसँग घुलमिल भएका जनताका नेता पनि थिए, साँचो अर्थमा सेना र जनताका साझा नेताराजा थिए। त्यसैले उनको जनता र सेना सम्बन्धी नीति सबैको लागि उपयोगी हुन्छ।

“राजाका सार भनेका सिपाही र रैतीहरु हुन्। राजा चतुर भया सिपाही र रैती हातहात गरि राष्नु र हुलकुल हुन पाउँदैन”। नेपाल अधिराज्यको एकीकरणमा जनताको सकृय सहभागिता,समर्थन र सेनाको कुशलतापूर्वक परिचालनमा सम्पन्न भएकोले त्यसको अनुभवको सार खिचेर राज्यसञ्चालनमा जनता र सेनाको एकता र सहकार्यको महत्वपूर्ण विचार अघि सारेको हुनुुपर्छ पृथ्वीनारायण शाहले।

सेनालाई मात्र महत्व दियो भने तानाशाहीको जन्म हुनसक्छ र सेनालाई उपेक्षा गरेर जनतालाई मात्रै महत्व दिइयो भने सुरक्षा र अनुशासन कमजोर भएर अराजकताको जन्म हुनसक्छ भन्ने ठहर गरेर नै पृथ्वीनारायणले सेना र जनता सम्बन्धीको सन्तुलित विचार अघि सारेको पाइन्छ।

सेना र जनताको सन्तुलन मिलाएर राज्य सन्चालन गर्ने कुशलता राज्यको नेतृत्वसँग हुनुपर्छ भन्ने मत र मान्यता पृथ्वीनारायणमा पाइन्छ। यो सुरक्षा र प्रजातन्त्रको सन्तुलित विचार पनि हो।

रैतीहरु अर्थात जनताहरु प्रजातन्त्रको प्रतीक हो भने सिपाही सुरक्षाको प्रतीक हो। सुरक्षा र स्वतन्त्रताको सुनिश्चित गरिएको प्रजातन्त्रले मात्रै सम्पन्न राष्ट्र दिनसक्छ भन्ने पृथ्वीविचार सबै प्रजातन्त्रिक विश्वलाई पृथ्वीनारायणको वैचारिक उपहार हो।

सेना र जनता एक अर्काका विपरित र विपक्षी होइनन्। दुबै राष्ट्र निर्माण, राष्ट्रिय सुरक्षाका सहकर्मी र र सहयात्री हुन् भन्ने मान्यता अघि सारेका छन् पृथ्वीनारायण शाहले पृथ्वीविचार मार्फत।

सेना र जनता एक अर्काका विरोधमा गयो भने बुझे हुन्छ त्यो राष्ट्रको भविश्य रहेन। किनभने सेना र जनता एक अर्काको विरोधमा जानु भनेको राष्ट्र अराजक बाटोमा जानु हो अराजकताको परिणाम राष्ट्रको समाप्ति नै हो।

वास्तवमा सेना भनेको जनता नै हो। जनताले विशेष कामको लागि आफू मध्येबाट छानेर साँध र धार लगाएर खडा गरेको आफ्नै सार हो। चल्तीको भनाई जनता बर्दीरहितका सिपाही र सिपाही बर्दी सहितका जनता पृथ्वीविचारको सार र धार हो। सेना आफैंमा जनताको विशिष्ट अभिव्यक्ति हो।

सेना जनताले आफ्नो र राष्ट्रको सुरक्षाको लागि आफूबाटै खडा गरिएको विशेष अनुशासित र लडाकु शक्ति मात्र हो। जसलाई विशेष जिम्मेवारी तोकिएको हुन्छ।

वास्तवमा जनताले जिम्मेवारी र कामको बाँडफाँड गरेको मात्र हो। त्यसैले यसले विशेष जिम्मेवारी कुशलतापूर्वक र इमान्दारी पूर्वक गरोस् भनेर जनताले आफ्नो गाँस काटेर यसलाई पालेका हुन्। त्यसैले जनता र सेनाको सम्बन्ध नङ र मासुको जस्तै बनाइरहनु पर्छ भन्ने मान्यताको नाम पृथ्वीविचार हो।

हरेक राष्ट्र चलाउने शासकहरुलाई सेना र जनताको कस्तो सम्बन्ध बनाइ राख्नु पर्दछ र यसलाई ठिक किसिमले मिलाएर कसरी लानु पर्छ र त्यसको लागि राज्यले कस्तो नीति लिनु पर्छ भन्ने पाठ्य पुस्तक र सिध्दान्त हो पृथ्वीविचार हो। यसमा नडुबी यसको सार र धार बुझ्न सकिँदैन।

राज्यमा जनताले सेनाको विरुद्धमा नारा जुलुस लगाउनु पर्ने स्थिति आउनु हुुँदैन र सेनाले जनताको विरुद्ध गोली चलाउनु पर्ने स्थिति आउनु हुँदैन। जनताको बोली र सेनाको गोली देशको विरुद्ध आइलाग्नेको विरुद्ध सँगै छुट्नु पर्दछ।

सेना र जनता त राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, राष्ट्रनिर्माण सीमा सुरक्षा, विकास निर्माण आदिमा हातेमालो गरेर अघि बढ्ने शक्ति हो। पृथ्वीविचारले यही भन्छ। नेपालको सन्दर्भमा सेना र जनतालाई समन्वय गरेर मिलाएर लान सक्ने पृथ्वीविचार भएकाृले तुलनात्मक रुपमा नेपाली जनता र नेपाली सेनाको सम्बन्ध राम्रो भइरहन सकेको हो इतिहासको यति लामो कालखण्डमा पनि।

पृथ्वीनारायणको सालिक उठाउने सेनाले आपूmलाई पृथ्वीविचारले लैस गराएर सधै देशभक्त, व्यवसायी र जनप्रिय सेना बनाउने बाटोमा हिडाउनु पर्दछ। नेता र जनतालाई पनि त्यही बाटोमा हिँडाउने परिस्थिति निर्माण गर्न भरमग्दुर कोशिस गर्नु पर्दछ।

पृथ्वीनारायणले स्थापित र विकसित गरेको गोर्खाली सौर्य बहादुरीको ब्राण्डको रुपमा अन्तराष्ट्रिय स्तरमा सम्मानित छ। त्यसरी नै नेपाली सेना शान्ति सेनाको रुपमा व्यवसायिक सेनाको रुपमा सम्मानित छ।

सेना दवलथ कमाउन लाग्यो भने सेना व्यवसायिक सेना भएर युद्धस्तरमा बहादुरी पूर्वक लड्न सक्तैन भन्ने पृथ्वीविचारले भन्दछ। यसको अर्थ हो सेनालाई भ्रष्ट हुन नदेउ। संस्थागत पनि र व्याक्तिगत पनि सेनालाई भ्रष्ट हुन नदेउ भन्छ पृथ्वीविचारले।

जनताले बढीभन्दा बढी सेनाबाट कसरी सेवा र सहयोग लिन सकिन्छ भन्नेबारे सोच्नुपर्दछ भने सेनाले कसरी जनताको मन जितेर जनताबाट सहयोग प्राप्त गर्न सकिन्छ भनेर सोच्नु पर्दछ।

र त्यही अनुकूलका योजना बनाउनु पर्दछ। सेवा र विकासका कामले पनि सेना र जनताको सम्बन्धलाई गहिरो र हार्दिक बनाउदँछ। सेना र जनताको राम्रो सम्बन्ध बनाइराख्न राज्यका नीति निर्माताहरु पृथ्वीविचारबाट निर्देशित भएमा सेना र जनताको बीचमा समस्या आउने छैनन्।

सुरक्षा निकायले जति बढी जनताको सेवा गरेर मन जितेर अघि बढ्छ त्यति नै बढी उसले जनताको सहयोग र सूचना प्राप्त गर्न सक्छ। जनताबाट जति बढी सुरक्षा निकायले सहयोग र सूचना प्राप्त गर्न सक्छ त्यति नै मात्रमा राज्यको सुरक्षा अवस्था बलियो भएर जान्छ।

यसो भएमा राज्यको सुरक्षा नीतिले सफलता हासिल गर्दछ। सेना प्रहरी लगायत सबै सुरक्षा निकायले जहिल्यै आफूलाई देश र जनताको सेवक ठान्नु पर्दछ भने जनताले सधैं आफूलाई सेना र प्रहरीको पूरक ठान्नु पर्दछ।

पृथ्वीविचार आफैंमा सेना र जनता मिलाएर लाने नीति र नेता हो। अत राज्य सञ्चालन गर्नेहरुले बुझ्न सकुन् जनता र सेना सम्बन्धी पृथ्वीविचार राष्ट्रिय सुरक्षाको बलियो आधार। नेपालको माटोमा खडा भएको सेना पृथ्वीविचारको बाटोमा हिड्नुपर्छ।

बाह्य रणनीतिक स्वार्थको मतियार र हतियार नेपाली सेना कहिल्यै बन्नु हुँदैन। यसो भएमा नेपाल राष्ट्र र नेपाली सेनाका संस्थापक पृथ्वीनारायणलाई धोका दिएको मानिनेछ। सबैलाई चेतना भया।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *